१० वर्षमा ७ पटक गर्भपतन

असुरक्षित र पटक–पटकको गर्भपतनका कारण रक्तस्राव नरोकिने, बेहोस् हुने र संक्रमणजस्ता समस्या लिएर महिला अस्पतालको इमर्जेन्सी कक्षमा पुगिरहेका हुन्छन् । 
फातिमा बानु

काठमाडौँ — उमेरले तीन दशक पनि नकाटेकी उनको अनुहारमा चाउरी देखिन्छ । शरीर पनि ख्याउटे छ । काखमा पाँच सन्तान छन् । थोरै काम धेरै थकानले उनी दिक्क छिन् । २७ वर्षको उमेरमा सात पटक गरेको गर्भपतनका कारण शारीरिक, मानसिक र आर्थिक हिसाबले कमजोर भइसकेको उनी बताउँछिन् । ‘पाँचचोटि त औषधि खाएर बच्चा फालें । दुई पटक अप्रेसन गरें,’ उनले सुनाइन् । 

श्रीमान्ले परिवार नियोजनका साधन प्रयोग गर्न नमान्दा धेरै पटक गर्भपतन गर्नुपरेको उनले बताइन् । श्रीमान्ले आफूलाई पनि साधन प्रयोग गर्न नदिएको उनले दुखेसो पोखिन् । ‘प्रत्येक पटक गर्भपतन गर्न जाँदा स्वास्थ्यकर्मीले साधन प्रयोग किन नगरेको भन्दै हकार्छन्,’ उनले भनिन् । उनी धेरै पटक गर्भपतन गरेका कारण महिनावारी गडबडी र पाठेघर संक्रमणको सिकार भइसकेकी छन् । अझै कति पटक गर्भपतन गराउनुपर्ने हो भन्ने चिन्ताले पनि उत्तिकै सताएको छ ।

थापाथलीस्थित प्रसूति गृहमा असुरक्षित गर्भपतनका जटिलता लिएर उनीजस्ता महिला दिनहुँ इमर्जेन्सी कक्षमा भर्ना हुन्छन् । अत्यधिक रक्तस्रावले बेहोस हुने, औषधि सेवनपछि रक्तस्राव नरोकिने र संक्रमणका समस्या लिएर बढी महिला आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालकी प्रशासन प्रमुख रानु थापा भन्छिन्, ‘तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन नगराएका कारण कति त आधा गर्भ पेटमै छुटेर आउँछन् । अस्पताल भर्ना गरेर धेरै दिन उपचार गरेपश्चात् मात्रै उनीहरूलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।’

विशेषज्ञका अनुसार धेरै पटक गर्भपतन गराउँदा महिलाको ज्यानै जान सक्ने खतरा हुन्छ । गर्भपतनको जोखिमबारे जानकार नभएका महिलाले यसलाई परिवार नियोजनको साधनका रूपमा प्रयोग गरिरहेको स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले बताए । ‘जति पटक शरीरभित्र उपकरण छिरायो उति नै पाठेघर संक्रमित हुने जोखिम बढ्छ । असुरक्षित गर्भपतनले पाठेघरको क्यान्सर गराइदिन सक्छ,’ उनले भने ।

डा. सुवेदीले रक्तस्राव नरोकिएर कति महिलालाई आईसीयू र भेन्टिलेटरको सहारामा राख्नुपर्ने स्थिति आउने गरेको बताए । उनका अनुसार असुरक्षित गर्भपतनले मिर्गौला फेल गराएर ज्यानसमेत जान सक्छ । यौन सम्पर्क राख्दा परिवार नियोजनका साधन प्रयोग गरी सकेसम्म गर्भपतन गर्नुपर्ने स्थिति नै आउन नदिन डा. सुवेदी सल्लाह दिन्छन् । ‘गर्भपतन नै गर्नुपरे नेपाल सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था र तालिम प्राप्त चिकित्सक या स्वास्थ्यकर्मीकहाँ जानुपर्छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार असुरक्षित गर्भपतनको जटिलताका कारण विश्वमा ५० लाख महिला विभिन्न रोगबाट ग्रसित छन् । १३ प्रतिशत मातृ मृत्युदरको कारण पनि यही हो । विश्वमा प्रतिवर्ष करिब ५ करोड महिलाले गर्भपतन गराउँछन् । ४५ प्रतिशत गर्भपतन असुरक्षित नै हुने गरेको छ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक अध्ययन २०१६ को तथ्यांकअनुसार नेपालमा अझै ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराइरहेका छन् । असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक अवसरमा बाधा पुर्‍याइरहेको छ ।

