१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

६ दिने शिशुको शल्यक्रिया

काठमाडौँ — जन्मजात खानानली बन्द भएका ६ दिने शिशुको शल्यक्रिया भएको छ । आमाको दूध खान र थुकसमेत निल्न नसक्ने समस्या देखिएपछि बारा जिल्लाका सुस्मा र प्रकाश गुरुङका शिशुको शल्यक्रिया गरिएको हो । 

मेडिकल भाषामा यस्तो समस्यालाई ‘ट्रेकियोएसोफेजियल फिस्टुला’ भनिन्छ । धापासीस्थित ग्रान्डी अस्पतालमा शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठको टिमले शिशुको शल्यक्रिया गरी खानानली खुलाइदिएको हो । रक्सौलको डन्कन अस्पतालमा जन्मिएका उनलाई रिफर गरी ग्रान्डी पुर्‍याएको थियो ।


छाती चिरी शल्यक्रिया गरिएका शिशुलाई १० दिन अस्पतालमा राखेपछि अहिले उनको अवस्था सामान्य भएको र चिकित्सकको निगरानीमै राखिएको डा. श्रेष्ठले कान्तिपुरलाई बताए । उनका अनुसार शिशुलाई सास पनि राम्ररी फेर्न नसक्ने अवस्थामा ल्याइएको थियो । ‘थुक भित्र जान नसकेर मुखबाट फिँज निस्किरहन्थ्यो । नाकबाट दूध हाल्दा पनि शिशुले खान सकेन । जाँच गरिहेर्दा घाँटीमा नली बेरिएको देखियो ।’


विशेषज्ञका अनुसार नवजात शिशुको ठूला शल्यक्रिया गर्न जटिल हुन्छ । दक्ष बालशल्यचिकित्सकको टिम, अत्याधुनिक प्रविधि र बिरामी पक्षको विश्वासका कारण जटिल शल्यक्रिया गर्न सम्भव भएको डा. श्रेष्ठ बताउँछन् । उनले भने, ‘कलिला शिशुको अगंको आकार सानो र अति संवेदनशील हुन्छ । सानो छाती चिरेर शल्यक्रिया गर्दा निमोनिया हुने, श्वासप्रश्वासमा समस्या हुने र संक्रमण भएर मृत्यु हुने जोखिम पनि उत्तिकै हुन्छ ।’


चिकित्सा विज्ञानका अनुसार करिब ४ हजार जीवित नवजात शिशुमध्ये १ जनामा यस्तो समस्या देखिन्छ । दक्ष जनशक्ति र प्रविधि भएमा शल्यक्रिया गरी शिशुको ज्यान जोगाउन सकिन्छ । डा. श्रेष्ठका अनुसार यो समस्या शिशुको ज्यानै जाने खालको हो ।


भ्रूण विकासको क्रममा हुने यस्ता समस्या लिएर जन्मने शिशु आमाको दूध खान र थुक निल्नसमेत नसक्ने अवस्थामा हुन्छन् । थुक निल्न नसक्ने भएपछि उपचार नपाएमा थुक सर्केर फोक्सो पुग्छ र मृत्यु हुन सक्छ । उनका अनुसार यो रोगका धेरै कारणमध्ये ४ प्रतिशत वंशाणुगत हो ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?