कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उपत्यकाको कलासंस्कृतिले दंग विदेशी पाहुना

काठमाडौँ — ऐतिहासिक सम्पदा देखेर दंग थिए भुटान थिम्पु सिटिका मेयर किन्ले दोर्जी । भूकम्पले ध्वस्त पारेका सम्पदा स्थलहरू अधिकाशं निर्माण भइसकेको देख्दा उनले खुसी व्यक्त गरे । 

उनी भन्छन्, ‘पहिलोपटक नेपाल आउँदा यहाँका संरचना ध्वस्त थिए, अहिले केही पुनर्निर्माणका क्रममा र केही भइसकेका रहेछन् ।’ शताब्दीऔँ पुराना संरचना अझै जीवित देख्दा उनले नेपाल आधुनिकीकरणतर्फ गए पनि आफ्नो संस्कृति सम्पदालाई अझै जोगाइराख्न सफल भएको बताए । भुटान, नेपाल र भारत आधुनिकतातर्फ गए पनि आफ्ना संस्कृतिलाई जगेर्ना गरिराखेको बताउँछन् । तीन देशको कला तथा संस्कृतिमा समानता रहेको उनले सुनाए ।


आइतबार चार देशका मेयरसहित जनप्रतिनिधिले भक्तपुर दरबार स्क्वायर, तौमढी स्क्वायर, दतात्रय स्क्वायर, ललितपुर दरबार स्क्वायर, मगः हिटी, हिरण्य वर्ण महाविहार गोल्डेन टेम्पललगायत अन्य क्षेत्र अवलोकन गरेका थिए । उनीहरूले उपत्यकाका सांस्कृतिक सम्पदा अवलोकन गर्दै स्थानीयसँग भलाकुसारी पनि गरेका थिए ।


हिँडेर खुट्टा थाके पनि भारत नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंहका आँखा थाकेका थिएनन् । उनका आँखा अझै नयाँ–नयाँ वस्तुको खोजीमा थिए । उनका अनुसार नेपाल विश्वकै सुन्दर सहर हो ।


पहिलो पटक नेपाल आएका सिंह शताब्दीऔँ अघिदेखिका सांस्कृतिक सम्पदा देखेर मोहित थिए । नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको भन्दै आफ्नो देश र नगरका जनतालाई पनि यसबारे बताउने सिंहको भनाइ छ । इन्द्रजात्राको दिन सम्झँदै उनी भन्छन्, ‘हनुमानढोका परिसरमा भिड थियो, खुट्टा राख्ने ठाउँ थिएन तर काठमाडौं महानगरले राम्रो व्यवस्था गरेको थियो । हामीलाई कुनै समस्या भएन ।’ ललितपुर र भक्तपुरका मन्दिर धेरै पुराना भए पनि त्यसका कलाकृति निकै सुन्दर भएको उनले बताए ।


उपत्यका प्राचीन कलाकृतिको सहर भएको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बताए । गत वर्ष नै ललितपुर विश्वको ३५ औं कलानगरीभित्र परेको पनि जानकारी दिए । ललितपुरको मूर्त तथा अमूर्त ऐतिहासिक कलासंस्कृतिबारे पनि उनले जानकारी दिए । एक पटक घुमेर नसकिने भन्दै मेयर महर्जनले भ्रमण वर्ष २०२० का लागि पनि निम्तो दिए । पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको भन्दै आगामी १८ महिनामा पुनर्निर्माणको काम सकिने बताए ।


विश्वमा नभएको जात्रा इन्द्रजात्रा हो । त्यसैले इन्द्रजात्रा अवलोकन गर्नका लागि महानगरसँग भगिनी सम्बन्ध गाँसेका नगरपालिकालाई निमन्त्रणा गरेको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । शाक्यले ०७२ सालको भूकम्पपछि काठमाडौंमा शान्ति छैन भन्ने भ्रम फैलिएको थियो । त्यही भ्रम चिर्न विदेशी पाहुना निम्त्याएको बताए ।


विदेशी मेयरसहितको भ्रमणले भूकम्पपछि पनि काठमाडौंमा घुम्न सुरक्षित छ है भन्ने सन्देश प्रवाह गर्न सफल हुने महानगरले जनाएको छ । यो भ्रमणले पर्यटन वर्ष २०२० लाई पनि सहयोग पुग्ने बताइएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?