बालमन्दिरको जग्गा ससुरालाई

मूलसडक त्रिपुरेश्वर र कालिमाटीसँग जोडिएको हयुमत टोल जाने सहायक मार्गको बहुमूल्य जग्गा अत्यन्तै न्यून दरमा भाडा लगाउने निर्णय गराई आफन्तलाई दिइएको हो । 
विद्या राई

काठमाडौँ — नेपाल बाल संगठन (बालमन्दिर) काठमाडौंको स्वामित्वमा रहेको टेकुस्थित जग्गा भाडामा लिने/दिने विषयमा बालमन्दिरका केन्द्रीय महासचिव गणेशभक्त श्रेष्ठ संलग्न रहेको पाइएको छ ।

नेपाल बाल संगठन (बालमन्दिर) काठमाडौंको स्वामित्वमा रहेको टेकुस्थित भाडाको जग्गामा फेयर इन्टरनेसनल प्रालिका व्यापारिक प्रयोजनका २० सटर । तस्बिर : विद्या/कान्तिपुर

मूलसडक त्रिपुरेश्वर र कालिमाटीसँग जोडिएको हयुमत टोल जाने सहायक मार्गको पूर्वतर्फको कित्ता नं. ७, १८ को १ रोपनी ११ आना जग्गा ज्यादै कम दरमा भाडा लगाउने निर्णय गराई उनले आफन्तलाई दिएका छन् ।

सम्झौताअनुसार भाडादर प्रतिवर्ष ११ लाख २२ हजार रुपैयाँ तोकिएको छ । अर्थात् प्रतिसटर मासिक ४ हजार ६ सय ७५ पर्न जान्छ । जुन व्यापारिक प्रयोजनमा दिइने चल्तीको भाडादरभन्दा एकदमै कम हो । जग्गा सुरुमा श्रेष्ठले ससुरा पर्ने नरेन्द्रलाल प्रधानलाई सम्झौता गरेर दिएका थिए ।

पछि फेयर इन्टरनेसनल प्रालि कम्पनी दर्ता गरेर भोगाधिकार हस्तान्तरण गरिएको छ । महासचिव श्रेष्ठ कम्पनीका संस्थापक सेयरधनी छन् । जुन बालमन्दिरको विधान २०४९ को धारा १६(२)ङ मा विपरीत छ । विधानमा बालमन्दिरबाट सञ्चालित ठेक्काट्टा वा व्यवहारमा हिस्सा लिएमा केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्यहरूको कार्यकाल समाप्त हुने स्पष्ट व्यवस्था छ ।

महासचिव श्रेष्ठले ‘कम्पनीमा आफू पहिले संलग्न रहे पनि अहिले नरहेको’ प्रतिक्रिया दिएका छन् । तर बालमन्दिर स्रोतअनुसार उनी कम्पनीमा रही जग्गाको व्यापारिक प्रयोजनबाट अप्रत्यक्ष आर्थिक फाइदा लिरहेका छन् ।

उक्त जग्गा बालमन्दिर काठमाडौं जिल्ला कार्यसमितिका सभापति भगवान् शाक्य र सीतापाइला बस्ने नरेन्द्रलाल प्रधानबीच २०७१ पुसबाट लागू हुने गरी १५ वर्षका लागि अर्थात् ०८६ मंसिर मसान्तसम्मका लागि ०७१ भदौमा सम्झौता भएको थियो । महासचिव श्रेष्ठले बालमन्दिरका केन्द्रीय अध्यक्ष रिता सिंहलाई प्रभावित पारेर काठमाडौं जिल्लाका सभापतिसँगको मिलेमतोमा ससुरालाई जग्गा मिलाइदिएका थिए ।

सम्झौतामा भाडा दिने पहिलो पक्षबाट बालमन्दिर काठमाडौं जिल्ला कार्यसमिति सभापति भगवान् शाक्यसहित सचिव राजेन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्ष प्रयागराज श्रेष्ठ साक्षी बसेका छन् । भाडा लिने दोस्रो पक्षबाट नरेन्द्रलाल प्रधानसहित चाबहिलका सञ्जय रुपाखेती र खोटाङका कृष्ण श्रेष्ठ साक्षी बसेका छन् ।

