रानीपोखरीबीचको मन्दिर भत्काउन सुरु

गुम्बज शैलीको मन्दिर बन्दै गरेकोमा विज्ञको सुझावमा जगैदेखि भत्काई ग्रन्थकुट शैलीमा बनाइने भएको छ ।
दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरीबीचको मन्दिर जगैदेखि पुनर्निर्माण गरिने भएको छ । गुम्बज शैलीको मन्दिर बन्दै गरेकोमा विज्ञहरूको सुझाव अनुसार त्यसलाई जगैदेखि भत्काई ग्रन्थकुट शैलीमा बनाउन थालिएको हो । प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीमा निर्माण भएको तथ्य पछि भेटिएको थियो । 

रानीपोखरीबीचको मन्दिर भत्काउन सुरु

सम्पदा संरक्षण अभियन्ताको दबाबपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा निर्माण गर्न लागेको हो ।


मन्दिर निर्माणको जिम्मा सीए/तुलसी कन्स्ट्रक्सनले पाएको छ । मन्दिर पुनर्निर्माणको काम सुरु भइसकेको छ । पहिला यहाँ राखिएका कंक्रिटको बिम भत्काउने, रड निकाल्ने काम सुरु भएको छ । ‘पहिला राखिएका कंक्रिट हटाएर चुनासुर्कीबाट मन्दिर पुनर्निर्माण गर्छौं,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजु मानन्धरले भने ।


यहाँ प्रयोग गर्न रानीपोखरी भित्रै सुर्की बनाउनेका काम भइरहेको छ । यसका लागि कामदार खटिएका छन् । सुर्की इँटाको धूलोबाट बनाइन्छ । प्राचीन निर्माण प्रविधिमा चुना, सुर्की, बालुवाजस्ता सामग्री प्रयोग हुन्छन् । रानीपोखरीमै प्रयोग भएको इँटा फुटाएर सुर्की बनाउन लागिएको हो । तुलसी कन्स्ट्रक्नका साइट इन्जिनियर सनम श्रेष्ठका अनुसार मन्दिर पुनर्निर्माणमा ३५ श्रमिक खटिएका छन् ।


पोखरीको पश्चिमतिरबाट मन्दिरसम्म जाने पोखरीको बीचकोको पुल पनि निर्माण सुरु भएको छ । यसअघि पुलको काम भएको थिएन । पोखरीको काम काठमाडौं महानगरपालिकाले गर्ने र मन्दिरको कामको जिम्मा पुरातत्त्व विभागले लिएको थियो । तर पुल कसले बनाउने भन्ने टुंगो थिएन । पुल मन्दिर र बगैँचासमेतको निर्माणको काम सीए/तुलसी कन्स्ट्रक्सनले नै पाएका छन् । यसका लागि कबिर १५ करोड रुपैयाँ लाग्ने अनुमान रहेको प्राधिकरणका मानन्धरले जानकारी दिए ।


बीचको पोखरी बनाउने काम भने उपभोक्ता समितिले पाएको छ । पोखरीका लागि चाहिँ ९ करोड ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पोखरीको काम २० प्रतिशत सकिएको समितिका सचिव रोशनकाजी तुलाधरले जानकारी दिए ।


भुइँचालो आउनुअघि रानीपोखरीको मन्दिरको शैली गुम्बज हो । प्रताप मल्लको पालामा चाहिँ यो ग्रन्थकुट (शिखर) शैलिएमा भएको प्रमाण भेटिएको विज्ञ समितिले प्रतिवेदन दिएको थियो । ग्रन्थकुट शैलीको थियो भन्ने प्रमाण जनिने एउटा स्केचसमेत सार्वजनिक भएको थियो ।


स्केच सन् १८४५ फेब्रुअरीमा तत्कालीन प्रुसिया देशका राजकुमार वाल्डमार नेपालमा घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो । उनीभन्दा १ सय २४ वर्षर्अघि नेपाल आएका इटालीका जेस्विटइपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा वर्णनमा पनि मन्दिर ग्रन्थकुट शैलीकै भएको उल्लेख थियो । यी सबै प्रमाणलाई आधार मानेर प्राधिकरणले ग्रन्थकुट शैलीमै बनाउने भएको हो ।


