आकाश भैरवको जग्गा थकालीले सिध्याए, पर्वपूजा चलाउनै धौधौ

दामोदर न्यौपाने

काठमाडौँ — इन्द्रजात्राका अबसरमा वसन्तपुर क्षेत्रका थुप्रै मन्दिरमा मेला लाग्छ । त्यसमध्ये एक हो आकाश भैरव । इन्द्रचोकैमा छ आकाश भैरव मन्दिर । वसन्तपुर क्षेत्रको थुप्रै मन्दिरको पूजा व्यवस्था गुठी संस्थानले गर्छ ।

इन्द्रजात्राको अवसरमा प्रदर्शन गरिने आकास भैरव र श्वेत भैरव । तस्बिर : दामोदर/कान्तिपुर

राजगुठीअन्तर्गत चलेका गुठी संस्थान स्थापना भएपछि सरकारको स्वामित्वमा गए । गुठीका नामका जग्गाबाट हुने आम्दानीबाट पर्वपूजा चलाउन खर्च दिन्छ संस्थानले । आकाश भैरव भने निजी गुठीअन्तर्गत थियो ।

आकाश भैरब गुठीका नाइके शरदकुमार डंगोलका अनुसार जग्गाको सञ्चालन गुठीभित्रका थकालीले गर्थे । समय क्रममा थकालीले आफ्ना नाममा जग्गा पार्दै, बेच्दै गए । ‘अहिले गुठीका नाममा एक टुक्रा पनि जग्गा छैन,’ डंगोल भन्छन्, ‘सरकारले एउटा बलिका लागि दुई बोको दिन्छ । अरू खर्च केही दिँदैन । आफैं बेहोर्नुपर्छ ।’

६२ परिवार छन् गुठियार । पहिला ६० परिवार थिए । ६२ परिवारले पालैपालोसँग चलाउनुपर्छ जात्रा । हरेक वर्ष ८ परिवारले सञ्चालन गर्नुपर्छ । यो वर्ष आठ परिवारले चलाएपछि अर्को वर्ष अर्कै आठ परिवारले चलाउँछन् । पूजाको व्यवस्था गर्ने, भोज आयोजना गर्नेलगायत सबै काम त्यही आठ परिवारको काँधमा आउँछ ।

आठदेखि ९ दिनसम्म मनाइन्छ यो जात्रा । वसन्तपुरमा इन्द्रजात्राको यः सिं ठड्याएको भोलिपल्ट आकाश भैरवलाई मन्दिरबाट बाहिर निकालेर खटमा विराजमान गराउने चलन छ । खटमा राखेर हरेक दिन पूजा हुन्छ । दिनको एक पटक जाँड चढाउनुपर्छ । भैरवको मुखबाट बग्ने गरी जाँड चढाइएको हुन्छ ।

मुखबाट निस्केको जाँड भुईं हुँदै बगाउनुपर्छ । जाँडबाट जिउँदो माछा पनि बगाउनुपर्ने चलन छ । माथिल्लो टोलमा कुमारीको रथयात्रा गर्ने दिन पूर्णिमा तिथिमा चाहिँ ५ वटा जिउँदा माछा बगाउनुपर्छ । माछा बग्दै गएर जाँड जम्मा भएको ठाउँमा पुग्छ । जाँड जम्मा भएको ठाउँलाई पातालपुर भनिन्छ ।

इन्द्रजात्रा र आकाश भैरवबीच गहिरो सम्बन्ध भएको डंगोल बताउँछन् । डंगोलका अनुसार आजभोलि गरिने इन्द्रजात्राको प्रदर्शनीमध्ये भैरवको प्रदर्शनी मुख्य हो । नाचमा पनि भैरव नाच, लाखे नाच र सवः भक्कुको नाच प्रसिद्ध छ । कुमारीको रथ तान्ने बेलामा यी नाच दिउँसै देखाइन्छ । कुमारीको रथ तान्ने बेलाको नाचमध्ये हलचोक आकाश भैरवको नाच पनि प्रसिद्ध छ ।