दुई पक्षबीचको सम्झौताको दफा १(च) मा भाडामा लिने नरेन्द्रलाल प्रधानले संलग्न रही कुनै संस्था गठन गरेर अधिकार सार्न पाउने उल्लेख भएअनुसार फेयर इन्टरनेसनलले भोगाधिकार पाएको हो । ०७१ भदौ मा नरेन्द्रलालले बालमन्दिरसँग सम्झौता गरेपछि सदस्य थप गरी ०७३ असोजमा फेयर इन्टरनेसनल प्रालि दर्ता गरे । जसमा नरेन्द्रलालसहित केन्द्रीय महासचिव गणेशभक्त श्रेष्ठ, काठमाडौंमा बलबहादुर कुँवर, शैलेन्द्रकुमार कुइँकेलले १० लाख रुपैयाँ सेयर लगानी गरी फेयर इन्टरनेसनल दर्ता गरेका थिए ।

कम्पनी दर्तापछि ०७५ जेठ १० मा कम्पनी सञ्चालक बलबहादुर कुँवरले ०७१ भदौ सम्झौताको दफा १ (च) अनुसार सम्पूर्ण दायित्व र अधिकार बहन गर्न चाहेको भनी बालमन्दिरलाई पत्र लेखी स्वीकृति मागेका थिए । पत्र पठाएको एक महिनापछि अर्थात् ०७५ असार १० बालमन्दिर काठमाडौं जिल्ला कार्यसमितिका सभापति भगवान् श्रेष्ठले सम्झौता अक्षरशः पालना गर्ने गरी स्वीकृति दिएको फेयरलाई जवाफ लेखेका छन् ।

सम्झौताअनुसार भाडामा लिएका प्रधानले भवन निर्माण गरी व्यापार व्यवसाय सञ्चालन गर्न पाउने उल्लेख छ । उनले बालमन्दिरसँग सम्झौता भएलगत्तै संरचना निर्माण गरी व्यापारिक प्रयोजनमा प्रयोगमा ल्याइसकेका थिए ।

कम्पनी दर्ता गरेर मातहतमा आइसकेपछि व्यापारिक प्रयोजनका एभरेस्ट र सुगम ग्यासको बिक्रेता सन्देश एन्ड सौरभ स्टोर्स, क्यान्डम मोटर पार्टस्, अस्लाम इन्टरप्राइजेज, आयुष हेल्मेट हाउस, मनकामना मोटर साइकल वर्कसप, टेकु केक सप, ताज बेकरी, गुप्ता पानीपुरीलगायत २० वटा सटर सञ्चालनमा छन् । नरेन्द्रलालको मृत्यु भइसकेकाले हकदाबी लाग्ने उनैका छोरा निकेशप्रधानले ‘पार्टनरसिप’ कम्पनीलाई निरन्तरता दिएका छन् ।

सम्झौताकै क्रममा भाडादर ०७१ पुसबाट लागू हुने गरी पहिलो तीन वर्ष प्रतिवर्ष १० लाख २० हजार तोकिएको थियो । ०७४ पुसदेखि दोस्रो दुई वर्षको भाडादर लागू भएको छ । सम्झौताअनुसार प्रतिवर्ष ११ लाख २२ हजार तोकिएको छ । अर्थात् प्रतिसटर मासिक ४ हजार ६ सय ७५ पर्न जान्छ ।

जुन व्यापारिक प्रयोजनको चल्तीको भाडादरभन्दा ज्यादै न्यून छ । बालमन्दिरका केन्द्रीय एक सदस्य भन्छन्, ‘भित्र गल्ली घरमा बस्नलाई प्रयोग हुने एउटा कोठा त त्यो रेटमा पाइँदैन, बालमन्दिरमा समितिका पदाधिकारीहरूले चलखेल गरेर मनपरी गरेका छन् ।’ अनाथ बालबालिकाको नाम गरेर बालमन्दिरको सम्पत्तिमाथि पदाधिकारीहरूको मनोमानी चलेको उनको आरोप छ ।

बालमन्दिरको सम्पत्तिमाथि पदाधिकारीहरूको दादागिरी चलेपछि ‘संस्थाको दुरुपयोग गरिएको सम्पत्तिको संरक्षण गरी गणेशभक्त श्रेष्ठलाई महासचिवबाट हटाई पाऊ’ भनी अर्जुन ढुंगेलले ०७५ भाद्र ३१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरीसमेत गरेका थिए ।

उजुरीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई बोधार्थ दिइएको छ । एक वर्ष बित्दासम्म उजुरीबारे जिप्रका काठमाडौं कारबाहीमा गएको छैन । ‘उजुरी गरेपछि जिप्रकामा तीनपटक ‘फलो’ गरेँ, हामी सक्दैनौँ, अख्तियार जानुस् भने,’ उनले भने, ‘मन्त्रालयले केही भनेको छैन ।’ ढुंगेल ०६३ देखि बालमन्दिर ठेँचोमा कार्यरत कर्मचारी थिए । उनले डेढ वर्षदेखि काम गर्न छाडेका छन् । काम छोडेपछि उजुरी गरेका थिए ।

विधानबमोजिम कारबाही अधिकार भए पनि उजुरी लिने जिप्रका काठमाडौंले पनि पदाधिकारीहरूसँग प्रभावित भएर कारबाही प्रक्रियामा नगएको बालमन्दिर केन्द्रीय कार्यसमितिमा रुष्ट सदस्यहरूको आरोप छ । जिप्रका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललेयस उजुरीबारे आफूलाई जानकारीमानरहेको बताए । ‘मलाई याद भएसम्म उजुरीबारे जानकारी छैन, सोधीखोजी गर्नेछु,’ उनले भने ।

बालमन्दिरले २०२१ सालदेखि संरक्षकविहीन बालबालिकालाई संरक्षण दिँदै आएको छ । देशैभरिबाट अस्पताल, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र स्थानीय तहबाट सिफारिस भई आएका बालबालिकाको लालनपालन, शिक्षादीक्षाको जिम्मेवारी बालमन्दिरले लिन्छ ।

बालमन्दिरका काठमाडौं, ललितपुर, काभ्रेपञ्चोक, दोलखा, गोरखा, मकवानपुर, कपिलवस्तु, सर्लाही र म्यादी गरी ९ जिल्लामा १० वटा बालगृह सञ्चालनमा छन् । बालमन्दिरको देशैभरि अर्थात् साविकका ७५ वटै जिल्लामा जग्गा र भवन छन् । तर संरक्षण र प्रयोगमा भने लापरबाही छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

जहाँ गयो त्यहीँ जात्रा

कृष्ण जन्माष्टमीकै दिन जाता निकाल्दा धार्मिक भावना पनि जोडिने र धर्म मान्ने सबैलाई जुटाएर रमाइलो गर्ने मेसो पनि बनेको छ ।
रमेशकुमार पौडेल

चितवन — नारायणगढ बजार माथिको कालोपत्रे खेत,तरुनी, तन्देरीको भेट, घ्याम्पो जत्रो पेट । त्यो खेत रोप्नका लागि हल, गोरु, बाउसे लिएर, घरै घरपिच्छे आउने रे ।आयो भने आयो, आएन भने लगा छ रे दण्ड । 

नारायणढमा रोपाइँ जात्रा मनाउने क्रममा कृष्णको रूपमा सजिएका बालबालिकाहरू । तस्बिर : रमेशकुमार/कान्तिपुर

नेवारी बाजाको तालमा यस्ता पंक्तिहरू दोहर्‍याउँदै शुक्रबार बिहान नारायणगढ बजारमा एक हूल युवाहरू निस्किए । बजारको नारायणी कला मिन्दरमा जमघट भएर दिउँसो रोपाइँ जात्रा निस्कँदै थियो ।

जात्रा निस्कनुअघि जताततै जानकारी दिन उनीहरू बजार डुलेका थिए । जात्राको सूचना फैलाउनुलाई ‘हो पाँचो हो’ भनिन्छ । यसको चाँजोपाँजो मिलाउँदै थिए, ७८ वर्षीय गणेशकुमार विपना । ‘ल आऊ है भनेर सप्पैलाई भन्नुपर्‍यो नि,’ उनले भने । तनहुँ बन्दीपुरमा जन्मेका विपना ६२ वर्षअघि विस २०१४ देखि नारायणगढमा बस्दै आएका छन् ।

‘यो रोपाइँ जात्रा भक्तपुरका नेवार समुदायले निकालेको चलन हो । भक्तपुरबाटै बन्दीपुर पुगेका नेवार समुदायले त्यहाँ पनि यसलाई जारी नै राखेका छन् । बन्दीपुरबाट नेवारहरूको ठूलो समूह चितवन झर्‍यो । ‘त्यसपछि यहाँ पनि यो जात्रा चलिरहेको छ,’ विपनाले सुनाए । भक्तपुरबाट बन्दीपुर गए पनि र बन्दीपुरबाट चितवन पुगे पनि उनीहरू जात्रासँग जोडिएरै रहेका छन् ।

