कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नख्खु खोलाको बहाव फर्काइँदै

प्रशान्त माली

ललितपुर — नख्खु खोलाको बहावलाई ३८ वर्षअघिकै ठाउँमा फर्काइने भएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीको पुरानै बहाव कायम गर्ने गरी कार्य थालिसकेको छ ।

नख्खु खोलाको बहाव फर्काइँदै

यसका लागि तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निर्णयअनुसार ०७० माघसम्ममा नख्खु खोलाको अतिक्रमित क्षेत्र खाली गर्न परिपत्र गरेको देखिन्छ । त्यो परिपत्रअनुसारको निर्णयलाई समितिले अहिले कार्यान्वयनमा ल्याएको हो ।

निर्णयअनुसार कुसुन्तीको हकमा नदीको बहाव क्षेत्र ०२१ को नापीअनुसार कायम गर्न गर्ने उल्लेख छ । त्यहीअनुरूप समितिले पहिलो चरणमा वाग्मती दोभानदेखि तीन किलोमिटर दक्षिण कान्तिपुर कोलोनीसम्म काम सुरु गर्ने जनाएको छ । यसका लागि करिब ९१ करोड रुपैयाँको ठेक्का दिइसकिएको छ ।


०३८ मा आएको ठूलो बाढीले खोलाको प्राकृतिक बहार क्षेत्रलाई बिगार्नुका साथै धेरै जनधनको क्षति गरेको थियो । त्यसयता खोलाको पुरानै बहाव फर्काउन सकिएको छैन । ललितपुर महानगरपालिका–१३ कुसुन्तीका ३८ वर्षीय नवीन विष्ट जन्मेको सालमा बाढी आएको थियो । कुसुन्तीमा ०२१ को नापीनक्साअनुसार खोला कित्ता नम्बर १०५ मा पर्छ । उक्त कित्तानजिकै ७६ नम्बर कित्ताको १ रोपनी ७ आना जग्गा उनकै हो ।


नख्खु खोलाको बाढी उनको जग्गा बीचबाट पसेर बगरमा परिणत भएको थियो । समितिले गरेको पछिल्लो निर्णयबाट उनी आशावादी बनेका छन् । उनले खोला फर्काउन थालेपछि जग्गामा टहरा बनाएर भाडामा बस्न केहीले सम्पर्कसमेत गरिसकेको बताए ।

०२१ को नापीअनुसार खोला कायम गरेमा करिडोर निर्माण गर्ने क्रममा भने उनको कित्ता नम्बर १०८, ११४, ११६ को २ रोपनी जग्गा पर्छ । यसप्रति भने चिन्तित छन् । कुसुन्ती क्षेत्रमा चलनचल्तीको मूल्यअनुसार आनाको २५ देखि ५० लाख रुपैयाँसम्म जग्गाको भाउ छ ।


०६५ को मन्त्रिपरिषद्को निर्णयअनुसार नख्खुको बहाव क्षेत्र १३ मिटर र क्षेत्राधिकार किनाराबाट दायाँबायाँ १२/१२ मिटर तोकेको छ । कुसुन्तीका ४६ वर्षीय रामराज थापा र दिलबहादुर लवतीको पनि ०३८ को बाढीले ३/३ रोपनी जग्गा बगरमा परिणत भएको थियो । लावती भन्छन्, ‘२०२१ सालको नापी अनुसार खोलाको बहाव क्षेत्र कायम गर्ने गाह्रो विषय हो । काम विवादरहित र न्यायोचित ढंगबाट हुनुपर्छ ।’


अहिलेको नख्खु करिडोरको के हुन्छ ?

नख्खु पुल– टीकाभैरव १६ किमि हालको खोलाको बहाव क्षेत्रको एकतर्फी कच्ची सडक छ । ०६७ मा तत्कालीन जिल्ला विकास समिति ललितपुरले एक करोड ६० लाख र ललितपुर उपमहानगरपालिकाको १० लाख रुपैयाँमा ट्र्याक खोलेको थियो । उक्त ट्र्याक खोल्ने योजनामा छुट्ट्याइएको बजेटको फरुर्छौट हालसम्म पनि भएको छैन ।


त्यतिबेला व्यक्तिको नाममा रहेको जग्गामा ट्र्याक खोलिएको थियो । त्यसैलाई आधार मानेर धेरैले नक्सापास र जग्गाको किनबेचसमेत गरेका थिए । त्यो क्रम अहिले पनि जारी छ । अब धेरैको चासोको विषय भनेको खोलाको बहाव पुरानै मार्गमा फर्काएपछि पहिलाका सडक रहन्छ/रहँदैन भन्ने रहेको छ ।


ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले यी विषयलाई वाग्मती सभ्यता एकीकृत विकास समितिले गम्भीर रूपमा लिने विश्वास आफ्नो रहेको प्रतिक्रिया दिए । ‘त्यति बेला गुन्डा प्रयोग गरेर जबरजस्ती व्यक्तिको जग्गामा बाटो खोलिएको थियो,’ उनले भने, ‘हालको खोला फर्काएपछि जग्गामा परिणत हुन्छ । अनि खोलासँगैको बाटो पनि व्यक्तिले भोगचलन गर्न आए के हुन्छ ? ’एकीकृत वाग्मती समितिका सूचना अधिकारी प्रभात श्रेष्ठले कतिपयको हालको बाटो २०२१ को नापीनक्साअनुसार बनाउन लागेको करिडोरमै पर्ने बताए ।


‘यसबारे अहिलेसम्म कसैले उजुरी दिएको छैन,’ उनले भने, ‘करिडोर निर्माणले कोही सुकुम्बासी हुने स्थिति बनेमा क्षतिपूर्ति दिलाउन बोर्ड बैठकमा प्रस्ताव लान सकिन्छ ।’ उनले सबै काम वडाध्यक्ष र नगरपालिकासँग समन्वय गरेर अगाडि बढेको बताए । ‘यसमा विवाद गरिराख्नु आवश्यक छैन,’ उनले भने ।

प्रकाशित : भाद्र २२, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?