कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पशुपति क्षेत्र ‘चक्रपथभित्र’

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले चक्रपथलाई विस्तार गर्दा पाशुपत क्षेत्रका सम्पदा नाश हुने चिन्ता व्यक्त गर्दै त्यसको विकल्प सोच्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पशुपति क्षेत्र ‘चक्रपथभित्र’

कोषका पदाधिकारीले बुधबार स्थलगत अध्ययनमा आएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिलाई पशुपति क्षेत्रभन्दा बाहिरबाट चक्रपथ विस्तारको विकल्पमा ध्यान दिन आग्रह गरेको हो ।


कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार जयबागेश्वरी मन्दिर, निर्वाणेश्वर मन्दिर र धन्दो चैत्य चक्रपथसँगै जोडिएका छन् । विस्तार गर्दा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका सम्पदा नास हुने जोखिम छ । जयबागेश्वरी लिच्छविकालीन मन्दिर हो भने अरू दुईवटा सम्पदा पनि सदियौं पुराना हुन् ।


ढकालले ती सम्पदा जोगाउनका लागि चक्रपथलाई कोटेश्वर–जडीबुटी–पेप्सीकोला–बौद्ध–चाबहिल भएर विस्तार गर्न र पशुपति क्षेत्रलाई चक्रपथभित्र पार्न उपसमितिमार्फत सरकारलाई सुझाएका छन् । ‘चक्रपथ विस्तार गर्दा पशुपति क्षेत्रका धेरै सम्पदा नाश हुन्छन्, सम्पदालाई अन्यत्र सार्न मिल्दैन,’ उनले भने, ‘त्यसैले विकल्प सुझाएको हुँ ।’


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्दासमेत पशुपति क्षेत्र अतिक्रमित नहोस् भन्नेतर्फ सजग हुनुपर्ने कोषका पदाधिकारीको सुझाव छ । ‘विमानस्थल विस्तार हुनुपर्छ तर पश्चिमतर्फ मृगस्थलीको संरक्षित स्मारक क्षेत्र पर्छ, पशुपति क्षेत्र जोगाउनका लागि विमानस्थल दक्षिण र पूर्वतर्फ मात्र विस्तार गरियोस् भन्ने हाम्रो माग हो,’ ढकालले भने । नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार क्रममा संरचना बनाउनुअघि परामर्श लिनुपर्ने माग कोषको छ ।


कोषले आफ्नो गुरुयोजना निर्माणबारे पनि जानकारी गराएको थियो । आगामी चैतसम्म गुरुयोजना तयार भइसक्ने ढकालले बताए । गुरुयोजना निर्माण समितिका संयोजक एवं कोषका पूर्वसदस्य सचिव चेतोनाथ गौतमले ५० वर्षसम्मलाई हेरेर गुरुयोजना बनिरहेको जानकारी दिएका थिए ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?