१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्युँताइँदै ऐतिहासिक ढुंगेधारा

सीमा तामाङ

काठमाडौँ — स्वयम्भूको डल्लुस्थित ऐतिहासिक ढुंगेधारा निर्माण कार्य सुरु भएको छ । वर्षौं पहिले स्थानीयले नै पुरेको ढुंगेधारा पुनः निर्माण भएको हो ।

चैतमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, नवजागृति क्लब र स्थानीयको पहलमा ऐतिहासिक ढुंगेधारा तथा डल्लु चौतारा उपभोक्ता समिति गठन गरेको थियो । वर्षौं पहिले निर्माण भएको ढुंगेधाराबारे यकिन तथ्य भने छैन । तर विसं २०३४ सालमा स्थानीयकै पहलमा ढुंगेधारा मासेर एकतले घरमा पुस्तकालय सुरु गरेको समितिका संयोजक अमरबहादुर रञ्जितले बताए । त्यसबेला धारामा थोरै भए पनि पानी बग्ने गरेको उनको अनुमान छ ।


‘पहिले प्राकृतिक रूपमा धारामा पानी आउँथ्यो, त्यसबेला पुस्तकालयको समस्या थियो,’ उनले भने, ‘त्यसैले स्थानीयकै सहयोगमा धारा मासेर पुस्तकालय निर्माण गरेको थियो ।’ पुस्तकालय पनि लामो समयसम्म चल्न सकेन । पुस्तकालय बन्द गरी २०३९ सालमा नवजागृति क्लबले जिम सुरु गरेको थियो । त्यो पनि निरन्तर चल्न सकेन । जिम बन्द भएपछि एकतले घर प्रयोगविहीन भएको थियो । प्रयोगविहीन घरलाई भत्काई वैशाखमा क्षमापूजा गरेर ढुंगेधारा निर्माणको काम सुरु गरेको उनले बताए । ढुंगेधारा निर्माण अन्तिम चरणमा पुगेको छ ।


अब गेटमा परम्परागत इँटाको छाना र धारावरपर ढुंगा छाप्ने काम मात्र बाँकी छ । परम्परागत इँटा दासीआप्पा नपाएको कारण काम रोकिएको उपभोक्ता समितिको संयोजक रञ्जित बताए । हाल ऐतिहासिक मन्दिर तथा ढुंगेधारा निर्माण गर्न चाहिने सामान तथा इँटा भेटाउनै मुस्किल छ ।


समिति गठन गरेपछि वैशाखमा उक्त ठाउँमा क्षमापूजा गरी ढुंगेधारा पुनः निर्माणको काम सुरु गरेको उनले बताए । पहिले राजकुलो हुँदै ससाना कुवा तथा ढुंगेधारा बग्ने गर्थेर् । अहिले चारैतिर घर बनेको हुनाले राजकुलो पनि मासिँदै गएको छ । ढुंगेधारा तथा कुवामा आउने पानीको मुहान अर्थात् प्राकृतिक स्रोत नै सुकिसकेको छ । त्यसैले अब निर्माण हुने ढुंगेधारामा प्राकृतिक रूपमा धारा नबगे पनि मानव निर्मित अर्थात् नुमनाका लागि भए पनि ढुंगेधारामा पानी झार्ने योजना रहेको उनले बताए ।


जमिनमुनि पानी जमाउनका लागि इनार निर्माण गरिएको छ । इनारको पानी ढुंगेधारा हुँदै बग्ने उनले बताए । लोप हुँदै गएको सांस्कृतिक सम्पदालाई जोगाउन ढुंगेधाराको पुनः निर्माण गरिएको प्रतिनिधिसभाका सांसद श्रेष्ठले बताए ।


काठमाडौं महानगरले करिब दुई किलोमिटर दूरीमा रहेको दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदमार्गले जोड्ने तयारी गरिरहेको छ । त्यसैले डल्लु चौतारामा रहेको ऐतिहासिक सांस्कृतिक सम्पदा पनि ब्युँताउँदै ढुंगेधारा तथा अन्य सम्पदा पुनः निर्माण सुरु गरिएको उनले बताए ।


सम्पदा मार्ग भएकाले त्यस ठाउँमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाको पुनः निर्माण गरिने छ । सांसद कोषअन्तर्गत पहिलो चरणमा ऐतिहासिक ढुंगेधारा तथा डल्लु चौतारा पुनः निर्माणका लागि १५ लाख बजेट छुट्याइएको थियो । उक्त रकमले धारा र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?