हनुमानढोका नासलचोकमा भैरवलाई राँगा बलि दिने चलनसमेत थियो । अहिले यो चलन भने हराएको छ । राँगालाई रक्सी खुवाइन्थ्यो । रक्सी खाएपछि त्यो उन्मत्त हुन्थ्यो अनि त्यसलाई मैदानमा छाडिन्थ्यो । भैरवको मुखुन्डो लगाएका व्यक्ति हातमा खड्ग लिन्थे । इतिहासकार गौतमबज्र बज्राचार्यका अनुसार खड्गै बोकेर राँगासँग जुध्न जान्थे । यो खतरनाक प्रदर्शनी हेर्न मान्छेको घुइँचो लाग्थ्यो ।

इन्द्रचोकको आकाश भैरवलाई पञ्चमुखी महादेवको दक्षिणमुख मानिन्छ । आकाश भैरवका सम्बन्धमा अनेक आख्यान र मिथक छन् । डंगोलका अनुसार अहिलेको टाउको भएको भैरव महाभारत युद्ध हेर्न गएका थिए । कुनै बेलाका राजा बार्बरी थिए उनी । कौरव र पाण्डबीच भएको महाभारतमा बार्बरी देखेपछि कृष्णले तिमी कसको पक्ष भनेर सोधे ।

बार्बरीले म दुवैको पक्ष भनिदिए । त्यसपछि कृष्णले टाउको काटिदिए । काटिएको टाउको आकाश मार्ग हुँदै खेतमा आइपुग्यो । ‘खेतमा आएका भैरवले हाम्रा पुर्खालाई छाप्रो बनाएर राख, पूजाआजा गर, किसानको कल्याण हुन्छ भने,’ डंगोल भन्छन्, ‘यो मिथक हो । प्रमाण छैन । भैरवले भनेअनुसार पुर्खाले छाप्रो बनाएर राखे । पछिसम्मै छाप्रै थियो । अहिलेको मन्दिर पछि बनेको हो ।’

भैरवको मन्दिर तीनतले छ । यसको वास्तुकला घरको जस्तो छ । कलाकृतिले भरिपूर्ण छ मन्दिर । मूर्ति दोस्रो तलामा छ । मूर्ति चाँदीको छ । भैरवको डरलाग्दो मूर्तिमध्ये पर्छ यो । भैरवको ठूलो पेट, ठूलो नाक, गोलाकार र पहेंला आँखा, दारा निस्केको, सर्पको गहना लगाएको कालो वर्णका छन् आकाश भैरव । त्यसैगरी हात्तीको छाला ओडेको, धेरै हात भएको, लामा लामा नंग्रा भएको, छड्के आँखाले हेरेका छन् । विष्णु धर्मोत्तर ग्रन्थका अनुसार यो शिवको उग्र रूप हो ।

पार्वतीलाई तर्साउन यो रूपमा प्रकट भएको हो । आकाश भैरवलाई न्याय, व्यापार र व्यवसायका देवता मानिन्छ । भैरवको मन्दिरभित्र गणेश, कुमार, भद्रकाली र भीमसेनका मूर्ति छन् । चाँदी र काँसका यी मूर्ति आकर्षक छन् । मन्दिरका पुजारी भने बज्राचार्य छन् । शिवकै प्रतीक मानिने यहाँ शिवरात्रि, दसैंको नवरात्रि, फागुन, जेठ महिनाका पूर्णिमा, बालाचतुर्दशी र इन्द्रजात्रामा दर्शनार्थीको विशेष भिड लाग्छ ।

आकाश भैरवको सम्बन्ध श्वेत भैरवसँग पनि छ । आकाश भैरव गुठीकै गुठियार गएर इन्द्रजात्राभर यहाँ बाजा बजाउनुपर्छ । आकाश भैरवमा पनि जाँड बगाइन्छ । श्वेत भैरवमा पनि जाँड चढाइन्छ । जाँडको प्रसाद लिने तरिका भने फरक छ । आकाश भैरवमा चढाएको जाँड पातालपुरमा जान्छ । श्वेत भैरवमा चढाएको भने मान्छेको मुखमा पार्न भिड लाग्छ । एकादशी तिथिमा यहाँको जाँड मुखमा पार्न महिलाको ठूलो भिड लाग्छ । वर्षमा एक पटक मात्र खुल्छ यो भैरवको मन्दिर ।

