भूत भगाउन रातभर नाच

चार दिनयता मध्यपुर थिमिमा रातभर भैरव, नीलबाराही र महाकाली देवगण (देवीदेवता) को रूप धारण गरी संस्कृति बचाउन बालकदेखि युवाहरू तल्लीन छन्
कान्तिपुर संवाददाता

भक्तपुर — मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिसाच, डाकिनीलगायत दानवरूपी आत्माले साह्रै दुःख कष्ट दिन थाले । किसानहरू खेतमा जान नसक्ने भए । व्यापारीहरू सामान खरिद गर्न अन्य सहर जान नसक्ने भए । राज्यमा ठूलो आतंक मच्चियो ।

भक्तपुरको मध्यपुर थिमि नगरदेशस्थित राति महाकाली नाच प्रस्तुत गर्दै महाकाली देवगण । तस्बिर : कान्तिपुर 

जताततै हाहाकार मच्चिन थालेपछि तत्कालीन दरबारमा सभा बस्यो र यसको समाधानको उपाय खोज्न थालियो । यसै क्रममा त्यसबेलाका नामुद शास्त्रज्ञ, तान्त्रिक र विद्वान् गुरुहरूले तान्त्रिक विधिद्वारा मानिसमा विभिन्न देवीदेवताहरू जगाएर रातभर नचाउन सुरु गरी भूतप्रेत, पिसाच, डाकिनीलगायत प्रेतात्माहरू भागाउने जुक्ति निकाले ।

सोही कथनअनुसार गाईजात्राको भोलिपल्टदेखि चार रात अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मध्यपुर थिमि क्षेत्रको थिमिमा लायू भैरव, बोडेमा नीलबाराही र नगदेशमा महाकाली नाचको विकास भएको किम्वदन्ती रहेको छ । चार दिनयता मध्यपुर थिमिमा रातभर भैरव, नीलबाराही र महाकाली देवगण (देवीदेवता) को रूप धारण गरी संस्कृति बचाउन बालकदेखि युवाहरू तल्लीन छन् ।

थिमिको भैरव नाच
मध्यपुर थिमि लायुस्थित लायु भैलः नाच प्रदर्शन भइरहेको छ । करिब साढे चार दशक रोकिएर २०७२ देखि पुनः सञ्चालनमा आएको थिमिको लायू भैल प्याँखा ज्यापुँगः एक, न्हापा र लिपाँ गरी दुई भैरव र न्हापाँ र लिपाँ दाँगी अर्थात् कुमारी दुई गरी पाँच देवीदेवताले शास्त्रीय र तान्त्रिक विधिद्वारा विभिन्न मुद्रामा नाच प्रस्तुत गर्दै आएका छन् । यस वर्षको लायू भैलमा १४ वर्षीय सोहन श्रेष्ठ ज्यापुँगः, विनोद श्रेष्ठ न्हापाँ भैल, साजन श्रेष्ठ लिपाँ भैलः, सज्जन श्रेष्ठ न्हापाँ दाँगी र सोनिस श्रेष्ठ लिपाँ दाँगीको रूपमा रहेका छन् ।

भैलः प्याँखमा भैरवले खड्ग र दाँगीले डमरु लिएर नाच्छन् भने ज्यापुँगःले कपासको बियाँ, अक्षता र ताय् (लावा) भएको भाँडा हातमा लिएर नाच्छन् । ज्यापुँगःले भैरव र दाँगी नाच्दा नाच्दै क्रोधित भएर काम्ने बेला कपासको बियाँले हानेर शान्त पार्ने काम गर्दछन् । भैलः प्याखःमा पाँच जना देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी करिब तीन सय जनाको समूह अहोरात्र खटिनुपर्ने लायू भैलः सञ्चालन समितिका संयोजक अर्जुन श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार भैलः प्याखः प्रदर्शनका क्रममा १२ वटा दागः ९ काठ र छालाबाट बनेको विशेष बाजा, आठ जोर भुस्याय् बाजा, आठ जनाले पोङ्गा बाजा र चार जनाले मुहाली (सनई) बाजा बजाउनुपर्छ । नाच निस्केदेखि विश्राम नभएसम्म रातभर बाजा निरन्तर बजाउनुपर्दछ । त्यसका लागि आलोपालो बाजा बजाउनेहरू तयारी अवस्थामा राख्नु पर्दछ ।