सन् १८५० मा ब्रिटिस रेसिडेन्सीमा सर्जन भएर खटिएका एचए ओल्डफिल्ड । उनी १८५० देखि १८६३ सम्म नेपालमै बसेका थिए । उनले दुई भागमा स्केचेज फ्रम नेपाल नामको पुस्तकसमेत लेखेका थिए । उनले पनि रानीपोखरीका बारेमा उल्लेख गरेका थिए । उनले पुस्तकमा रानीपोखरीको बीचमा भएको, त्यो ‘अत्यन्तै सुरम्य वस्तु’ भएको, जसलाई जंगबहादुरले सन् १८५१ मा भत्काई इँटा र प्लास्टरको कुरुप संरचना बनाएको लेखेका छन् ।


ओल्डफिल्डको यस बयानले बीचमा रहेको रानीपोखरीको बीचमा रहेको मन्दिरलाई डा. डिल्लिरमण रेग्मीले तीनतले छानेशैलीको मन्दिर भनेका छन् । मेरी स्लसरले परम्परागत छानेशैलीको मन्दिर उल्लेख गरिएको कार्कीले जानकारी दिए । जंगबहादुरले निर्माण गर्न लगाएको मन्दिर विसं १९९० को महाभूकम्पले क्षति पुर्‍याएकोले अहिलेको शैलीमा जुद्धशमशेरले पुनर्निर्माण गर्न लगाएका थिए ।


उनले जंगबहादुरले निर्माण गर्न लगाएको गुम्बजाकार शैलीभन्दा केही भिन्न गुम्बजाकार शैलीको शिखर मन्दिर निर्माण गर्न लगाएका थिए । उनले मन्दिरको पुनर्निर्माणका साथसाथै पोखरीको गाह्रोलगायत क्षेत्रमा समेत मर्मत गर्न लगाई पोखरीको संरक्षण कार्य गरेको हालको पुरातात्त्विक उत्खननबाट समेत पुष्टि भएको थियो । रानीपोखरी जीर्णोद्धार कार्यको आरम्भ उनले विसं १९८९ का जगेडा इँटाहरूबाट निर्माण गरेको प्रमाण भेटिएको थियो ।


'डोजर लगाउँदा प्राचीन स्रोत मासियो’

उपभोक्ता समितिले रानीपोखरीको पिँध बनाउने क्रममा डोजर लगाएको थियो । पोखरीका डोजर लगाउँदा यहाँको प्राचीन प्रविधि मासिएको सम्पदा संरक्षण अभियन्ताले गुनासो गरेका छन् । समितिका सचिव तुलाधरका अनुसार पोखरीलाई पहिलाकै नापअनुसार पुनर्निर्माण गर्नुपरेकाले जमिनको सतह खन्नुपरेको बताए ।


डोजर लगाएर झन्डै दुई फिट खनिएको छ । यहाँबाट १ हजार ८ सय ३३ टिप माटो झिकिएको छ । ‘हामीले हुँदैन भन्दाभन्दै डोजर लगाइयो,’ सम्पदा संरक्षण अभियन्ता शैलेश शाक्य भन्छन्, ‘डोजर लगाएपछि यहाँको पोखरी रिचार्ज गर्ने इनार मासिए । अब त्यो इनार जसरी पनि उत्खनन गर्नुपर्छ ।’


प्राधिकरणले भने पोखरीमा इनार नभेटिएको दाबी गरेको छ । ‘पटकपटक विज्ञबाट अध्ययन भएको छ,’ प्राधिकरणका सम्पदा विज्ञ मानन्धर भन्छन्, ‘जमिन सतहभन्दा बीस मिटर तल छ रानीपोखरी । पहिला दुई तीन मिटर तलै पानी आउँथ्यो । अहिले सुकेको छ । जति हेर्दा पनि पत्ता लागेन ।’ प्राधिकरणले भूगर्भविद् तारानिधि भट्टराईको संयोजकत्वमा समिति बनाएर अध्ययन गरेको थियो । ‘त्यो रिपोर्टले पनि केही देखिएन,’ मानन्धर भन्छन्, ‘अब कृत्रिम तरिकाबाटै रानीपोखरी भर्ने योजना छ ।’