देगुतलेजु मन्दिरको उत्तरतिर छ यो । यो आँखीझ्यालभित्र राखिएको छ । मूर्तिको पछाडि जाँड राख्ने माटाको ठूलो घ्याम्पो छ । घ्याम्पाबाट भैरवको मुखमा ठूलो टुटी जोडिएको छ । त्यही टुटीबाट जाँड बगाइन्छ । टुटीभन्दा तल आँ गरेर जाँड मुखमा पार्न ठेलमठेल हुने गर्छ । टुटी बाँसबाट बनाइएको हुन्छ ।

रोगव्याधी नलागोस्, कुनै विघ्नबाधा नपरोस् भनेर प्रसादका रूपमा जाँड ग्रहण गर्ने चलन छ । ‘इन्द्रजात्रामा वसन्तपुर क्षेत्रको आकाश भैरव र श्वेत भैरव अनि इचंकुनारायणको हलचोक आकाश भैरव प्रसिद्ध छन्,’ इन्द्रजात्रा व्यवस्थापन समितिका वरिष्ठ उपाध्याक्षसमेत रहेका डंगोल भन्छन् ।

श्वेत भैरव मूर्ति शाहकालीन राजा रणबहादुर शाहको पालामा बनेको हो । विसं १८५२ मा बनेको यो मूर्ति रणबहादुर शाहले इन्द्रजात्राको शोभा बढाउन बनाएको त्रिरत्न सौन्दर्यगाथामा उल्लेख छ । सुनको यो मूर्तिलाई सरभमुख पनि भन्ने गरिएको छ । सरभलाई बाघभन्दा पनि खतरानाक जनावरका रूपमा लिइन्छ ।

यो जनावर संसारबाट लोप भइसकेको छ । यो मूर्ति बनाउन त्यतिबेलै चार हजार रुपैयाँ खर्च लागेको इतिहासकार बज्राचार्य बताउँछन् । यो मूर्ति पनि शिवको संहारक रूप हो । यसका पनि ठूलाठूला भयानक आँखा, ठाडाठाडा कपाल, तीखा दारा छन् ।

हलचोक भैरव चलाउन पनि समस्या
इन्द्रजात्रामा भैरव नाच देखाउन इचुकु नारायणदेखि आएका छन् देवगण । उनीहरू किलागलमा रहेको द्वव छें मा बसेका छन् । जात्रामा सहभागी हुन १७ जनाको टोली आएको छ । कुमारी यात्राका क्रममा कुमारीको छेउमा बसेर नाच्नुपर्ने चलन छ । वसन्तपुरमा इन्द्र जात्राको यः सिं ठड्याएपछि हलचोकमा पूजा हुन्छ ।

पूजा गरेर त्यसको भोलिपल्ट बाकसमा भैरवको मुकुट राखेर किलागल आउने चलन छ । ३ फिट लामो साढे दुई फिट चौडाइको हुन्छ बाकस । त्यसमा २ फिटको भैरवको मुकुट राखिन्छ । इन्द्रजात्राको यःसिं ढालेपछि देवगण फर्कन्छन् ।

इन्द्रजात्राको अवसरमा तीन वटा देवता निकाल्ने चलन छ । १२ वर्षे मेलामा भने १२ वटा देवता निकाल्नुपर्छ । इन्द्रजात्राका लागि भैरव निकाल्ने कामका लागि विभिन्न परम्परागत कामदारको व्यवस्था हुन्छ । मुकुन्डो मर्मत गर्ने, बाजा मर्मत गर्ने, हातहतियार मर्मत गर्ने, पोसाक धुलाइ गर्ने, चित्रकारसमेत गरी १७ जनाको टोली हुन्छ ।

