मल्लकालीन शैलीमा बन्दै थन्थु दरबार

भक्तपुर — भक्तपुर नगरपालिकाले थन्थु दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने भएको छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार परिसरको तलेजु भवानी, मूलचोकको पूर्व–उत्तरमा अवस्थित दरबार नगरपालिकाले फोटोलगायत प्राप्त प्रमाण र विज्ञको सुझावबमोजिम पुनर्निर्माण गर्ने तयारी गरेको नगर उप–प्रमुख रजनी जोशीले बताइन् । 

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार दरबार नेपाल सम्वत् ७९८ मा राजा जितामित्र मल्लले बनाउन लगाएका हुन् । जितामित्र मल्लले सिद्वि र सुन्धारा चोक गरी दुई चोकसहित दरबार निर्माण गरेको उनी बताउँछन् । नेपाल सम्वत् ८०१ को विनाशकारी भूकम्पमा भत्किएपछि जितामित्र र उनका छोरा भूपतेन्द्र मल्लले सुन्दरीकरण गरी ५५ झ्याले दरबारसँगै निर्माण गरेको उनले बताए ।


१९९० माघको भूकम्पका कारण क्षतिग्रस्त मल्लकालीन थन्थु दरबार राणाकालीन शैली (नियोक्लासिक) शैलीमा बन्यो । जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि नियोक्लासिक शैलीमा निर्माण गर्न लगाएको नगरपालिकाले जनाएको छ । सोही राणाकालीन शैलीको भवन ०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भयो ।


क्षतिग्रस्त भवन जस्ताले छोपेर अस्थायी संरक्षण गर्ने कार्य गरिएको छ । भूकम्प गएको ४ वर्षपछि भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ मा पुनर्निर्माण थालिने गरी १ करोड रुपैयाँ विनियोजन गरेको नगर उप–प्रमुख जोशीले बताइन् । नगरपालिकाले करिब १४ करोड ८० लाख रुपैयाँ लागत इस्टमेट तयार गरेको जनाएको छ । पुनर्निर्माणका लागि नक्सा, स्केचको काम भइरहेको आर्किटेक इन्जिनियर एवं उप–प्रमुख जोशीले बताइन् ।


त्यसैगरी, नगरपालिकाले दरबार क्षेत्रकै तत्कालीन नक्सा तथा कानुन शाखा भवनलाई समेत पुरानै शैलीमा निर्माण गर्ने तयारी थालेको छ । भवन निर्माणका लागि नगरपालिकाले करिब ८ करोड ४६ लाख लागत इस्टिमेट गरेको भक्तपुर नगरपालिका योजना तथा सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले बताए ।


नगरपालिकाको तथ्यांकअनुसार ०७२ वैशाखको भूकम्पका कारण भक्तपुर नगरको ६७ सम्पदा पूर्ण क्षति, ४९ आंशिक क्षति गरी १ सय १६ सम्पदामा क्षति पुगेको छ । जसमध्ये, ४१ मन्दिर, २६ सत्तल, ३१ पाटी, २ ढुंगेधारा, २ प्रवेशद्वार र ६ भवनमा क्षति पुगेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७५/७६ सम्ममा १७ मन्दिर, ६ सत्तल, ३४ पाटी, ५ ढुंगेधारा, २ प्रवेशद्वार, ४ द्यो छें, ५ पोखरी, ५ इनार र अन्य गरी ८३ सम्पदा पुनर्निर्माण भएको सम्पदा शाखा प्रमुख इन्जिनियर श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?