सम्पदा बनाउन पदयात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर ललितपुर उद्योग वाणिज्य संघले पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनर्निर्माणमा सहयोग जुटाउन पदयात्रा गर्ने जनाएको छ । पुनर्निर्माण गर्न सुन लेपनबाहेक ४ करोड ९३ लाख रुपैयाँ लाग्ने आँकलन गरिएको छ । हालसम्म तीन करोड रुपैयाँ जम्मा भइसकेको छ ।

बाँकी रकम जुटाउन असोज ४ गते सम्पदा क्षेत्रको पदयात्रा गर्ने घोषणा भएको हो । भीमसेन नेवार व्यापारीको आराध्य देवता हुन् । संघले मन्दिर पुनर्निर्माण गर्न सिड मनीको रूपमा १० लाख रुपैयाँ राखेर सुरु गरेको थियो ।

पुनर्निर्माणका लागि अहिलेसम्म बिके श्रेष्ठबाट १ करोड रुपैयाँ, ललितपुर महानगरपालिकाबाट १ करोड रुपैयाँ, प्रदेश सरकारबाट ५० लाख र विभिन्न दाताहरूका तर्फबाट ५० लाख रुपैयाँ गरी तीन करोड रुपैयाँ सकलन भइसकेको छ । मन्दिरको छानाको जिम्मा पाटनका कल्याणकृष्ण ताम्राकार, दाँची इँटाको जिम्मा तीर्थलाल महर्जनले लिएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सबैले साथ सहयोग गरेमा समयमै पुनर्निर्माण सम्पन्न गर्न सकिने बताए । ‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नाराका साथ पदयात्रा आयोजना गर्न लागिएका छौं । सबैले साथ दिनेमा विश्वस्त छु,’ उनले भने, ‘सम्पदा पुनर्निर्माण गर्न सरकारको मुख मात्र तोकेर हुँदैन ।’ उनले भीमसेन मन्दिर पुनर्निर्माणले स्थानीयले आफैले आफ्नो सम्पदा पुनर्निर्माण गर्न सक्छ भन्ने दरिलो उदाहरण बन्ने बताए । पत्रयात्राबाट सकलित रहन मन्दिर पुनर्निर्माणमा खर्च गरिने संघले जनाएको छ । पदयात्रामा सहभागी हुने प्रत्येकलाई प्रवेश शुल्क ५ सय रुपैयाँ राखिएको छ । संघले यात्रामा कम्तीमा २ हजार जना सहभागी हुने अनुमान गरेको छ । पदयात्रा पाटन दरबार क्षेत्रबाट सुरु हुने छ । दूरी १९ किमि छ । यात्रामा सहभागीहरूले ग्वार्को, इमाडोल, सानागाउँ लुभू, हरिसिद्धि, धापाखेल, सुनागुठी, बुंमती हुँदै खोकनामा पुगी समापन हुने छ । यसले पर्यटन वर्ष नेपाल भिजिट २०२० लाई समेत प्रचारात्मक अभियानमा टेवा पुर्‍याउने संघले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

हल्लापान लोकतन्त्रको स्वास्थ्यका लागि खतरा

सम्पादकीय

खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा

त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले, यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।

हल्ला फैलिनु/फैलाउनु सायद हरेक समाजको एउटा नकारात्मक चरित्र हो । हाम्रो आफ्नै समाजलाई पनि आधा शताब्दीअघि कवि भूपि शेरचनले माथिको व्यंग्य गरेका थिए । साउती मारेर अफवाह फैलाउने/फैलिने त्यो बेला अहिले बदलिएको छ । उस्तै चरित्र भने विद्युतीय सामाजिक सञ्जालहरूमार्फत झनै उदांगो हुन थालेका छन् ।

फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम नकारात्मक सामग्री ‘सेयर’ गर्न बनेकै होइनन् । यी त उस्तै रुचिका, उही प्रकृतिका, एकअर्कालाई चिनेका वा चिन्न चाहेकाहरू आपसमा जोडिने विद्युतीय मञ्च हुन् । यी मञ्च परम्परागत सञ्चार माध्यम होइनन्, कतिपय अर्थमा तीभन्दा बलिया छन् । कारण, यिनले ती सबै माध्यमलाई आफूमार्फत प्रयोगकर्तामाझ पुर्‍याउँछन् । प्रयोगकर्ता आफैंले पनि मन लागेको सामग्री ‘सेयरकास्ट’ गर्न सक्छन् । परम्परागत सञ्चारमाध्यममा आवाजविहीन हुनेले पनि सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्न सक्छन् । सञ्जालका साथीमाझ आफ्नै आवाज पुर्‍याउन सक्छन् । यस हिसाबले सामाजिक सञ्जाल एउटा सहभागितामूलक लोकतान्त्रिक थलो हो ।