‘बाजा बजाउने वाद्यवादकहरू मात्रै एक सय ५० जनाको हाराहारीमा छन,’ उनले भने, ‘पाँच जना देवीदेवताले ८/८ जना ज्वकुलु (सहयोगी) नियुक्त गर्दछन् ।’ थिमिको लायूमा प्रशिक्षण गरिएको भैलः प्याँख प्रदर्शनका क्रममा बालकुमारी, दथुटोल, लायू, ईनायटोल, दिगुटोल, चपाचो, गुँगचिवा र भुँलाखेलमा प्रदर्शन गरेपछि लायू दरबारमा पुगेर विसर्जन हुन्छ । यो क्रम निरन्तर चाररातसम्म चल्ने संयोजक श्रेष्ठले बताए ।

बोडेमा नीलबाराही
ऐतिहासिक नीलबाराही नाच चार दिन चार रात बोडेको विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । नीलबराही नाच बोडेको नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ ।

नाचमा धाँ बाजा, भुस्याय्, काँय, पोगाँ बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरू नाच्ने गुठी नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठ बताउँछन् । नीलबाराही नाचको देवगणमा भैरव, बाराही ४, कुमारी ४, सिहं ४, द्वारपाल २ र गणेश ४ गरी १९ जनाको समूह हुन्छ । देवगणका ज्वकुलु (सहयोगी) र वाद्यवाधक गरी एक सय जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुने श्रेष्ठले बताए । नीलबाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो ।

यसमा कठिन विधिविधान रहेको श्रेष्ठले बताए । नीलबाराही नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नका लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओत लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तिर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४/१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ ।

नीलबाराही नाचमा एकपटक देवता बनेपछि मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको समेत उनले बताए । देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएमा उसको मुखुण्डो देवघरमा राखेर पूजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ । नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्ने यकिन प्रमाण नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको स्थानीय बताउँछन् ।

अर्को तथ्यअनुसार सुवर्ण मल्लको पालामा नेपाल मण्डल र काठमाडौं उपत्यकामा मुखुण्डो नाचको प्रचलन सुरु भएको र सोही बेलादेखि बोडेमा नीलबाराही नाच सुरु भएको मानिन्छ । नीलबाराही नाचबारे प्रचलित किम्वदन्तीअनुसार नीलबाराही देवी मानिसको रूपमा बोडे सहर आएर स्थानीय धों जातका एक मानिसलाई नीलबाराही जंगलमा चार दिनसम्म राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएअनुसार नाच सुरु भएको जनविश्वास छ ।

नीलबाराही स्वयं मनुष्यको रूप धारण गरी सिकाएको विश्वास रहेको नाचका लागि आवश्यक सामान र बाजागाजासमेत देवी स्वयंले नै बनाएर पठाएको विश्वास छ । यसको प्रमाणको रूपमा भैरवले लगाउने तामाको माला रहेको छ, जुन माला त्यही धों भन्ने व्यक्तिको घरमा गएर लिन जानुपर्ने र नाच सकेपछि पुर्‍याउन जानुपर्ने प्रचलन छ ।

नगदेशको महाकाली
मध्यपुर थिमिको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छन् । नगदेशमा अनिस वैद्य महाकाली, सुशान घजू महालक्ष्मी, सञ्जय तको कुमारी, राजु वैद्य सिंह, रोहन श्रेष्ठ, रोजिन सलाजु, सविन वैद्य र मञ्जिल बाडे बेटा, रोहन सलाल र राजु कौरी भूत भैरव, स्वर्णिम अवाल र रिदेश तको कवाा, निरज बाडे र आशिष कोजू ख्या, क्षितिज बाडे र सुजल मन्तिसिर माक, अनुस बाडे महिसाशुर र बाबुराम दुवाल मयूरको भेषमा नाच्दै छन् ।

महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता चार, भूत भैरव दुई, कवां दुई, ख्याक दुई, माकः (बाँदर) दुई, म्हृयखा एक र महिसाशुर दैत्य एक गरी १८ देवगण समूह हुने नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजूले बताए । वाद्यवादन समूहसमेत गरी ५० भन्दा बढी कलाकारहरूको सक्रिय सहभागिता रहने महाकाली नाच दैनिक करिब चार घण्टाका दरले नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजू बताउँछन् ।

त्यस्तै, महाकाली नाच बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसिमा पनि प्रदर्शन गरिन्छ । दस ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने गुरु घजूले बताए ।

नाचका गुरु घजूका अनुसार मुहाली बाजा, नायखिा, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा उक्त नाच प्रस्तुत गरिन्छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शनी हुने छ ।

नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रहृमताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मुहाली, ताः, बौ, धाँ, भुस्याय्, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ । महाकाली नाच नगदेशको विभिन्न भाग र आमन्त्रण भएबमोजिम मध्यपुर थिमिका अन्य भागमा समेत प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