१७ जनाका लागि गुठी संस्थानले बेहोर्ने दैनिक खर्च भने नगन्य भएको गुठीका नाइके सागर पतुवारले गुनासो गरे । १७ जनाका लागि दैनिक खर्च ७ सय रुपैयाँ मात्र दिन्छ । दामासाहीमा हिसाब गर्दा एकजनाका भागमा ४१ रुपैयाँ मात्र पर्न आउँछ,’ पतुवार भन्छन्, ‘पर्व चलाउने खर्चको अवस्था बिजोगलाग्दो छ । हामी आफैं खर्च गरेर जात्रा परम्परा धान्दै आएका छौं ।’

गुठीको जग्गा संस्थानले लिएपछि पर्वपूजा चलाउन समस्या भएको पतुवार बताउँछन् । भैरवको १३ रोपनी जग्गा रैकर भयो । बाँकी ५ रोपनी जग्गामा पनि मोहीले मुद्दा हालेका छन् ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

कुमारी यात्रामा झुम्यो वसन्तपुर

जात्रामा संलग्न हुने सबैलाई कुमारी घर बोलाइन्छ र भोज खुवाइन्छ । भोज खर्च गुठीले व्यहोर्छ । भोज खाने, खुवाउने कार्यलाई  ‘वलँ भ्वय्’ भनिन्छ । यही दिन तलेजु भवानीका पुजारीको घरमा पनि भोज खाने चलन छ ।
दामोदर न्यौपाने

काठमाडौँ — यःसिं उठाएको दिनदेखि वसन्तपुरमा इन्द्रजात्राको रौनक सुरु भएको छ । इन्द्रजात्रा सुरु भएको चौथो दिन कुमारी रथयात्रा गरिने भएकाले यो दिन विशेष उत्सवमय हुन्छ ।

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा सुरु भएको चौथो दिन शुक्रबार कुमारी रथयात्राका सहभागी । वसन्तपुर क्षेत्रको तल्लो टोलमा कुमारीलाई रथयात्रा गराएपछि राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा छ ।     तस्बिर : इलिट जोशी/कान्तिपुर 

शुक्रबार वसन्तपुर क्षेत्रको तल्लो टोलमा कुमारी रथयात्रा गराएपछि राति राष्ट्रप्रमुखले कुमारी दर्शन गर्ने परम्परा छ । यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर गद्दीबैठकबाट कुमारी दर्शन गरिन् । कुमारीघरमा बस्ने कुमारी जुनसुकै दिन निस्कन नपाउने परम्परा छ । वर्षमा १३ पटक मात्र बाहिर निकालिन्छ । त्यसमध्ये इन्द्रजात्राको बेलामा विशेष महत्त्वको साथ बाहिर निकालिन्छ ।

भाद्र द्वादशी तिथिबाट आश्विन चौथी तिथिसम्म मनाइने इन्द्रजात्राको अवसरमा तीनपटक कुमारी बाहिर निकालिने परम्परा रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य बताउँछन् । राजकीय सम्मानका साथ भाद्र शुक्ल पक्षको चतुर्दशी, पूर्णिमा र आश्विन कृष्ण पक्षको चौथी तिथिमा रथयात्रा चलाइन्छ ।

टोलबासीले आफ्नो राष्ट्रिय जीवित देवी कुमारीको दर्शन गरून् भन्ने उद्देश्यले टोलटोलमा रथयात्रा गर्ने परम्परा रहेको हो । शुक्रबार वसन्तपुरबाट सुरु भएको रथयात्रा तल्लो टोल घुमाइयो । तल्लो टोलमा वसन्तपुर, मरु, चिकंमुगल, जैसीदेवल, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदैन वसन्तपुर आएर टुंगिन्छ ।

भोलिपल्ट माथिल्लो टोलमा रथयात्रा हुन्छ । माथिल्लो टोलको पनि परम्परादेखि चल्दै आएको रुट हुन्छ । वसन्तपुरबाट निकालेर प्याफल, यट्खा, नरदेवी, तेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै फेरि वसन्तपुरमै ल्याइन्छ ।

