कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाईजात्रामा सापारु गीत

नेवार समुदायमा दिवंगत भएकाहरूको मोक्षको कामना गर्दै आफन्तले सापारु गाए । गीतमा नेवारी, संस्कृत, मैथली, हिन्दी र पर्वते भाषा मिसिएका छन् ।
प्रशान्त माली

काठमाडौँ — उपत्यकाका तीनै जिल्लामा दिवंगत भएकाहरूको मोक्षको कामना गर्दै आफन्तले सापारु (गाईजात्रा गाइने गीत) गाएर नगर परिक्रममा गरे । नेवारहरूको ऋतुअनुसार चाड पर्व मनाउँदा फरकफरक गीत गाउने चलन छ ।

गाईजात्रामा सापारु गीत

सापारु गाउने छुट्टै खलक हुन्छन् । गीत गाएमा वर्षभरि बन्द रहने यमलोकको ढोका खुल्ला हुने र मृतआत्मले प्रवेश पाई मुक्त मिल्ने जनविश्वास छ ।


‘अजम्बर अजम्बर जी.. अजम्बर

चन्द्रसूर्य जी.. अजम्बर धरा तीरे माता जी

कर लेखा बन मेरे राजा जी ।।

जोगी या जोला उन राजा जी ।।

कान चीरी देउ मेरे गुरु बा बा जी (२)

गुरु मेरा जागन्द्र जी बिनाती हमारे

सुनी लेउ जी मेरे माता कुन्द्र र सन

करी आउला जी (३)’


यो साःयाः (गाईजात्रा) गीत एक हरफ हो । गीतमा नेवारी, संस्कृत, मैथली, हिन्दी र पर्वती भाषा मिसिएका छन् । गोदावरी नगरपालिका १२ थेच्वमा यो गीत गाउने माली गाः दाफा खलः (भजन समूह), न्हुछेँ, न्ह्यछेँ र सिखछेँ दाफा खलः छन् । ‘यो देवताको गीत हो । कुन देवताको भन्ने थाहा छैन,’ सिखछेँ दाफा खलक ६२ वर्षीय हेरा गोविन्द महर्जन भन्छन्, ‘गाउने चलन पुस्तौंदेखि हस्तान्तरण हुँदै आइरहेको छ ।’


गीत गाएमा मृतकको आत्माले शान्ति मिल्नेमा उनको विश्वास छ । उनका अनुसार कतिपय गीत सत्य युगमा बुबा मर्दा छोराले यमराजलाई खुसी पार्न गरिएका कठोर कर्म, कतिपय राजाले बुबाको मुक्तिका लागि कछपाल पर्वतमा गरेको ध्यान, लोकेश्वरलाई अन्न दान दिएको बारेमा वर्णन गरिएको छ । जोगीको भेषमा गीत गाउँदै आउनेले भने मृतकको जन्म/मृत्यु, उनका परिवारको नाम र उनलाई बचाउन परिवारले गरेका कर्मको बारेमा वर्णन छ ।


अन्तमा गणेश, ब्रहृमायणी, बालकुमारी, नवदुर्गा भवानी दर्शन गरी बैकुण्ठबासमा गएको कुरा उल्लेख छ । गीतमा पुरुषले मात्र भाग लिन्छन् । ‘महिलाको मृत्यु भएमा दुई जना दौरासुरुवाल लगाएर हाकुपटासी, सेतो जनै र पटुवा बेरेर भुइँमा लतारी गीत गाउँदै अगाडि बढ्छन्,’ महर्जनले भने, ‘पुरुषको मृत्यु भएमा २/२ जोरी कास (पहिलाको कट्टु) र पटुका भुइँमा लतार्ने चलन छ ।’


सिखछेँ दाफा खलक ७१ वर्षीय राम महर्जन भन्छन्, ‘गीत गाउन जाँदा मृतकको परिवारसँग शुल्क लिन मिल्दैन । यो निःशुल्क गर्ने सेवा हो । ४० वर्षदेखि गाउँदै आएको छु ।’ उनले गीत विस्तारै गाएमा एक दुई वटा वाक्यको अर्थ पत्ता लगाउन सकिने बताए । ‘यो भजन गाउनुभन्दा १० गुण गाह्रो छ,×’ उनले भने । शुक्रबार ललितपुरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर अगाडि गाईजात्रामा सहभागी हुने सबै भेला भएका थिए ।


त्यहाँबाट एकैपल्ट नगर परिक्रमा गरेका थिए । नगर परिक्रममा गराउनुअघि एकजनालाई कृष्ण तथा अरू दुई जनालाई रुक्मिणी र सत्यभामाको भेषमा रूप धारण गराई कृष्ण मन्दिरको सामुन्ने राखेर पूजा गरियो । त्यसपछि सत्यभामा र रुक्मिणीको बीचमा रहेका कृष्णको अगाडि बलरामको रूप धारण गरेका बालकले बलेको धूप समाई कृष्णतर्फ फर्कंदै नमस्कार गरेको मुद्रामा छत्रले ओढाएर नगर परिक्रमा गराएका थिए ।


मृतकका नाममा बालकलाई एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी, चोलो र जामा लगाउन दिई पटुकाको टुप्पो भुइँमा लतार्न लगाई गाई बनाएर नगर परिक्रमा गराइयो । स्वर्ग लोकमा पुग्न अन्तिम वैतर्णी नदी पार गर्नुपर्छ । गाईको पुच्छर समाएर गएमा सजिलै पार लागिन्छ भन्ने धार्मिक मान्यता छ ।


कसैकसैले बालकलाई जोगीको भेष धारण गराएर छत्र ओढाई बाजागाजासाथ नगर परिक्रमा गराएका थिए । कीर्तिपुरको पाँगामा भने देवताको मुकुट लगाएर नगर परिक्रममा गराएर विषेश रूपमा जात्रा मनाएका छन् ।


राजा प्रताप मल्लभन्दा पहिले १४ औं शताब्दीका राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा नै ‘सा याः (गाईयात्रा)’ भन्ने उल्लेख भएको पाइन्छ । यसले गाईजात्रा प्रताप मल्लभन्दा अघि नै सञ्चालन भएको जनविश्वास छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?