गौहत्याको विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — गाई र कुकरलाई अकाल मृत्युवरण गर्न बाध्य पारिएको भन्दै जनावरप्रेमीले विरोध जनाएका छन् । केही दिन पहिले खोटाङमा कुकर र नेपालगन्जमा गौहत्या गरिएकामा सर्वत्र विरोध भएको हो । 

‘मानिस र जनावरको बाँच्ने अधिकार बराबर हो,’ पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘गाई र कुकुर हत्याबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछु ।’ उनका अनुसार उपत्यकामा गाई फर्म छन् । ‘ती फर्मबाट प्रत्येक वर्ष बुढा गाई सडकमा छोड्न ल्याउने गरेका छन्,’ उनले भनिन्, ‘सरकारले अनुगमन र फर्म खोल्नमा कडाइ गरी दोषीमाथि कारबाही नगर्दा समस्या झन् बिकराल बन्दै गइरहेको छ ।’

उनले छाडा चौपाया समस्या बढ्दै जानुका विभिन्न कारणमध्ये पशु ऐन नहुनु र नियमन गर्ने निकाय निष्क्रिय हुनु प्रमुख भएको बताइन् । ‘चाँडो ऐन ल्याउन सरकारसमक्ष माग गर्छु । पशु कल्याण निर्देशिका २०७३ ले भारी बोक्ने जनवारलाई मात्र समेटिएको छ,’ उनले भनिन्, ‘बोल्न नसक्नेको आवाज सबैले बोलिदिनुपर्छ । जनता नजुर्मुराई हत्तपत्त कानुन बन्ने छाँट छैन ।’

उनका अनुसार बन्ध्याकरण समस्याको उचित समाधान हो । ‘यसका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्छ,’ उनले भनिन्, ‘राँगाभैंसी निर्ममतापूर्वक ढुवानीसम्बन्धी सर्वोच्चले पशु ढुवानी मापदण्ड र पशुकल्याण निर्देशिकाबमोजिम गर्न दिएको निर्देशन पनि कार्यान्वय भएको छैन ।’

कुकुर हत्याका विषयलाई लिएर उनीद्वारा सञ्चालित संस्थाका पशुप्राविधिक सुमनकुमार श्रेष्ठलगायत जनवारप्रेमी मिलेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाललाई विपक्ष बनाएर खोटाङस्थित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । जनावरप्रेमीले सोही नगरपालिका–१ का खेलराज आचार्य र मेयरका घरमा बसोबास गर्ने ४४ वर्षीय श्रेष्ठ थरका एक व्यक्तिलाई पनि विपक्ष बनाएका छन् ।

उजुरीमा मेयर रिजालको निर्देशनमा आचार्य र श्रेष्ठले दिक्तेल सदरमुकामस्थित त्रिवेणीचौक, भानुचौकका घरपालुवा, बटुवा तथा सामुदायिक कुकुरको मुख र टाउकामा दाउराले हानेर, झुन्ड्याएर, विष खुवाएर र कुटपिट गरी अचेत अवस्थामा रहेकालाई जिउँदै खाडलमा पुरेर २ सय कुकुरको निर्मम तरिकाले मार्न लगाएको उल्लेख छ ।

गौहत्यासम्बन्धी छानबिन गर्न गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा समिति गठन भएको छ । गाईगोरु बोक्ने ५ वटा ट्रक र चालकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर थप छानबिन गरिरहेको संघको भनाइ छ ।

एनिमल नेपाल संघकी अध्यक्ष प्रमदा शाहले पनि छुट्टै ऐन नहुँदा जनवारको हकहितसम्बन्धी काम गर्न गाह्रो पर्ने गरेको सुनाइन् । ‘ऐन ल्याउन माग गर्दै आइरहेको १० वर्ष बितिसक्यो,’ उनले भनिन् । जनावरप्रेमी कपिल काफ्लेले माइतीघरमा खुलेआम रूपमा ऐन बनाउनेभन्दा पनि नेता तथा कर्मचारी पशुकल्याणसम्बन्धी विदेशमा हुने सेमिनार गोष्ठीमा भाग लिन व्यस्त हुने गरेको आरोप लगाए ।

‘विदेश भ्रमण गरी भत्ता खान मात्र सीमित छन् सबै जना,’ उनले भने, ‘विदेशमा सिकेका कुरा मुलुकमा लागू गर्न कोसिस गर्दैनन् ।’
अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्, ‘संविधानले गाईको पहिचान रक्षा गर्न व्यवस्था गरेको छ । पशुकल्यण निर्देशिका २०७३ मा छाडा चौपाया व्यवस्थापन स्थानीय सरकारले लिनुपर्ने कानुनी प्रावधान छ ।’

प्रकाशित : भाद्र २३, २०७६ ०८:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पुस्तक धमिराले खाँदै

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा स्थापित धेरै पुस्तकालय लामो समयदेखि बन्द अवस्थामा छन् । राणशासनको अन्त्यसँगै समाज परिवर्तनको चाहना राख्नेको सक्रियतामा पुस्तकालय स्थापना गरिएका थिए । अहिले त्यसले निरन्तरता पाउन सकेको छैन ।

००७ मा राणाशासनको अन्त्य भएपछि मकवानपुरमा सबैभन्दा पहिला तत्कालीन सदरमुकाम भीमफेदीमा ज्योति पुस्तकालय स्थापना गरिएको थियो ।