सप्ताहव्यापी कुमारी पूजामा के हुन्छ ?
सैनिक बाजा, प्रहरीको बाजा, पञ्चैबाजा बजाइन्छ । कुमारीको दायाँ–बायाँ जीवित गणेश र जीवित भैरव राखिन्छ । सप्ताहव्यापी रूपमा गरिने पूजाविधि फरकफरक हुन्छ । भाद्र शुक्ल एकादशीको दिन निमन्त्रणा पूजा हुन्छ । यो दिन बिहान कुमारी, गणेश र भैरवमा सप्ताहव्यापी कार्यक्रमकका लागि सरकारले निम्ता चढाउने परम्परा छ ।

पञ्चबुद्धको मूल पुरोहितले बौद्धधर्म विधिअनुसार कुमारीलाई सगुन, शृंगार सामान र पोसाक चढाउँछन् । जीवित देवता गणेश र भैरवलाई पनि यही दिन निमन्त्रणा चढाउने परम्परा छ । जीवित देवी कुमारी कुमारीघरमा राखिएको छ भने गणेश र भैरवचाहिँ आफ्नै घरमा बस्दै आएका छन् । कुमारीलाई पञ्चबुद्धको मूल पुरोहितले र गणेश, भैरवलाई अन्य पुराहितले निम्ता चढाउने परम्परा छ ।

कुमारीका लागि ६ गजको कपडा चढाइन्छ । गणेश र भैरवलाई चाहिँ ‘गुल मण्ड’ नाम गरेको विशेष पोसाक चढाउने परम्परा छ ।
भाद्र द्वादशी तिथिमा गर्ने अर्को पूजा विधि छ । यसलाई नेपालभाषामा मह्री ब्वयेगु भनिन्छ । यस दिन साँझ कुमारी, गणेश र भैरवमा सांस्कृति रोटी चढाउने कार्यक्रम हुन्छ । रोटी विशेष तरिकाले बनाइएको हुन्छ ।

कुमारी परम्पराबारे अध्ययन गरेकी दुर्गा शाक्यका अनुसार २६ प्रकारका रोटी चढाइन्छ । त्यो दिन कुमारीलाई दस पाउको अष्टमंगल ८ थान चढाइन्छ । गणेश र भैरवलाई भने अष्टमंगल चढाइँदैन । दस पाउको मठ कुमारीलाई २ थान र गणेश र भैरवलाई १/१ थान चढाइन्छ । चार पाउको मठ, दुई पाउको मठ, दस पाउको ऐंठा, तीन पाउको ऐंठा, डेढ पाउको ऐठा, दस पाउको जोपस्ता, तीन पाउको जोपस्ता, डेढ पाउको जोपस्ता कुमारी, भैरव र गणेशलाई नै चढाइन्छ ।

त्यसैगरी दस पाउको कल्ले मह्री, दुई पाउको कल्ले मह्री, ६ पाउको ‘ठू’ मह्री, ६ पाउको खाजा थान, दुई पाउको खाजा, ५ पाउको फिनी, ६ पाउको मिठाइ, दुई पाउको मिठाई, ६ पाउको गणेश भोग, एक धार्नी मकैको कछुवा (भाले), एक धार्नी मकैको कटहर (पोथी), पञ्च पकवान मह्री चढाउनुपर्छ । रिकापीमा मसला पनि चढाउने परम्परा छ । कुमारीलाई ३२ रिकापी र भैरव, गणेशलाई ५/५ रिकापी मसला चढाउने परम्परा छ ।

त्रयोदशीमा गरिने पूजालाई नेपाल भाषामा ‘वलँ भ्वय्’ भनिन्छ । कुमारीको रथयात्रामा संलग्न हुने सबैलाई कुमारी घर बोलाइन्छ यो पूजामा । भोज खुवाइन्छ । भोज खर्च गुठीले व्यहोर्छ । ‘भोज खाने, खुवाउने कार्यलाई नै वलँ भ्वय् भनिन्छ,’ शाक्य भन्छिन् । यही दिन तलेजु भवानीका पुजारीको घरमा पनि भोज खाने चलन छ । तलेजुका पुजारी नेवार समुदायभित्रका कर्मचार्य हुन् ।
चतुर्दशी तिथिमा गरिने पूजालाई ‘क्वः नेयाः’ भनिन्छ । यो दिन रथयात्रा गराउने दिन हो । तल्लो टोलमा रथ यात्रा गराउने भएकाले यो दिनलाई ‘क्वः नेयाः’ भनिएको हो । यो दिन कुमारीको आगम कोठामा गोप्य पूजा हुन्छ । पूजा बौद्ध परम्पराअनुसार गरिन्छ । पूजा पञ्चबुद्ध पुरोहितले गर्छन् ।