नागपञ्चमीपछि जात्रा र पर्वहरू सुरु हुने गर्छ । नेवार समुदायमा जनै पूर्णिमाको भोलिपल्ट गाईजात्रा, चतुर्दशीमा बाघ जात्रा र कृष्णजन्माष्टमीमा रोपाइँ जात्रा निकाल्ने चलन छ । विपनाका अनुसार विसं. २०१७ देखि चितवनमा रोपाइँ जात्रा हुन थालेको हो । कुनै घरमा कसैको मृत्यु भएको छ भने उसको सम्झानामा घरबाटै गाईजात्रा निस्कने गर्दछन् । रोपाइँ जात्रा पनि घरबाटै निकाल्ने हो ।

कलाकारसमेत रहेका पूर्वशिक्षक तथा नेवार अगुवा ऋद्धिचरण श्रेष्ठ रोपाइँ सकिएपछि रमाइलो गर्न यो जात्रा निस्कने गरेको बताउँछन् । ‘रोपाइँमा कामको चाप हुन्छ । तैपनि रोपाहारा, हली, बाउसेहरू रमाइलो गरेर काम गर्छन् । हिलो छ्याप्ने, हिलोमै धकेला धकेल गर्नेजस्तो रमाइलो जात्रामा अभिनयमार्फत गर्न खोजेको हो । तर जात्रामा कामको दुःख हुँदैन । रमाइलो मात्रै हुन्छ,’ श्रेष्ठले भने । कृष्ण जन्माष्टमीकै दिन जात्रा निकाल्दा धार्मिक भावना पनि जोडिने र धर्म मान्ने सबैलाई जुटाएर रमाइलो गर्ने मेसो मिलाएको उनले बताए ।

तर, रोपाइँ जात्रासँग एउटा जनविश्वास पनि जोडिएको छ । त्यो हो, सन्तानसँग जोडिएको जनविश्वास । ‘जुन घरबाट रोपाइँ जात्रा निस्कियो त्यो घरमा सन्तान हुन्छन् भन्ने मान्यता पनि जोडिएको छ,’ विपनाले भने । तर अहिले यो मान्यताले खासै अर्थ राख्दैन । जात्रा भनेको संस्कृति जोगाउनु हो भन्ने ठान्नेहरू छन् ।

‘जात्राको चाँजोपाँजो धेरै नै मिलाउनुपर्छ । निरञ्तरता दिन गाह्रो छ । ३४/३५ सालतिर त जात्रा नै निस्कन छाड्यो । अनि त्यो बेला उद्योग वाणिज्य संघको पहलमा बैठक बस्यो । ‘लाखे नाँच उद्योग वाणिज्य संघले गर्ने, बाघजात्रा राइनो क्लबले गर्ने र रोपाइँ जात्रा नारायणी कला मिन्दरले गर्ने भन्ने निर्णय भयो,’ विपनाले भने । कला मन्दिरले ५४ सालदेखि प्रत्येक वर्ष रोपाइँ जात्रा निकाल्दै आएको छ ।

‘बन्दीपुरमा साँझ सुरु भएको रोपाइँ जात्रा रातभर चलेर बिहानपख सकिन्थ्यो । तर अहिले जात्रा त्यो स्वरूपमा छैन । बन्दीपुर छाडेर आए पनि संस्कृतिलाई निरञ्तरता दिनुपर्छ भन्ने सोचेका कारण जारी राख्न भने सकेका छौं,’ नारायणगढका रेशमलाल श्रेष्ठले भने । नारायणगढमा लाखे नाच खासै देखिन्न, बाघ जात्रा निकाल्न खर्च र अन्य कुराको सकस रहेको उनले बताए ।

‘आफैंले मात्रै नसके पनि विभिन्न संघसंस्था र व्यक्तिहरूसँग सहयोग जुटाएर रोपाइँ जात्रा भने निरञ्तर हुँदै आएको छ,’ कला मन्दिरका कार्यवहाक अध्यक्ष उद्धव जोशीले भने । जात्रामा बालबालिकाहरू कृष्णको भेषमा आएका हुन्छन् । पाका व्यक्तिहरू रोपाइँ गर्दा जेजति गतिविधि हुन्छ त्यसैको अभिनय गरेर रमितेहरूलाई सकेसम्म हँसाउन खोज्छन् । जात्रा निकाल्दा एकजना कर्ता भने अनिवार्य हुन्छ । जो चोखो रहेर पूजा र जात्राको समापन गर्छन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्