झोरमा बालमैत्री पार्क

काठमाडौँ — सामाखुसीदेखि करिब ७ किलोमिटर टाढा पर्छ, झोर । टोखा नगरपालिकामा अवस्थित झोर पुगेपछि ग्रामीण क्षेत्रको अनुभव बटुल्न सकिन्छ । चिसो हावा, झुल्दै गरेका धानका खेतहरू, पानीका छाँगाहरूमा रमाउन हिउँदमा आन्तरिक पर्यटकको घुइँचो लाग्दछ ।

त्यहाँ प्राकृतिक झरना, बौडेश्वर मन्दिर, किम्बदन्तीमा महादेव लुकेका गुफा, भष्मासुरका पाइला अर्थात् छाप पनि रहेको स्थानीय बताउँछन् ।


बालमैत्री घोषणा गर्ने अवधारणअन्तर्गत टोखा नगरपालिकाले बालमैत्री पार्कलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । नगरपालिकाले सार्वजनिक जग्गालाई संरक्षण गर्ने योजनासमेत अघि सारेको छ ।


एक कार्यक्रममा सहभागी हुन पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्दिर र सार्वजनिक जग्गालाई संरक्षण गर्न खोजिएको र यो काम अत्यन्त सराहनीय रहेको बताए । प्राकृतिक झरनालाई संरक्षण गर्दै नगरपालिकाले बौडेश्वर महादेव मन्दिरको दीर्घकालीन परियोजना अघि सारेको छ ।


मन्दिर परिसरमा रहेको ६० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गर्दै करिब ३ हजार वर्ग किलोमिटर क्षेत्रफलमा पहिलो चरणमा बालमैत्री पार्क र शौचालय निर्माण कार्य सुरु गरेको छ । पार्कमा बालबालिकालाई लक्षित गरी पिङ, चिप्लेटीलगायत अन्य संरचना निर्माण गरिने छ ।


६० वर्ग किलोमिटर प्लिन्थ एरिया अर्थात् क्षेत्रफलमा एकतले पुरुष तथा महिला शौचालय निर्माण हुने नगरपालिकाका इन्जिनियर रूद्रप्रसाद आचार्यले बताए । ‘१० वर्षे योजनाअन्तर्गत विभिन्न पार्क निर्माण गरिने छ,’ उनले भने, ‘पहिलो चरणमा बालमैत्री पार्क र शौचालय निर्माण गरे पनि अन्य चरणमा झोलुगें पुल, युवायुवतीमैत्री पार्क, झरना बग्ने ढुंगालाई महादेवको स्वरूप दिइने छ ।’


संघीय सरकारको विशेष अनुदान र काठमाडौं महानगरको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाले पार्क तथा शौचालय निर्माणका लागि ३ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । पहिलो चरणको निर्माणका लागि २ करोड ७७ लाख (भ्याटबाहेक) बजेटमा शृखंला निर्माण सेवा कम्पनीलाई ठेक्का दिइएको आचार्यले बताए ।


‘चालू आर्थिक वर्षमा पार्क र शौचालय निर्माण कार्य सक्ने गरी काम सुरु गरिसकेको छ,’ उनले भने । सम्पूर्ण परियोजनाअन्तर्गत झरनामा रहेको ढुगांलाई महादेवको मूर्ति बनाउने, युवायुवतीमैत्री पार्क, पिकनिक स्पोट, चारै तिरका दृश्य हेर्नका लागि झोलुगें पुल, रक क्लाइम्बिङ निर्माण गरिने छ । जुन परियोजन सक्नका लागि करिब १० वर्ष लाग्ने छ ।


सम्पूर्ण परियोजनाका लागि करिब ३० करोड बजेट अनुमान गरिएको उनले बताए । झोरमा हाल अन्य संरचनाहरू नभए पनि प्राकृतिक झरनाले गर्दा वर्षायाममा आन्तरिक पर्यटकको घुइँचो लाग्ने स्थानीयको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?