पोखरीमा पार्किङकै पक्षमा प्रशासन

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वोच्च अदालत र तत्कालीन नगर पञ्चायतले गरेको निर्णय बेवास्ता गर्दै अर्को विवादास्पद निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको नेतृत्वमा सोमबार बसेको बैठकले विवादित विषय पुल्चोक नःटोलस्थित पले स्वाँ पूखु (कमलपोखरी) मा पार्किङ सञ्चालन गर्न दिने निर्णय गरेको हो । सर्वोच्च अदालतले २०२९ र तत्कालीन नगर पञ्चायतले २०२६ मा पोखरी नै कायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला पाटन क्वाल्खु टोलका कीर्तिब्रम्हानन्दजोशीले घर बनाउन खोजेका थिए ।

स्थानीयले भने एकलौटी ढंगबाट निर्णय भएको भन्दै आपत्ति जनाएका छन् । बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ज्यापू समाजका अध्यक्ष एवं पूर्वसांसद चन्द्र महर्जन, नःत्वाः पले स्वाँ पुखू संरक्षण समिति अध्यक्ष बाबुराजा महर्जनलगायत उपस्थित थिए । स्थानीयले बैठकको उपस्थितमा हस्ताक्षर गरे पनि निर्णयमा भने गरेनन् । पूखु संरक्षण समिति अध्यक्ष महर्जन भन्छन्, ‘मंगलबारबाट पार्किङ सञ्चालन गर्ने भनेका छन् । तर, हामी स्थानीयसँग छलफल गरेर मात्र निर्णय दिन्छौं भनेर मानेका छैनौँ । जबरजस्ती गरेमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने छौं ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी जोशी भन्छन्, ‘एउटा पोखरी बनाउनुपर्ने अर्को पार्किङ सञ्चालन गर्नुपर्ने पक्षमा छन् । दुवै पक्षबीच झडप सिर्जना हुने देखियो । द्वन्द्व नहोस् भनेर साम्य पार्न निर्णय गरेका हौं ।’

उनले निर्णय गरेर सुझाव मात्र दिएको बताए । ‘पार्किङ सञ्चालन गर्न दिने निर्णय त नगरपालिकाले गरेको हो,’ उनले भने । महानगरका प्रवक्ता राजु महर्जन भने सम्पर्कमा आउन चाहेनन् । सम्पदा बचाउन नःटोलबासी एकजुट भएका छन् । उनीहरूले पोखरीमा पार्किङ सञ्चालन गर्न आएका टोलीलाई आइतबार नाराबाजी गरेर फिर्ता पठाएका छन् ।

पोखरीमा पार्किङ सञ्चालन गर्न ललितपुर महानगर मेयर महर्जन, उपमेयर गीता सत्याल, प्रवक्ता महर्जन, कर्मचारी र प्रहरी दलबलसहित आएका थिए । दिउँसो टोलमा मानिस कम भएको मौका छोपेर आएका उनीहरूले पोखरीको प्रवेश गेटमा लगाएको ताला फोरेर भित्र पसेका थिए ।

लगतै एक जनाले टोलमा आपत्विपत् आउँदा बजाउने साइरन बजाएपछि सबै आएर विरोध जनाए । मेयर महर्जनविरुद्ध नाराबाजी गरे । पोखरी परिसरबाट बाहिर निकाले । र प्रहरी पुनः गेटमा ताला लगाउन बाध्य बनेका थिए । ताला फोर्दा ज्यापू समाजका अध्यक्ष एवं पूर्वसांसद चन्द्र महर्जन, समाजका पूर्वअध्यक्ष प्रेमकृष्ण महर्जन पनि उपस्थित थिए । ज्यापु समाज यलका अध्यक्ष महर्जन भन्छन्, ‘सर्वोच्च र नगर पञ्चायतको निर्णयबारेमा थाहा छैन । बैठकमा स्थानीयले मौखिक मात्र जानकारी गराए । पेस गरेको भए त्यहीअनुसार लाग्नु त छँदै छ ।’

पार्किङको ठेक्का रद्द र गैरकानुनी रूपमा काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गरेको उजुरीको समेत बेवास्ता गरेको छ । दर्ता गरेको पत्रमा स्थानीय प्रशासन ऐन २०२८ का दफा ९, प्रमुख जिल्ला अधिकारीको अन्य काम, कर्तव्य र अधिकारको उपदफा ६ पोखरी संरक्षण र सम्वर्द्धन गर्ने कानुनी दायित्व प्रमुख जिल्ला अधिकारीसमेतलाई तोकेको र गैरकानुनी काम तत्काल रोक्न अनुरोध गरेका थिए ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्