डा. सुवेदी २० वर्षमुनिका किशोरीले गर्भपतन गराउँदा उनीहरूमा बाँझोपनसमेत बढ्ने बताउँछन् । सरकारी स्वास्थ्य संस्था किशोरीमैत्रीपूर्ण नहुँदा उनीहरू असुरक्षित गर्भपतनतर्फ धकेलिएका छन् । असुरक्षित गर्भपतन घटाउन निःशुल्क सेवामा मात्रै लगानी नगरी सरकारले गर्भपतनबारे विद्यालय, घर र समुदायलाई नै सचेत गराउनुपर्ने प्रसूति गृहका गर्भपतन सेवा इन्चार्ज जयन्ती छत्यालले बताइन् । उनले भनिन्, ‘गर्भपतनले कानुनी मान्यता पाइसक्यो, यो निःशुल्क छ भन्ने सहरका शिक्षित महिलालाई नै थाहा छैन । यहाँ आएका अधिकांशले गर्भपतन सेवाको शुल्क सोध्छन् ।’ गोपनीयतामा ढुक्क हुन नसक्दा कमै मात्रै किशोरी यो सेवा लिन आउने गरेको उनले बताइन् ।

नेपालमा १६ वर्षअघि गर्भपतनले कानुनी मान्यता पाएको हो । यससँगै सरकारी संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा पनि सुरु भयो । तरविभिन्न कारणले महिला अझै असुरक्षितगर्भपतनतर्फ धकेलिइरहेका छन् । कृपाले २०१४ मा गरेको अध्ययनअनुसार नेपालमा गर्भपतन गर्ने आधाभन्दा बढीले असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले महिलाको मञ्जुरीमा १२ सातासम्मको गर्भपतन गराउन मिल्ने व्यवस्था गरेको छ । गर्भपतन नगराए महिलाको ज्यान जान सक्ने खतरा भए मञ्जुरीमा त्यस्तो गर्भपतन गराउन मिल्छ । गर्भवती महिलालाई करकाप गरी, डराइधम्क्याई या कुनै प्रलोभनमा पारी गर्भपतन गराउन भने कानुनले बन्देज लगाएको छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

मेयरलाई भेट्न हाफ पाइन्ट निषेध

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोसाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको समय तोकेको छ । 

हाफ पाइन्ट तथा भड्किला लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । ‘चिनजान मान्छेहरू जुनसुकै समयमा र जस्तोसुकै पोसाकमा आउँछन्,’ उनले भने, ‘भेट्ने समय र पोसाक दुवैलाई मर्यादित बनाउन नियम ल्याएका हौँ ।’ कार्यालय भएपछि भेट्न आउने मान्छेको कमी हुँदैन ।

सबै अफिस तथा कार्यालयमा व्यक्तिगत भेटघाट २ बजेपछि मात्र हुने हुँदा यस्तो नियम ल्याएको उनले बताए । भेटघाट मात्र गर्ने होभने अफिसको काम गर्न समय नपुग्ने उनको भनाइ छ । सेवाग्राहीले भने जुनसुकै समयमा भेट्न मिल्ने उनले बताए । सेवाग्राहीभन्दा पनि बढी चिनजानेका मान्छेहरू कार्यालयभित्र हाफ पाइन्ट लगाएर आउने गरेको उनको अनुभव छ ।

नगरपालिकाले अफिस भएका कारण मर्यादित पोसाकमा आउन अनुरोध गरेको जनाएको छ । हालका लागि यो नियम अनिवार्य नगरे पनि नगरबासीको प्रतिक्रिया हेरेर अनिवार्य गरिने छ । अहिले हाफ पाइन्ट लगाएर आउनेलाई सम्झाएर पठाउने गरेको छ ।

उपप्रमुख तथा प्रवक्ता सरस्वती खड्काका अनुसार प्रहरी कार्यालय तथा अदालतमा पनि हाल्फ पाइन्ट, ग्रन्ज पाइन्टलगाएर प्रवेश पाइदैन । उनले भनिन्, ‘त्यसैले नगरपालिका पनि एउटा कार्यालय भएकाले मर्यादित बनाउन खोजेका हौँ ।’

प्रकाशित : भाद्र ११, २०७६ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्