नरसिंहले घुमे पाटन

‘धार्मिक मान्यताअनुसार नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रुपमा दुई पुतली बाँध्ने गरिन्छ । यसले पाटनबासीलाई भयमुक्त भएको सन्देश दिन्छ ।’
प्रशान्त माली

काठमाडौँ — ललितपुरको पाटन सहर बसाल्दाको समय मघा नक्षेत्रमा पर्‍यो । यो २७ मध्ये एक नराम्रो नक्षेत्र मानिन्छ । यसमा सूर्य सिंह राशिमा आउँछ । उपाकर्म गुठी पाटनका अनुसार स्वामी केतु क्षेत्रमा जन्मेहुर्केकालाई महादशा निम्त्याउँछ । र, त्यतिबेला दशाबाट बचाउन पाटनमा श्रीधर नारायणको जात्रा सुरु गरे । पछि सिद्धिनरसिंह मल्लले जात्रालाई थप व्यवस्थित गरे । त्यही नरसिंह जात्रा यतिबेला जारी छ । 

नरसिंहले घुमे पाटन

पाटन कोर क्षेत्रभित्रका मंगलबजार, अग्निशाला, पूर्णचण्डी गरेर ५ टोलमा ६ कुल (कवल) का नेवार ब्रहृमाण बस्दछन् । मन्दी छेँ कवल, बकनिम्ह, स्वनिम्ह, वला, तधलिबी, नुंग कवल छन् । यसलाई ‘षड्कुल’ भनिन्छ । संस्कृतमा षड्को ६ र कुलको अर्थ समुदाय हो । ६ वटै कुलका व्यक्ति सम्मिलित गुठी उपाकर्म हो । नरसिंह जात्रा सञ्चालन गर्ने गुठी यही हो । गुठीमा २ सय जना सदस्य छन् । प्रत्येक वर्ष गुठियारमध्ये पालो थाप्न बाँकी भएकामध्येबाट ज्येष्ठले थाप्छ । यस वर्ष स्वनिम्ह कवलका ७९ वर्षीय हेरम्बराज राजोपाध्यायको पालो छ । जात्रासम्बन्धी जानकार उपाकर्म गुठियार प्रमोद शर्मा भन्छन्, ‘जात्राको निमन्त्रणा स्वरूप गुरुपूर्णिमामा सिद्धिनरसिंह मल्लले ध्यान गर्दा बस्ने पाटन दरबार क्षेत्रस्थित सुन्दरी चोकको फराकिलो ढुंगामा फूल र फलफूल चढाउन जाने चलन यद्यपि छ ।’ उनका अनुसार चोकमा स्वस्तिवाचन गर्ने पनि परम्परा छ । उपाकर्म गुठीका थकालीमा ८७ वर्षीय गोपालराज शर्मा, दोस्रो थकालीमा ८५ वर्षीय हेरम्बानन्द शर्मा, अग्निशाला अग्निहोत्री (प्रमुख) विष्णु मोहनधर शर्मा र तलेजुका मूल पुजारी अनन्तज्वालानन्द राजोपाध्याय छन् । ‘जात्राको तयारी स्वरूप यी चार जना थकालीलाई पनि फूल र फलफूल चढाउन जानुपर्ने परम्परा छ,’ उनले भने, ‘गुठीमा महिलाले सदस्य पाउँदैन । पुरुष पनि व्रतबन्ध गरेकै हुनुपर्छ ।’


जात्रामा ताज, शिरबिन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रूपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा थिए । उनीहरूले नरसिंह हिँड्ने बाटो सफा गर्ने भूमिका खेलेका थिए । लगत्तै अर्का दुई/दुई बालिकाले गाईको दूध दुबो र लावा अबिर छर्किएर बाटोलाई चोखो बनाइरहेका थिए । त्यसपछि राजदण्ड समाएर दुई बालिका अगाडि बढेका थिए । उनीहरू प्रत्येक दुई/दुई जनालाई झल्लरवाला छत्रले ओढाइको थियो । यात्रामा खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा घाँटीमा ताय: माला शिरमा मुकुट लगाएका नरसिंहको भेषमा एक पुरुष थिए ।


परम्पराअनुसार जात्रामा पालोवालाको ज्वाइँ, भान्जा र पुरोहितमध्ये एक जना नरसिंह बनेर प्राचीन नगरीमा साया: रुटमा परिक्रमा गराउने चलन छ । यसपालि पालो पर्ने हेरम्बराजका ज्वाइँ महेशबाबु शर्माले नरसिंहको भूमिका खेलेका छन् । यात्रामा स्त्री (शक्ति) सरस्वतीको भेषमा अनिरुद्र शर्मा र लक्ष्मीको भेषमा प्रश्रित शर्मा नरसिंहको दायाँबायाँ बसेका थिए । भक्त प्रहृलादको पालो थाप्ने घरकै हुनुपर्ने चलन छ । यसपटक हेरम्बका नाति अपूर्व राजोपाध्याले प्रहृलादको भूमिका खेले ।


कुम्भेश्वरका पुजारी माधवश्याम शर्मा भन्छन्, ‘यात्रामा धार्मिक मान्यताअनुसार नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रूपमा दुई पुतली बाँध्ने गरिन्छ । यसले पाटनबासीलाई भयमुक्त भएको सन्देश दिन दैत्यको प्रतीकको रूपमा राख्ने गरेको छ ।’ नरसिंह विष्णु भगवान्का दसमध्ये चौथो अवतार हो । जात्राका लागि राजोपाध्याय गुरुहरूले चुतर्थी पूजा गरेका थिए । यात्रा पाटन स्वनिमो पिम्बहालबाट सुरु भएर क्वाल्खु–कुम्भेश्वर–कोबहाल–मंगलबजार–हखा:– सौगोल–सुन्धारा–ओकुबहाल– टंगल– हौगल– तिछुगल्ली–इखालखु–पूर्णर्चण्डी–गाबहाल हुँदै पुन: पिम्बहालमा पुगेका थिए । नरसिंह जात्रालाई नेवारीमा उपाकुलं साया: भनिन्छ । यात्रामा धिमे बाजा, नायखि, धा: बाजा, भजनसँगै तन्त्रमन्त्र गर्ने झाँक्री र लाखे सहभागी थिए । उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल सम्वत् ८६९ अर्थात् विसं १८०६ देखि जात्रा सुरु भएको अभिलेख पाइन्छ । जात्रामा भक्तपुरबाट धिमेबाजासहित सहभागी भए ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?