यी सामाजिक सञ्जालमार्फत कैयौं सकारात्मक अभ्यास भएका छन् । प्रयोगकर्ताले आफ्नो धारणा र सिधा खबर मात्र यसमा राखेका छैनन्, कति सामाजिक काम भएका छन् । कैयौं प्रयोगकर्ताले समूह नै बनाएर विपद्का घटनामा उद्धार तथा राहत अभियान चलाउने गरेका छन् । विश्वभर यस्ता अभियान प्रभावकारी पनि देखिएका छन् । अस्पतालमा रगत जुटाउनेदेखि दीनदु:खीहरूका लागि सहयोग जुटाउनेसम्मका सामाजिक काम पनि भएका छन् । अधिकार र न्यायका अभियान पनि यसैमार्फत छेडिएका छन् । अरब क्रान्तिजस्ता राजनीतिक उलटपुलट ल्याउन पनि यिनै शक्ति प्रयोग भएका छन् ।

सकारात्मक विशेषताबीच कतै यी सञ्जालको सदुपयोगको प्रकाशभन्दा दुरुपयोगको छाया बढी गाढा हुँदै गएको त होइन भन्ने आजको ज्वलन्त सवाल हो । कताकता सामाजिक सञ्जालको जञ्जालमा हाम्रो समाज पनि फस्दै गएको टड्कारै देखिन थालेपछि यो प्रश्न अहम् बनेको हो । नेपालमा करिब ६० प्रतिशत जनसंख्याको इन्टरनेटमा पहुँच छ । एक तिहाइ जनता फेसबुकमा आबद्ध छन् । अन्य सञ्जालमा जोडिनेको संख्या पनि दिनानु दिन बढ्दो छ । तर, जति बढी नागरिक यी मञ्चमा आबद्ध छन्, यिनको पार्श्व प्रभावको भय पनि त्यत्तिकै छ ।

दृष्टान्त सामुन्ने छ– चितवनको नारायणगढस्थित एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका शालिकराम पुडासैनीको मोबाइलमा प्रहरीले फेला पारेको भिडियो सामाजिक सञ्जाल र युट्युबमा व्याप्त छ । यही घटना जोडिएको एउटा तस्बिर त्यसरी नै भाइरल छ । पुडासैनीको मृत्युअघिको भिडियोबाट स्क्रिनसर्ट लिइएको फोटोमा उनको आँखाको नानीमा कुनै मान्छेको प्रतिछाया छ । त्यसैलाई आधार बनाएर युट्युबमा दर्जनौं भिडियो अपलोड भएका छन् । सयौंले त्यही तस्बिर पोस्ट गर्दै मृत्यु प्रकरण र सञ्चारकर्मी रवि लामिछाने पक्राउबारे आ–आफ्ना धारणा, दाबी र विरोध पोस्ट गरेका छन् । अदालतमा मुद्दा चलिरहेको यस घटनामा यसै तस्बिरलाई अन्तिम सत्य मानेर सडकमा भीड जम्मा भएका छन् । जबकि, कुनै व्यक्तिले फोटोसपका माध्यमबाट कसैको तस्बिर मृतक पत्रकारको आँखाको नानीमा राखेको थियो । विभिन्न घटनामा सामान्य मानिस आफैं अनुसन्धानकर्मी बन्छ र सत्य पहिल्याएजस्तो गर्छ भनेर व्यंग्य गर्न यसो गरिएको थियो । सञ्जालको ठूलो भीडले यसैलाई अन्तिम सत्य मानिदियो ।

सञ्जालमा लामिछानेको समर्थन मात्रै छैन, उनको पक्राउप्रति आक्रोश, पुडासैनीको आत्महत्याबारे अनेक आशंका र अफवाह पनि छन् । यिनले फरक मत राखेकै आधारमा अश्लील गाली गर्ने र मृत्युको कामना गर्दै ‘रिप’ लेख्नेसमेत गरेका छन् । सामाजिक सञ्जाल र युट्युबमा यस्ता हल्ला, अफवाह र अनेकन उत्तेजक टिप्पणीको बाढी कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको प्रकरणमा पनि उत्तिकै थियो ।

सत्यसम्म पुग्नुपहिल्यै उत्तेजनाको पछि बहने भीड निर्माण गर्न यस्ता सञ्जालले सघाइरहेका छन् । यस घटनामा पनि केहीले उक्त तस्बिर वास्तविक नरहेको लेखे पनि केहीले मात्रै सेयर गरे । तर अतिरञ्जित तस्बिर भाइरल बन्यो । ‘पोस्ट ट्रुथ’ को यस जमानामा सामाजिक सञ्जालमार्फत यसैगरी सजिलै असत्य फैलिइरहेको छ । भीडतन्त्र हाबी भइरहेको छ ।

