बिरामीको मृत्युपछि नागरिक अस्पतालमा तनाव

(भक्तपुर) — बिरामीको मृत्यु भएपछि मध्यपुरथिमि–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल तनावग्रस्त छ । बिहीबार भर्ना भएर शुक्रबार मृर्गौलाको पत्थरी शल्यक्रिया गरेका सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको मृत्युपछि अस्पताल तनावग्रस्त भएको हो । मृर्गौला पत्थरीको शल्यक्रिया गरेको बिरामीलाई नर्सहरुले लापरबाहीले मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् ।

नाराबाजी, घेराऊ गर्ने क्रममा पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि शनिबार बेलुका ७ बजे पीडितपक्ष र प्रहरी झडप भएको थियो । अस्पतालभित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीको भनाइ छ ।


शुक्रबार सफल शल्यक्रिया भएर स्वास्थ्य अवस्था सुधार भइसकेकोमा नर्सहरुको लापरबाहीले बाबुको ज्यान गएको मृतकका छोरा सागर कोइरालाको आरोप छ । नर्समाथि छानबिन गरी कारबाही गर्नुपर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुको छ । माग पूरा नभएसम्म बाबुको शव नउठाउने कोइरालाले बताए ।

मृतककी बुहारी सावित्री कोइरालाले दुईवटा छोरा, बुहारी आईसीयू कक्ष बाहिर कुरेर बसे पनि नर्सले अप्ठ्यारो पर्दा खबर नगरी एक्कासी लडेर घाइते भएको खबर गर्न आएको बताए । मृर्गौला पत्थरीको शल्यक्रिया गरेका कोइराला शनिबार बिहान शौचालय जाने क्रममा एक्कासी ढलेर बेहोस भएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


अस्पतालका मेडिकल डाइरेक्टर डा.राकेश बर्माले अस्पताल र नर्सको कुनै कमजोरी नभएको दाबी गर्दै शौचालय गएका बिरामीलाई एक्कासी हृदयघात भएकाले ज्यान गएको बताए ।


अस्पताल र मृतक पक्षबीच शनिबार साँझ बसेको वार्ता असफल भएको र पुनः वार्ताको प्रयास भइरहेको महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी शान्तिराज कोइरालाले बताए ।


प्रकाशित : भाद्र २१, २०७६ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?