मेयरलाई भेट्न हाफ पाइन्ट निषेध

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोसाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको समय तोकेको छ । 

हाफ पाइन्ट तथा भड्किला लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । ‘चिनजान मान्छेहरू जुनसुकै समयमा र जस्तोसुकै पोसाकमा आउँछन्,’ उनले भने, ‘भेट्ने समय र पोसाक दुवैलाई मर्यादित बनाउन नियम ल्याएका हौँ ।’ कार्यालय भएपछि भेट्न आउने मान्छेको कमी हुँदैन ।

सबै अफिस तथा कार्यालयमा व्यक्तिगत भेटघाट २ बजेपछि मात्र हुने हुँदा यस्तो नियम ल्याएको उनले बताए । भेटघाट मात्र गर्ने होभने अफिसको काम गर्न समय नपुग्ने उनको भनाइ छ । सेवाग्राहीले भने जुनसुकै समयमा भेट्न मिल्ने उनले बताए । सेवाग्राहीभन्दा पनि बढी चिनजानेका मान्छेहरू कार्यालयभित्र हाफ पाइन्ट लगाएर आउने गरेको उनको अनुभव छ ।

नगरपालिकाले अफिस भएका कारण मर्यादित पोसाकमा आउन अनुरोध गरेको जनाएको छ । हालका लागि यो नियम अनिवार्य नगरे पनि नगरबासीको प्रतिक्रिया हेरेर अनिवार्य गरिने छ । अहिले हाफ पाइन्ट लगाएर आउनेलाई सम्झाएर पठाउने गरेको छ ।

उपप्रमुख तथा प्रवक्ता सरस्वती खड्काका अनुसार प्रहरी कार्यालय तथा अदालतमा पनि हाल्फ पाइन्ट, ग्रन्ज पाइन्टलगाएर प्रवेश पाइदैन । उनले भनिन्, ‘त्यसैले नगरपालिका पनि एउटा कार्यालय भएकाले मर्यादित बनाउन खोजेका हौँ ।’

प्रकाशित : भाद्र ११, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

फास्ट ट्र्याक २ वर्षमा ८%

ट्र्याक पूरा गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १४ अर्ब ७० करोड खर्च भइसकेको छ । आर्थिक वर्ष ०७५/७६ मा संघीय सरकारले विनियोजन गरेको कुल बजेटमध्ये ९६ पनि प्रतिशत खर्चिसकिएको छ । 
सुवास बिडारी

मकवानपुर — तराईलाई संघीय राजधानीसँग जोड्ने बहुप्रतीक्षित काठमाडौं–तराई द्रूतमार्ग निर्माण सुरु भएको दुई वर्षको अवधिमा करिब ८ प्रतिशत मात्र काम सकिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको यो आयोजनाको कोरियाली सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार हालसम्म ८ प्रतिशत काम सम्पन्न भएको हो ।

डीपीआरबिना नै सेनाले हालसम्म काम अगाडि बढाइरहेको थियो । चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य साथ सेनाले ०७४ साउनबाट द्रूतमार्ग बनाउने काम सुरु गरेको हो । तर, डीपीआर तयार पार्न समय लाग्दा सोचेअनुसार प्रगति नभएको सडक निर्माण आयोजना लेनडाँडाका प्रमुख तथा सेनानी विनोद श्रेष्ठले बताए ।

डीपीआर स्वीकृत भएसँगै तोकिएको समयभित्रै काम सक्नेगरी सेना अघि बढ्ने उनले जनाए । फास्ट ट्र्याक पूरा गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । आर्थिक वर्ष ०७५/७६ मा संघीय सरकारले विनियोजनगरेको कुल बजेटमध्ये ९६ प्रतिशत खर्च भइसकेको जानकारी दिए ।

गतवर्ष द्रूतमार्गका लागि संघीय सरकारले पाँच अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको थियो । नयाँ डीपीआरअनुसार अब तीनवटा सुरुङ निर्माण हुने छन् । यसअघि सेनाले निर्माण सुरु गर्दा दुइटा मात्र सुरुङमार्ग हुने उल्लेख थियो । एसियाली विकास बैंकले गरेको विस्तृत सम्भाव्यता अध्ययनमा ललितपुर महादेवडाँडा–धोद्रेखोलामा३.३ किलोमिटर सुरुङ बन्ने बताइए पनि कोरियाली कम्पनीले तयार पारेको डीपीआरमा दुइटा सुरुङ थप भएको हो ।