पुनर्निर्माण प्राधिकरणले बर्खा लाग्नुअघि नै पानीको स्रोतसमेत पत्ता लगाउने गरी पोखरीको काम अघि बढाएको थियो । पोखरीमा परीक्षण गर्दा प्राकृतिक स्रोतबाट पानी आउने संभावना लगभग सकिएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ ।


पोखरीको चार कुना र बीचमा समेत गरी ८ ठाउँमा परीक्षण गरिएको समितिको सचिव रोशनकाजी तुलाधरले जानकारी दिए । ‘प्राकृतिक स्रोतबाट पानी आउने सम्भावना लगभग छैन,’ तुलाधार भन्छन्, ‘पोखरी वरिपरि बनेका घर, सडक पिचजस्ता कारणले जमिन सतहमा पानीको बहाव घटेको छ । त्यही भएर पानी आउने सम्भावना घटेर गएको छ ।’


पोखरीको ८ ठाउँमा परीक्षण गरिएको मध्ये ४ ठाउँमा चाहिँ पानी रसाएको थियो । पानी रसाएको ठाउँबाट पनि पानी आउने सम्भावना नदेखिएको तुलाधरले बताए । पानीका लागि चारवटा विकल्प सोचेर काम सुरु भएको थियो । पहिलो विकल्प प्राकृतिक स्रोतबाट पानी भर्ने ।


त्यसबाट पुगेनभने बाहिरी स्रोतबाट राख्ने योजना प्राधिकरणले बनाएको थियो । बाहिरी स्रोतमा रानीपोखरी वरिपरि वर्षातमा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने, मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्नेजस्ता विकल्प प्रयोग गरिने प्राधिकरणले जनाएको छ ।


पोखरी ८ वटा इनारबाट प्राकृतिक रूपमा पोखरी ‘रिचार्ज’ गर्ने व्यवस्था थियो । रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि बनेको विज्ञ समितिले पनि पोखरीमा इनारबाट पानी भर्ने र इनारबाटै बढी भएको पानी बाहिर जाने प्रविधि रहेको औंल्याएका थिए । पोखरी यहीं छ भनेर विज्ञले पनि पत्ता लगाउन सकेका थिएनन् । रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि पुरातत्त्वविद् विष्णुबहादुर कार्कीको संयोजकत्वमा २०७४ पुसमा विज्ञ समिति बनेको थियो ।


१५ दिन अध्ययन गरेर समितिले प्रतिवेदन बुझाएको थियो । त्यही विज्ञको सुझावअनुसार पोखरी र पोखरीको बीचको मन्दिर प्राचीन शैलीमा बनाउन लागिएको हो । पोखरी निर्माणको काम उपभोक्ता समितिले पाएको छ । मन्दिर, पुल लगायत बाहिर निर्माणको काम भने ठेकेदारमार्फत् हुने भएको छ । पोखरी निर्माणका लागि उपभोक्ता समितिलाई ९ करोड ५० लाख रुपैयाँ विनियोजन भएको तुलाधारले जानकारी दिए ।


तुलाधरका अनुसार पोखरीको २० प्रतिशत काम सकिएको छ । पोखरी निर्माणका लागि भक्तपुरका कालिगढ र कामदार खटिएका छन् । कामदार सबै महिला छन् । उनीहरूसँग ५० वर्ष सुकेको भक्तपुरको भाजु पुखु प्राचीन प्रविधिबाट बनाएको अनुभव छ । त्यही अनुभवका आधारमा उनीहरूलाई रानीपोखरीको जिम्मा दिइएको थियो ।


काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको पोखरी र मन्दिर पुनर्निर्माणको क्रममा विवाद भएको थियो । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवस अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । महानगरले मन्दिर र पोखरी बनाउने क्रममा आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि त्यसको विरोध भएको थियो ।


विरोध भएपछि पुरातत्त्व विभागले काम रोकिदियो । महानगरले प्राचीन प्रविधिबाट मन्दिर बनाउने जनशक्ति नभएको बताएपछि मन्दिर बनाउने जिम्मा पुरातत्त्व विभागले लियो । विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालले विज्ञले दिएको सुझावअनुसार ग्रन्थकुट शैलीमा मन्दिर बनाउन राजी नभएपछि फेरि विवाद आएको थियो ।