यो पूजा सकिएपछि जीवित देवता गणेश र भैरवलाई कुमारी घर ल्याइन्छ । कुमारी चोकबाट कुमारी श्रीखण्ड मूल श्रीविहार हुँदै रथ भएको ठाउँसम्म पैदल ल्याउने चलन छ । रथमा विराजमान भएपछि बलि पूजा हुन्छ । रथको अगाडि हुने ‘घःमाः’ मा भेडाको बलि दिने चलन छ । बलिपूजा भएपछि राष्ट्रप्रमुखले प्रसाद ग्रहण गर्छन् । भेटी चढाउँछन् । त्यसपछि रथयात्रा सुरु हुन्छ । राजसंस्था हुँदा राजाले यो विधि पूरा गर्थे । राजतन्त्रको अन्त्य भएपछि राष्ट्रपतिले राजाले गर्दै आएको यो परम्परलाई निरन्तरता दिएका छन् ।

कुमारीको रथ चलाउने पनि आफ्नै विधि छ । यसको अगुवाइ पञ्चबुद्धका पुरोहित, सेनाको बाजा, प्रहरीको बाजा र पञ्चैबाजाले गरिन्छ । कुमारीको रथ पछाडि शार्दुल जंगको पल्टन हुन्छ । बाजागाजासहित सहरको परिक्रमा हुन्छ । रथ वसन्तपुरमा आएपछि देवीको पूजा गरी समय्बजी चढाउने र प्रसाद खाने चलन छ । पूर्णिमा तिथिमा हुने कार्यक्रमलाई थःने याः भनिन्छ । यो दिन माथिल्लो टोलमा रथयात्रा गरिन्छ ।

तल्लो टोल र माथिल्लो टोलमा रथयात्रा सकिएपछि आश्विन प्रतिपदा तिथिमा गाईदान पूजा हुन्छ । कुमारीघर अगाडिको डबलीमा तीनवटा मउडापमा कर्माचार्य र ब्राम्हणबाट गाइदान गर्ने चलान छ । गाईदान सकिएपछि भोलिपल्ट गणचक्र पूजा हुन्छ । यो पूजामा कानफट्टा जोगीबाट कुमारीको खाली रथमा बलि पूजा गर्ने परम्परा छ ।

गणचक्र पूजा भएको भोलिपल्ट नानीचा यात्रा हुन्छ । सप्ताहव्यापी कार्यक्रमको समापनको दिनमा हुने रथयात्रा हो नानीचा । प्याफल, नरदेवी, किलागल, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुरस्थित गद्दी बैठकअगाडि रथ विर्सजन हुन्छ । रथयात्रा सकिएपछि कुमारी, भैरव र गणेशलाई लसकुस (स्वागत) गरिन्छ । अनि कुमारीलाई कुमारी घरमा रहेको आसनमा विराजमान गराइन्छ । भक्तजन कुमारीबाट टीका थाप्न आउँछन् । यही दिन यः सिं पनि ढालिन्छ । इन्द्रजात्रा विधिवत् रूपमा सम्पन्न हुन्छ ।

रथायात्रामा को–को सहभागी हुन्छन् ?
व्यवस्थापन समितिमा संयोजक शाक्यका अनुसार नेवार समुदायभित्रका विभिन्न २९ गुठी छन् इन्द्रजात्रा सञ्चालन गर्ने । ती सबै जातिको अलगअलग काम हुन्छन् । लाखेको व्यवस्थापन गर्ने बेग्लै गुठी छ । पुलुकिसि व्यवस्थापन अर्कै गुठीले गर्छ ।

