कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पञ्चदानको रौनक

धान, चामल, लुगा, दक्षिणा र पिण्डपत्र दान गर्ने भएकाले यो पर्वको नाम पञ्चदान रहेको हो
दामोदर न्यौपाने

काठमाडौँ — असनको अशोक वृक्ष विहारमा सम्पदा संरक्षण अभियन्ताले बुधबार बिहान पञ्चदान मनाए । अरू विहारको भन्दा भिन्दै थियो यहाँको पञ्चदान । यो त्यही विहार हो, जुन गुठी संस्थानले भत्काएर आधुनिक व्यापारिक कम्पलेक्स बनाउन २५ वर्षे सम्झौतासमेत गरिसकेको छ ।

पञ्चदानको रौनक

यहाँ करिब ६ सय वर्ष पुरानो अमिताभ बुद्ध छन् । ‘यति महत्त्वपूर्ण विहार संस्थानले भत्काउन लाग्यो । हामीले भत्काउन दिएनौं,’ विहार बचाउ अभियानमा लागेका सञ्जीव वज्राचार्यले भने, ‘जोगाउन आन्दोलनकै क्रममा रहेकाले यहाँको पञ्चदानलाई विशेष महत्त्व दियौं ।’ विहार बौद्ध धार्मिकगुरु भिक्षु निग्रोधले धर्मदर्शना दिएका थिए ।


वसन्तपुरका युवाले चाहिं सामाजिक काम गर्न आर्थिक संकलन गर्ने दिनका रूपमा लिँदै आएका छन् पञ्चदानलाई । वसन्तपुरको वज्राचार्य क्लबले हरेक वर्ष पञ्चदान आयोजना गर्छ ।


यहाँ उठेको पैसाले विहार बनाउने, विद्यार्थीलाई छात्रवृत्ति दिनेजस्ता काममा खर्च गर्दै आएको छ । ‘पर्वलाई समाज सेवासँग जोड्न खोजेका हौं,’ वज्राचार्य क्बलका सल्लाहकार शैलेन्द्रमान वज्राचार्य भन्छन् । गत वर्षको पञ्चदानको रकमले कुट ठहिटीको मैत्रीपूर्ण महाविहार निर्माणमा खर्च गरेका थिए । पञ्चदानबाट नपुगको पैसा क्लबले व्यहोरेको थियो ।


नेवारी पात्रोअनुसार बुधबार दसौं महिनाको अन्तिम दिन हो । भाद्र औंसी तिथि यो महिनाको अन्तिम दिन पर्छ । पञ्चदानचाहिँ त्रयोदशी तिथिमा पर्छ । दसौं महिनालाई नेपाल संवतमा ‘गुँला’ को नामले चिनिन्छ । यो महिना विशेष महत्त्वको रूपमा लिइन्छ नेवार समुदायमा । महिलालाई संकटको महिनाको रूपमा लिइन्छ ।


संस्कृतिविद् यज्ञमान पति वज्राचार्यका अनुसार यो महिनामा संकटै संकट आइलाग्ने भएकाले कलियुगको रूपमा समेत पुकारिन्छ । ‘कलियुग मानेर पूजापाठ, दानधर्ममा बिताइन्छ,’ वज्राचार्य भन्छन्, ‘गुँ’ भनेको जंगल र ‘ला’ भनेको महिना हो । यस अर्थमा यो जंगली महिना हो । जंगली हुनुको अर्थ असभ्य हुनु हो । गुँला भनेको नराम्रो महिनाको विम्ब हो ।’ यो महिना वर्षकै सबैभन्दा ठूलो पञ्चदान गरिन्छ । यो महिनाभर विशेष बाजा बजाइन्छ ।


बाजालाई गुँला बाजा भनिन्छ । भाद्र कृष्णपक्षको त्रयोदशी तिथिमा यो पर्व मनाइन्छ । दान लिन व्रजाचार्य र शाक्य परिवारबाट आउने गर्छन् । ‘दान दिनु भनेको मैत्रीभाव प्रदर्शन गर्नु हो,’ वज्राचार्य भन्छन्, ‘जसले मैत्रीभाव प्रकट गर्दैन, उसले बौद्धधर्म बुझदै बुझदैन ।’


धान, चामल, लुगा, दक्षिणा र पिण्डपत्र दान गर्ने भएकाले यो पर्वको नाम पञ्चदान रहेको वज्राचार्यले बताए । अघिल्लो दिन नुहाइधुकाइ गरेर सफा भएपछि विहार, बही वा घरमा बुद्धको प्रतिमा राखिन्छ । तस्बिर प्रदर्शन गरिन्छ । माग्न आउने वज्राचार्य र शाक्यलाई खाना खुवाइन्छ । क्षमताअनुसार दान दिइन्छ । ‘यसरी माग्न आउने शाक्य र वज्राचार्यलाई बुद्धका चेला महामौद्गल्यानको प्रतिनिधि मानेर श्रद्धा गरिन्छ,’ वज्राचार्य भन्छन् । वज्राचार्यका अनुसार पञ्चदानमा बढीभन्दा बढी दान दिइन्छ ।


व्रजाचार्य र शाक्यलाई मात्र दान दिने चलन छ । पञ्चदान दिने दिन वज्रयान सम्प्रदाय दिपंकर बुद्धको पूजा गर्छन् । बौद्ध समुदायमा महायान, हिनयान र बज्रयान गरी तीन सम्प्रदाय छन् । तीमध्ये महायान सम्प्रदायले मूर्ति पूजा गर्दैनन् । पञ्चदान विहार र बहीमा गरिन्छ । विहार बौद्ध दर्शन पढाइ हुने ठाउँ हो । यो स्वतन्त्र विश्वविद्यालयजस्तै हो । ‘पहिला विहारमै पढाइ हुन्थ्यो,’ यज्ञमान भन्छन्, ‘अहिले यो चलन कमी हुँदै गएको छ । धेरै ठाउँमा त हराई नै सकेको छ ।’


बही भनेको विहारबाट सम्बन्धन पाएको संस्था हो । काठमाडौंमा १८ विहार छन् । अनगिन्ती बही छन् ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?