२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

थिमिको जिब्रो छेड्ने जात्रा रोकियो

भक्तपुर — थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो । २५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चोंडेका कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए ।

उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता भने दिन सकेनन् । पुनः ०५७ र ०६३ मा गरी दस वर्षमा तीनपटक जिब्रो छेडाएर उनी थिमिबासीलाई सांस्कृतिक सभ्यताको परिचय दिए ।

कृष्ण नानीचा श्रेष्ठपछि एघार वर्षदेखि रोकिएको थिमिको जिब्रो छेड्ने जात्रालाई ०७४ मा मध्यपुर थिमि–४, बालकुमारीका वीरेन्द्रभक्त गजु श्रेष्ठले फेरि सुरु गरे । अर्को साल उनका बुबाको निधन भयो । जिब्रो छेडाउन सकेनन् । गतवर्ष (२०७५) मा मध्यपुर थिमि–५ चोंडेका ४० वर्षीय बालकराम नानीले जिब्रो छेडाएर संस्कृति बचाए ।

यस वर्ष जिब्रो छेडाउन कोही तयार भएनन् । जिब्रो छेडाउने मान्छे नहुँदा इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ (शनिबार) जिब्रो छेडाएर सञ्चालन गर्ने प्रसिद्ध थिमिको जिब्रो छेड्ने जात्रा रोकियो । मध्यपुर थिमिका युवाहरूले दुई वर्षअघि ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) सञ्चालनका लागि व्यवस्थापन समितिसमेत गठन गरेको छ तर जिब्रो छेडाउन कोही तयार नभएपछि जात्रा रोकिएको ०७४ मा जिब्रो छेडाएका वीरेन्द्रभक्त गजू श्रेष्ठले बताए ।

‘जिब्रो छेडाउनु अत्यन्तै साहसिक कार्य हो, जुन आँट हामीले गर्‍यौं,’ उनले भने, ‘हाम्रो घरमा बुबाको निधनपछिको जुठो सकिएको छैन ।’ गतवर्ष जिब्रो छेडाएका बालकराम नानीचाको परिवार बिरामी परेकाले जिब्रो नछेडाएको उनले जानकारी दिए । भूत–प्रेत, पिसाच, ख्याक, कंकाललगायतलाई पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको क्षणलाई स्मरण गरी जिब्रो छेड्ने परम्परा बसेको हो ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?