कुमारीको रथ व्यवस्थापन गर्ने काममा पञ्चबुद्ध, राजाको खड्ग समाउने व्यक्ति, कुमारीको खड्ग समाउने व्यक्ति, सिकर्मी, नकर्मी, पुई ज्यापूहरू, नायः (महानाइके), म्हे नायः, लायकू साःमी, यंगल साःमी र चित्रकार सहभागी हुन्छन् । रथयात्राको साथमा विभिन्न भेषभूषामा पञ्चबुद्ध रहेका हुन्छन् । ५ जना बौद्ध पुरोहितको समूहलाई पञ्चबुद्ध भन्ने गरिन्छ ।

राजाको खड्ग लिएको व्यक्ति तीनवटै रथयात्रामा कुमारीको रथमा बस्छन् । रथ सुरु हुनु अघि र रथ विसर्जन भएपछि कुमारीलाई भन्दा अगाडि खड्गको पूजा गरिन्छ । कुमारीको खड्ग समाउने व्यक्तिचाहिँ दुई जना हुन्छन् । रथको काठसम्बन्धी सम्पूर्ण कामको जिम्मा सिकर्मीको हुन्छ । स्थापित थरका व्यक्तिले कुमारीको रथको गजुरमा पता चढाउने काम गर्छन् । नकर्मीले रथमा कुनै खराबी आएमा मर्मत गर्ने काम गर्छन् । पुई नाइकले कुमारीको पाउ भुइँमा नपरोस् भनेर सेतो कपडा ओछ्याउँदै जाने काम गर्छन् ।

ब्रम्हटोलका महर्जन ज्यापू पनि रथयात्राका महत्त्वपूर्ण वर्ग हुन् । यो जातिको काम कुमारी सानो खटमा विराजमान हुँदा बोक्ने हो । कुमारीको रथ ग्यारेजबाट बाहिर निकाल्ने, रथयात्रा सकेपछि भित्र थन्क्याउने, रथ तान्ने डोरी तयार गर्ने, वसन्तपुरमा कुमारीको इनार सफा गर्नेजस्ता काम गर्छन् । नायः (महानाइके) को काम रथ कहाँ, कसरी लैजाने भनेर निर्देशन दिने हो । उनीहरू रथको अगाडि बसेर ‘होस्ते, हैसे’ भनिराखेका हुन्छन् । नायः दुई जना हुन्छन् । म्हे नायः को काम कुमारीको अगाडि बत्ती बालेर जाने हो ।

लाय्कु साःमीको काम वसन्तपुरमा रथ रहुन्जेल ‘इला’ राख्ने हो । इला भनेको झल्लर मठको ठूलो कपडा हो । उनीहरूको अर्को काम रथको दायाँ–बायाँ खम्बा उठाउने पनि हो । इन्द्रजात्रा अवधिभर काठैकाठले बनाइएको पालामा बत्ती बाल्ने पनि हो । इन्द्रजात्रा अवधिभर यसलाई गद्दी बैठकको अगाडि विशेष रूपमा राखिएको हुन्छ । यंगल साःमीको कामचाहिँ रथलाई बलियो गरी बेत बाँसले कस्नु हो ।

यंगाल टोलका मानन्धर जातिले गर्छन् यो काम । तीनवटै रथलाई यसरी कस्नु उनीहरूको काम हो । चित्रकारको कामचाहिँ कुमारी, गणेश र भैरवको रथमा रहेको ‘घःमाः’ मा रहेका रथको पांग्रामा विभिन्न रंगको चित्र कोर्नु हो । ‘धेरै जाति सहभागी हुने रमाइलो पर्व हो इन्द्रजात्रा,’ संस्कृतिविद् यज्ञमानपति वज्राचार्य भन्छन्, ‘कालो, अँध्यारो र जंगली महिनाको रूपमा चिनेने गुँला महिना सकिनासाथ आउँछ इन्द्रजात्रा । यसले सबैमा खुसीको सञ्चार गराउँछ । वातावरण उमंग बनाइदिन्छ ।’

प्रकाशित : भाद्र २८, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्