जतिसुकै अवास्तविक र अतिरञ्जित भए पनि लोकउत्तेजित पाराले प्रस्तुत गरिएका सामग्री सजिलै भाइरल भइरहेका छन् । तिनलाई लाखौंले हेर्छन्, सयौंले सेयर र कमेन्ट गर्छन् । ‘यो हल्लै हल्लाको देश’ मा यसैगरी अफवाह सहजै फैलिरहेको छ । भीडको एक्लो बन्न चाहने कमै छन् । उनीहरू चुपचाप बसिदिन्छन् । बोलिहाले पनि उनीहरू कमै सुनिन्छन् ।

कुनै मुद्दामा कसैप्रति घृणा र आक्रोश फैलाउने, लाञ्छना र आरोप/प्रत्यारोप लगाउने माध्यम बनेका छन्– सामाजिक सञ्जाल । परम्परागत सञ्चार माध्यम ‘रेटिङ पोइन्ट’ बढाउने प्रतिस्पर्धारत भएका बखत बग्रेल्ती खुलेका युट्युब च्यानलले मनलाग्दी सामग्री सेयर हुनु कुनै नौलो रहेन । हरेक ‘भ्युज’ को रेकर्ड देखिने यस्ता च्यानलले आफ्ना सामग्रीलाई सनसनीपूर्ण बनाउने नै भए । परम्परागत सञ्चार माध्यमका विपरीत अधिकांश यस्ता च्यानल न संगठित संस्था हुन्, न यिनीहरू व्यावसायिक आचारमै बाँधिएका हुन्छन् । हरेक नागरिकले सहजै प्रयोग गर्न सक्ने यस्ता मञ्चबारे न व्यवस्थित नियमन प्रणाली नै छ । परिणाम, कैयौंले सञ्जालको शक्ति र आफ्नो स्वतन्त्रताको भरपुर दुरुपयोग गरिरहेका छन् ।

कतिपय अवस्थामा अनधिकृत र अवास्तविक मात्र होइन, भ्रामक सूचनालाई नै सामाजिक सञ्चाल प्रयोगकर्ताले अन्तिम सत्य मानिरहेका छन् । खासगरी विभिन्न निर्वाचनका छेकोमा यस्ता दुष्प्रचार हुने गरेका छन् । अमेरिकालगायत मुलुकमा व्यापक रहेको यस्तो प्रवृत्तिले छिमेकी मुलुक भारतमा पनि जरा गाडिसकेको छ । नेपालमा पनि बिस्तारै झाँगिँदै गएको देखिन्छ ।

प्रकारान्तरले लोकतन्त्रकै लागि घातक छ, यस्तो प्रवाह । सही रूपमा सुसूचित नागरिकले मात्र उचित निर्णय लिन सक्छ । सामाजिक सञ्जालका कतिपय सामग्रीले नागरिकलाई सुसूचित बनाइरहेका छैनन्, भ्रमित तुल्याइरहेका छन् । उनीहरूले आफू भ्रमित भएको थाहा पाउँदैनन्, उल्टो जानकार बनेको विश्वास गर्छन् ।

कुनै घटना हुनेबित्तिकै आफैं अनुसन्धानकर्मी भएझैं तथ्यभन्दा धेरै भ्रामक खबर, अनुमान र अफवाह फैलाउने प्रवृत्तिले सत्य अन्वेषण र न्याय निरूपणमा सहभागी हुनुपर्ने निकायलाई पनि प्रभावित तुल्याउने खतरा बढ्दै गएको छ । यस्तो प्रवृत्ति अहिलेसम्म मुद्दा र घटनामा मात्रै सीमित छन् । भविष्यमा धार्मिक, साम्प्रदायिक/जातीय या राजनीतिक विषयमा पनि दोहोरियो भने त्यसको परिणाम भयावह हुनेछ ।

सामाजिक सञ्जालबाट चाहेको लाभ मात्र लिने र दुष्प्रभावबाट बच्ने भरपर्दो उपाय प्रयोगकर्ताको सावधानी हो । आम उपभोक्ताको चेतना वृद्धि हो । विभिन्न सञ्जालले विकास गरेका विधि अपनाएर आफूले उपभोग गरेको सूचना कति विश्वस्त स्रोतबाट आएको हो, जागरुक उपभोक्ताले थाहा पाउन सक्छन् । त्यहीअनुसार आफ्नो धारणा बनाउन सक्छन्, नत्र जे आयो, त्यही पत्याउँछन् ।

समाज जति सभ्य, आधुनिक र प्रविधिमैत्री बन्दै गयो, त्यति यसलाई सामाजिक सञ्जालका पार्श्व प्रभावबाट जोगाउने चुनौती छ । सामाजिक सञ्जालका गुण र अवगुणबारे साक्षरता र सचेतना जरुरी छ, लोकजागरण नै चाहिनेछ ।

प्रकाशित : भाद्र ४, २०७६ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्