भीमफेदीका त्यतिबेला जागरुक युवा शंखरत्न तुलाधर, विष्णु प्रधान, धनलाल श्रेष्ठ र सुन्दरराज ठिकेको अगुवाइमा २००९ मा ज्योति पुस्तकालयको स्थापना गरेका थिए । पुस्तकालयमा रहेका करिब १० हजार पुस्तकमध्ये धेरै कुहिएको र धमिरा नष्ट भएपछि स्थानीय महेन्द्र उच्च माविमा रहेको पुस्कालयलाई सग्ला करिब २ हजार पुस्तक चार वर्षअघि दिएको थियो ।

ज्योति पुस्तकालयको आफ्नै भवन छ तर पुस्तकालय सञ्चालन गर्न समस्या परेकाले पढ्न हुने राम्रा पुस्तक उच्च माविलाई दिएको स्थानीयले बताए । ‘उक्त पुस्तकालयलाई पुनः सञ्चालन गर्ने सोचमा छौं,’ भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने ।

यसैगरी, थाहा नगरपालिकास्थित पालुङमा समाजसेवी तथा चिन्तक स्व. रूपचन्द्र विष्ट (थाहा) ले ०२२ मा नवजीवन ज्योति पुस्तकालय स्थापना गरेका थिए । उक्त पुस्तकालयमा ऐतिहासिक, दर्शनशास्त्र, समाज शास्त्रलगायत ५ हजारभन्दा बढी पुस्तक रहेका थिए । ‘०३५ सम्ममा उक्त पुस्तकालयको सदस्य बनेर पुस्तक पढ्नेको संख्या झन्डै ५ सयभन्दा बढी थियो,’ तत्कालीन पालुङ गाविसका पूर्वअध्यक्ष श्यामभक्त श्रेष्ठले भने, ‘करिब ०४० पछि यो पुस्तकालय पनि बन्दभयो र पुस्तकहरू पनि सबै धमिराका आहारा बनिसकेका छन् ।’

०२५ मा विष्टकै सक्रियतामा थाहा नगरपालिका शिखरकोट बजारमा स्थापना गरेको नवजागृति पुस्तकालय स्थानीय युवाहरूले पुनः सञ्चालनमा ल्याएका छन् । उक्त पुस्तकालय एक दशक बन्द भएर युवाहरूले तीन वर्षदेखि सञ्चालनमा ल्याएका हुन् । दर्शनका पुस्तक पढ्न शिखरकोटको पुस्तकालयमा जानु भन्ने यहाँ प्रचलन थियो ।

थाहा नगरको ओखर बजारमा ०४८ मा स्थापना गरिएको सूर्योदय पुस्तकालय विगत ६ वर्षदेखि बन्द छ । थाहा नगरपालिका—६ बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक अध्ययन केन्द्र सहकारीले सञ्चालन गरेकाले लिरिङतिरिङ ढंगले चलिरहेको छ तर
पढ्न आउनेको संख्या भने न्यून छ ।

कैलाश गापा र साबिकको नामटार गाविसमा ०३४ सालमा रामचन्द्र फुर्सदीलगायत स्थानीय युवाले कालिका पुस्तकालय स्थापना गरेका थिए । आफ्नै भवनमा स्थापना गरिएको पुस्तकालय राम्रैसँग सञ्चालन भएको थियो । यसैगरी, हेटौंडा उपमहानगरपालिकाले २४ वर्षअघि हेटौंडा उपमहानगरपालिका ५ सानोपोखरामा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरेको थियो । उक्त पुस्तकालय ०५९ देखि साहित्य संगम मकवानपुरले सञ्चालन गर्दै आएको छ । संगमले नियमति रूपमा पुस्तकालय सञ्चालन गर्दै आएको छ ।

‘पुस्तकालयमा करिब ५ हजार पुस्तक छन्,’ साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष आरसी रिजालले भने, ‘पुस्तकालय नियमित ढंगले सञ्चालन गरिरहेका छौं ।’ नगरपालिकाले पुस्तकालय सञ्चालनका लागि वार्षिक रूपमा अनुदान दिने गरेको छ । पुस्तकालयमा अहिले दैनिक १५–२० जना मात्र अध्ययन गर्न आउने गर्छन् । विगत दैनिक ५० जनाभन्दा बढी आउन गर्थेर् । आवश्यक पुस्तक पुस्तकालयमा थप्ने काम पनि गरिरहेको छ ।

पुस्तकालयमा अन्वेषणमूलक पुस्तक र पत्रिका पढ्ने पाठकहरू आउने गरेका छन् । हेटौंडा ४ स्थित रोशनी पुस्तकालय लिरिङतिरिङ ढंगले चलिरहेको छ भने हेटौंडा ६ चौघडामा रहेको जीवनज्योति पुस्तकालयले निरन्तरता पाउन सकेको छैन । हटिया, हर्नामाडी, नवलपुर, फापरबारीमा स्थापना गरिएका पुस्तकालयको हालत जीवनज्योतिको जस्तै छ ।

समाजमा अहिले सामाजिक कार्यकर्ता अभावका कारण पुस्तकालय स्थापना र सञ्चालन गर्नेलगायत सामाजिक कामको खडेरी परेको छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT