कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वाग्मतीमा जलयात्रा

सीमा तामाङ

(ललितपुर) — कुपन्डोलस्थित वाग्मती पुलमुनिबाट कीर्तिपुरको सुन्दरीघाटसम्म शनिबार जलयात्रा गरिएको छ । वाग्मतीमा पनि जलयात्रा गर्न सकिन्छ भनेर देखाउनका लागि जलयात्रा आयोजना गरिएको हो । वाग्मती सभ्यता महोत्सवको रूपमा आयोजना भएको यो जलयात्रा ११ औँ पटक हो । 

वाग्मतीमा जलयात्रा

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जलयात्राको सुरुआत गरेका हुन् । उनले अन्य खोलामा जलयात्रा गरे पनि वाग्मतीमा पहिलो पटक भएको बताए । ‘वाग्मतीलाई सफा बनाएर र्‍याफ्टिङ व्यवस्था गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने, ‘तत्काल यो सम्भव छैन, तर गुरुयोजना बनाएर काम गर्न सकिन्छ ।’ जलयात्रा अर्थात् डुंगाबाट ओर्लेपछि मेयर महर्जन थकित देखिए । ‘वाग्मतीमा पनि डुंगा चढियो, रमाइलो भयो’ उनले भने, ‘अलिअलि थकाइ पनि लाग्यो ।’


वाग्मती सफाइ अभियानमा सहभागी मेयर महर्जनले वाग्मती सफा बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘वाग्मती संरक्षणसँग मान्छेको जीवन जोडिएको छ,’ उनले भने, ‘वाग्मती प्राचीन सभ्यता भएकाले यसको संरक्षणमा जोड दिनुपर्छ ।’ जलयात्रामा सहभागी हुँदा उनलाई बाल्यकालमा देखेको वाग्मतीको सम्झना आइरह्यो । उनी भन्छन्, ‘अव्यवस्थित सहरीकरणले वाग्मती दुर्गन्धित भएको हो ।


वाग्मतीलाई राम्रो र सफा बनाउन संकल्पसहित सहकार्य गरे अघि बढ्नुपर्छ ।’ वाग्मती सफाइ अभियानका अभियन्ता किशोरसिंह शाहीले जलयात्रा सञ्चालन गर्न वाग्मतीलाई सफा बनाउनैपर्ने बताए । त्यस्तै ६ वर्षदेखि वाग्मती सरसफाइ अभियानमा सक्रिय प्रिया लामिछाने भनिन्, ‘सधैं वर्षको एकचोटि जलयात्रा हुन्छ । उपत्यकावासी जलयात्रा अर्थात् र्‍याफ्टिङका लागि गर्न अन्यत्र ठाउँमा जानु पर्दैन ।’ वरपर रहेको नदीनाला संरक्षण गरेर भविष्यमा र्‍याफ्टिङ गर्न मिल्ने उनी बताउँछिन् । सरकारले खोला किनारमा बस्ने सुकुम्बासी तथा कमैयालाई व्यवस्थापन गरे नदीको क्षेत्रफल बढाउन सक्ने उनको भनाइ छ । नदी सरसफाइ तथा संरक्षणका लागि सफाइ अभियन्ताहरूले अहम् भूमिका खेलिरहेको उनको दाबी छ । डुंगामा नगरप्रमुखलगायत स्थानीयवासी तथा अभियन्ताहरू चढेका थिए ।


प्रकाशित : भाद्र १५, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?