नयाँ डीपीआरअनुसार तीन किमि लम्बाइको थप दुइटा सुरुङमार्ग निर्माण हुने भएका छन् । भदौ ४ मा बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको डीपीआरअनुसार धेद्रेडाँडादेखि जितपुरखोलासम्म १.६३ किमि र जितपुरखोलादेखि बाँदरेखोलासम्ममा १.४३ किमि सुरुङमार्गनिर्माण हुने उल्लेख छ ।

तीनवटा सुरुङको लम्बाइ कुल ६.४ किमि हुने सेनाले जनाएको छ । दुइटा सुरुङमार्ग थप भएसँगै फास्ट ट्र्याकमा पुलको संख्या घट्ने निश्चित भएको सेनानी श्रेष्ठले जनाए । उनका अनुसार यसअघि १ सय ६ वटा पुल बनाउने लक्ष्य राखिएकोमा सुरुङको संख्या बढेसँगै १९ वटा पुलको संख्या घट्ने भएको छ । ‘अब ८७ वटा मात्र पुल बन्ने छन् । सुरुङ थप गरिएपछि फास्ट ट्र्याकको दूरी ३.७ किमि छोटिएको छ ।

यसअघि ७६.२ किमिको कुल लम्बाइ हुने भनिएकोमा नयाँ डीपीआरअनुसार ७२.५ किमि मात्र हुने छ,’ सडक निर्माण कार्यदल लेनडाँडाका सेनानी श्रेष्ठले भने । द्रुतमार्गमा १६ वटा विशेष प्रकारका पुल, ४९ वटा ठूला पुल र २२ वटा साना पुल हुने छन् । ‘डीपीआरका कारणअड्किएका काम अब द्रूतगतिमा अगाडि बढ्ने छन् । विशेष गरी ठूला पुल निर्माण तथा सुरुङ निर्माण गर्ने बाटो हामीलाई खुलेको छ,’ उनले भने ।

नयाँ डीपीआर अनुसार ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढ जोडिने फास्टट्र्याकको सबैभन्दा बढी भाग मकवानपुरमा पर्ने छ  । मकवानपुरमा ५३.२ किमि, ललितपुरमा ७.७ किमि र बारामा ७.६ किमि र काठमाडौंमा ४ किमिसडक पर्दछ ।

७२.६ किमि कुल लम्बाइमध्ये विभिन्न पुलहरू १०.६ किमि, सडक खण्ड ५५.५ किमि र सुरुङमार्ग ६.४ किमिहुने सेनाले जनाएको छ ।
सेनाले हालसम्म २८ हजार चार सय १० वटा रूख कटानको काम गर्नुपर्नेमा करिब ९७ प्रतिशत रूख कटान गरिसकेको जनाएको छ । सेनाले सुरुङमार्ग निर्माण हुने खण्डको ९ किमि क्षेत्रका ६ हजार ६ सय २७ वटा रूख कटान गर्न बाँकी रहेको बताएको छ । बारा जिल्लाको राजदमार र निजगढमा नर्सरी बनाएर सेनाले काटिए बराबर रुखको वृक्षरोपण गर्ने तयारीसमेत अगाडि बढाइसकेको छ । दुई स्थानको नर्सरीमा करिब ६ लाख बिरुवा उत्पादन भइरहेको बताइएको छ ।

सेनाले जिम्मेवारी पाएपछि हालसम्म गरेका कार्यप्रगतिअनुसार ढुंगा तथा माटो कटानको कार्य ८७ प्रतिशत सकिएको छ भने १५ प्रतिशतफिलिङ वर्क भएको छ । ५४ किमिमा माटो कटिङ तथा माटो फिलिङ गर्ने काम भइरहेकोजानकारी दिइएको छ ।

हालसम्म द्रूतमार्गका लागि १० हजार ८ सय ११ रोपनी जग्गा अधिग्रहण भइसकेको र अझै ३ सय ७० रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । नयाँ डीपीआरसँगै थप दुई सय ४४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्