विवादले काम अघि नबढेपछि गत वर्षको माघमा सरकारले रानीपोखरी र मन्दिर पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको थियो । प्राधिकरणले लिएपछि पोखरीको काम उपभोक्ता समितिमार्फत र मन्दिर, मन्दिरसम्म पुग्ने पुल, वरिपरिको बगैँचा लगाएको काम ठेकेदारमार्फत दिएको छ ।


‘बालगोपालेश्वर होइन हरिशंकरी’

मन्दिरका देउता के हुन् भन्नेबारे एकमत छैन । यसको प्रचार हुँदै आएको बालगोपालेश्वर हो । संस्कृतिविद् काशीनाथ तमोटका अनुसार यो बालगोपालेश्वर होइन । यहाँ तीनवटा मूर्ति छन् । तमोटका अनुसार तीन मूर्ति हरिशंकरी, बालगोपाल र शिवलिंग हुन् ।


तीनमध्ये हशिशंकरी अनौठो मूर्ति भएको तमोट बताउँछन् । ‘यो मूर्ति नेपालमा मात्र छ,’ तमोट भन्छन्, ‘हिन्दु बाहुल्य देश भारतमा समेत नभएको यो मूर्ति नेपालकै युनिक हो । तर यसलाई छायामा पारिएको छ । यसको प्रचार भएको छैन ।’


लक्ष्मी र पार्वती जोडिएको मूर्ति हो हशिरशंकरी । ‘पार्वती र लक्ष्मी जोडिएकाले हरिंशकरी भएको हो,’ तमोट भन्छन्, ‘विष्णु रशिव जोडिएका मूर्ति भारतमा थुप्रै छन् । विष्णु र शिव जोडिएकालाई हरिशंकर र उनीहरूका पत्नी लक्ष्मी र पार्वती जोडिएकालाई हरिशंकरी भनियो । यो नेपाली कलाकारको युनिक कल्पना हो । युनिक सिर्जना हो ।’ लक्ष्मी र पार्वती जोडिएका मूर्ति पाटनको टुसाहिटी, हनुमानाढोकाको सुन्दरी चोक र बालगोपाल मन्दिरमा गरी तीन ठाउँमा भएको तमोट बताउँछन् ।


वर्षमा एक पटक मात्रै खुल्ने यो मन्दिरको देवताबारे भक्तजनलाई नै थाहा नभएको उनी बताउँछन् । तमोटका अनुसार बालगोपालको छेउमा शिवलिंग भएकाले यो मन्दिरको नामै बालगोपालेश्वर भन्न थालियो । ‘गोपाल भनेको सानो कृष्ण हो । लिंग भनेको शिव हो,’ उनी भन्छन्, ‘भन्दाभन्दा बालगोपालेश्वर भन्न थालियो । यसको वास्तविकता के हो भनेर खोजी गरिएन ।’


तमोटका अनुसार विसं १७२१ वैशाखमा पोखरी खनियो । १७२३ मा पोखरीको शिलान्यास गरियो । त्यही वर्षको माघ १३ गते पोखरीको बीचको देवलमा अग्निहोत्र गरियो । अग्निहोत्र गर्नुभन्दा चार दिन पहिला अग्नि स्थापना गरिएको थियो । ‘देवल प्रतिष्ठानपछि सुरुमै हरिशंकरी राखिएको थियो,’ तमोट भन्छन्, ‘माघ वर्तको समाप्तिपछि प्रताप मल्लले माधवनारायण राखेका थिए । त्यही ठाउँमा शिलालेख पनि राखियो । विभिन्न तीर्थस्थलबाट जल ल्याएर पोखरी पनि भरियो ।’


विसं १७२७ मा पोखरीको चार किल्लाको साँधमा चारवटा शिलालेख रािखएका थिए । ती शिलालेख कहाँ छन् अत्तोपत्तो छैन । एउटाचाहिँ जमलको राष्ट्रिय नाचघरको छेउमा छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?