लोकन्थलीमा फेरि पहिरो, सडक भासियो, छ घर उच्च जोखिममा

रासस

काठमाडौँ — मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आइतबार बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । 

मध्यपुर थिमि–१ लोकन्थलीमा ट्यांकी बनाउने क्रममा जथाभावी खन्दा मंगलबार भासिएको गोरखनाथ मार्ग । तस्बिर : लीला/कान्तिपुर 

मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो ।

पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।
पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।

खानेपानी समस्या समाधान गर्न सरकारको १ करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।
३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनःपहिरो गएको उनले जानकारी दिए । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको भन्दै उनले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए । ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन सुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

पलेँटीमा लेकाली

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै बेला गायक/संगीतकार गणेश रसिक र हिरण्य भोजपुरेको नाम लेकाली समूहसित जोडिएको थियो । पञ्चायतकालमा क्रियाशील यो समूह पछिल्लो समय शिथिल बन्यो । शुक्रबारदेखि यो समूहका गीतहरू नेपालयले सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ मा प्रस्तुत भइरहेका छन् । यस पटक नेपालयले तीनदिने पलेँटीमा लेकाली समूहलाई प्रस्तुत गरेको हो । 

पलेँटीको नियमित शृंखलामा गीत प्रस्तुत गर्दै लेकाली समूह ।

बीसको मध्य दशकमा स्थापना भएको थियो सांगीतिक समूह लेकाली । उतिबेलाको सामयिक प्रचलन र लोक धुनमा आधारित रहेर यो समूहले थुप्रै सांगीतिक सिर्जना गर्‍यो । शुक्रबार साँझ तिनै पुराना र चर्चित १४ वटा गीत कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा गुन्जिए ।

लेकालीमा गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, शशी भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोर राई, नीरा श्रेष्ठ, न्हुच्छेबहादुर लगायतको संलग्नता थियो । यीमध्ये ‘आर’ शालामा उपस्थित नीरा श्रेष्ठ भने स्वास्थ्यका कारण मञ्चमा उपस्थित भइनन् । शशी भण्डारी र कमला श्रेष्ठ दिवंगत भइसके ।

कुनै समय रेडियो नेपालबाट घन्किने लोकप्रिय गीत ‘लहरा पहरा छहराको देश...’ बाट प्रस्तुति थालिएको थियो । गायक रसिकले भोजपुरबाट काठमाडौं आउँदाको विगत सम्झँदै त्यति बेला चर्चित सांगीतिक समूह ‘राल्फा’ को पनि सन्दर्भ निकाले । खासमा रसिकले राल्फाबाटै आफ्नो यात्रा थालेका थिए । पारिजात, रायन, रामेश, मञ्जुल, अरिमलगायतका व्यक्तिहरू सम्मिलित ‘राल्फा’ बाट पृथक् भएपछि नै हिरण्य भोजपुरेसँग मिलेर रसिकले लेकाली समूह सुरु गरेका थिए । यो प्रसंग जोड्दै उनले ‘हुस्सुले छोपेको सहर...’ गीत सुनाए । यसपछि अतिथि गायिकाको रूपमा मीना निरौलाले भोजपुरेको गीत ‘म सानो मेरो मन सानो...’ सुनाइन् । रसिकले सृजना गरेका दुईवटा युगल गीतमा पनि मीनाले साथ दिइन् ।

उर्मिला श्रेष्ठ र मीनाको स्वरमा सजिएको ‘खोलाको तीरमा...’ र ‘काफल पाक्यो...’ पछि लोकशैलीका गीत प्रस्तुत गरिए । ‘ए है, है आज भेडाबाख्रा कता लाने...? ’, ‘त्यो माथिबाट को मान्छे झर्‍यो, ए मीतज्यू...’, ‘बस बस रे...’, ‘हर हर महादेव पानी देऊ...’ र ‘झाँक्री गीत...’ उत्तिकै रोचक थिए । प्रस्तुतिका लागि वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए । प्रस्तुति आइतबार सकिने नेपालयले जनाएको छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्