कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अदक्ष जनशक्तिबाट औषधि बिक्री

औषधि व्यवस्था विभागमा करिब २२ हजार फार्मेसी दर्ता छन् । फार्मेसी परिषद्मा करिब १२ हजार फर्मासिस्ट दर्ता छन् । हाल फार्मेसी ३० हजार पुगेको र २० प्रतिशत फर्मासिस्ट बिदेसिएको अनुमान छ ।
फातिमा बानु

काठमाडौँ — ‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विश्व मान्यता भए पनि नेपालको हकमा यो लागू छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरूका आफन्त औषधि बेचिरहेका भेटिन्छन् । यसको प्रमुख कारण हो– फर्मासिस्ट जनशक्ति उत्पादनमा सरकारको उदासिनता ।

अदक्ष जनशक्तिबाट औषधि बिक्री

औषधि पसल र बिक्रेताको संख्या हेर्दा देशमा एक फार्मेसीमा बस्न एउटै पनि फर्मासिस्ट पुगेको देखिँदैन । एक फार्मेसीका लागि एक फर्मासिस्ट नहुँदा अदक्ष जनशक्तिबाट औषधि बिक्री भइरहेको छ ।


औषधि व्यवस्था विभागमा करिब २२ हजार फार्मेसी दर्ता छन् । फार्मेसी परिषद्मा करिब १२ हजार फर्मासिस्ट दर्ता छन् । यो फर्मासिस्ट र फार्मेसी सहायक दुवैको संख्या हो । हिसाब गर्दा एक फार्मेसीमा एउटा फार्मासिस्ट पनि पुग्दैनन् । जति बेला नेपालमा फर्मासिस्टले नै औषधि बेच्नुपर्ने ऐन थिएन त्यतिखेर ३ महिने तालिम पाएका जनशक्तिले औषधि बेच्ने अभ्यास थियो ।


ऐन नियम संशोधन नहुँदा अझै पनि ती जनशक्तिले औषधि बेच्ने अभ्यास रोकिएको भने छैन । १८ वर्षअघि फार्मेसी काउन्सिलको स्थापना भएपछि औषधि पसलमा फर्मासिस्ट नै हुनुपर्ने नियम लागू भए पनि यसले पूर्ण रूप लिन नसकेको काउन्सिलका अध्यक्ष केशवध्वज जोशीले बताए ।


‘२२ हजार फार्मेसी त पुरानो तथ्यांक हो । देशमा फार्मेसीको संख्या ३० हजार पुगेको हाम्रो अनुमान छ,’ उनले भने, ‘फार्मेसी बढेसँगै औषधि बेच्ने दक्ष जनशक्ति भने उत्पादन हुन सकेका छैनन् ।’ दर्ता भएका २० प्रतिशत फर्मासिस्ट बिदेसिएकाले औषधिजस्तो संवेदनशील वस्तुको बिक्री अदक्ष व्यक्तिबाट हुने जोखिम अझै बढेको उनले बताए ।


संघीय संरचनामा अस्पतालको विस्तार गर्ने योजना फार्मेसी जनशक्ति उत्पादनबिना सम्भव नहुने उनको भनाइ छ । जनशक्ति नपुग भएकै कारण अझै पनि कतिपय सरकारी अस्पतालमा तालिम लिएका व्यक्ति (सीएमए) फार्मेसी इन्चार्ज राखिएको भेटिन्छ । जब कि फार्मेसी निर्देशिका –२०७२ अनुसार फार्मेसी इन्चार्जमा फर्मासिस्ट नै राख्नुपर्ने उल्लेख छ ।


औषधि व्यवस्था विभागले फार्मेसी अनुगमन गर्दा फर्मासिस्टले औषधि नबेचेको भेटिन्छ । विभागमा निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीका अनुसार ‘खाना खान गएको, औषधि किन्न गएको’ बहाना बनाएर उनीहरूले अदक्ष जनशक्तिलाई औषधि बेच्ने काम लगाइरहेका छन् । उनी भन्छन्, ‘बिरामीले गलत औषधि पाउने । सही औषधि पाए गलत परामर्श पाउने भइरहेको छ ।’ फर्मासिस्टबिनै चलेका फार्मेसीलाई विभागले चेतावनी दिनेदेखि निलम्बन गर्ने र दर्ता खारेज गर्ने गरेको छ ।


फर्मासिस्टले औषधि बेच्ने मात्रै नभएर औषधिबारे बिरामीलाई परामर्श दिनुपर्छ । औषधिको प्रभाव र दुष्प्रभावबारे बताइदिनुपर्छ । यस्ता जनशक्ति औषधि उत्पादन र बिक्रीवितरणबारे पूर्ण रूपमा जानकार हुनुपर्छ । फार्मेसी नपढेका व्यक्तिबाट औषधि बिक्रीवितरण गर्दा यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै जोशी भन्छन्, ‘पछिल्लो समय एन्टिबायोटिक रेसिस्टेन्टले डरलाग्दो रूप लिनुको प्रमुख कारण पनि यही हो । अदक्ष जनशक्तिले औषधि बेच्ने अभ्यास नगरेसम्म यस्ता समस्या समाधान हुँदैनन् ।’


औषधि व्यवसाय गुणस्तरीय बनाउन देशमा ५० हजार फर्मासिस्ट आवश्यक रहेको उनले बताए । काउन्सिलमा दर्ता भएर ५ दर्जन फार्मेसी शिक्षण संस्थाले अहिले वार्षिक ३ हजारको हाराहारीमा फर्मासिस्ट र फार्मेसी सहायक जनशक्ति उत्पादन गरिरहेका छन् ।

फार्मेसीमा फर्मासिस्ट र फार्मेसी सहायक दुवै हुनपर्ने जोशी बताउँछन् ।


भाडामा फार्मेसी लाइसेन्स

पछिल्लो समय भाडामा लाइसेन्स लिएर फार्मेसी चलाउने अभ्याससमेत बढेको छ । काउनिसलमा भर्ना भएका फर्मासिस्टले फार्मेसी खोल्न आर्थिक लगानी गरिदिने सम्झौतामा यस्तो गैरकानुनी अभ्यास गरिरहेको काउन्सिल अध्यक्ष जोशी बताउँछन् । उनी भन्छन्, ‘यस्ता अभ्यास खुला रूपमा चलेतापनि उजुरीबिना हामीले कारबाही अघि बढाउन मिल्दैन । उजुरी परेका अवस्थामा हामीले फार्मेसी निलम्बन गर्नेदेखि बन्द गरिदिने कारबाही सिफारिस गरेका छौं ।’


यस्तो अभ्यास न्यूनीकरण गर्नका लागि काउन्सिलले अब फर्मासिस्टको लोगो र परिचयपत्रबिना औषधि बेच्ने र औषधिसम्बन्धी गतिविधि सञ्चालन गर्न नपाइने बाध्यकारी नियम बनाउन लागेको छ ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?