१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आलीमा बसेर भ्यागुतालाई क्वाँटी

नेवार समुदायले जनैपूर्णिमा देखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउन सुरु गरेका छन्
प्रशान्त माली

काठमाडौँ — गुन्हु पुन्ही अथवा क्वाँटी पुन्ही । यो ऋतुअनुसार नेवार समुदायले मनाउने विभिन्न पर्वमध्ये साउन शुक्लपूर्णिमामा मनाइने ठूलो चाड हो ।

आलीमा बसेर भ्यागुतालाई क्वाँटी

यस दिन मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाने चलन छ । उपत्यकाका काठ क्षेत्रका किसान धान खेतमा पुगेर भ्यागुताको पूजा गरी सिमीको पातमा क्वाँटी राखेर खुवाएका छन् ।


सहरी क्षेत्रमा बस्ने नेवारीहरूको धान खेत कमै छ । पाटन बुःबहालका राजेश बज्राचार्य भने भ्यागुतालाई कृतज्ञता ज्ञापन गर्न इमाडोल पुगेर भात खुवाएका छन् । उनी भन्छन्, ‘भ्यागुताले वर्षा गर्न सहयोग गर्छ । परिवारमा यस वर्ष भात खुवाउन जाने सल्लाह भयो । त्यहीअनुसार इमाडोलमा पुगेका हौं ।’


हिन्दु धर्मावलम्बीले ब्राहृमाण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर जनैपूर्णिमा मनाएका छन् । बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरिएको थियो । रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ ।


तागाधारीले पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउने गर्छन् । यसै दिन गोसाइँकुण्ड, साँखुको मणिचूड दह र ललितपुर पाटनस्थित कुम्भेश्वरमा ठूलो मेला लाग्यो । मेलामा भक्तजनको दर्शनका लागि बिहीबार कुम्भेश्वर मन्दिरबाट पञ्चमुखी महादेवको मूर्तिलाई मन्दिर परिसरको जलाशय (पोखरी) बीचमा बनाइएको कलात्मक खटमा राखिएको थियो ।


कुम्भेश्वर मन्दिरका पुजारी माधव शर्मा भन्छन्, ‘जनपूर्णिमा मेला कुम्भेश्वसरमा किरातकालदेखि मनाउँदै आएको हो । प्राचीनकालमा कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थमा गोसाइँकुण्ड जान नसकेकाहरूले त्यहाँ स्नान गरेर कुम्भेश्वर महादेवको पूजाअर्चना गर्दछन् ।’


उनीजस्तै वर्ष दिनमा भएका जुठो, गृहदशा चोख्याउन, देवीदेवता खुसी पार्न र तन्त्रविद्या आफ्नो बसमा पार्न कुम्भेश्वरमा मेला भर्न आउनेको भीड लागेको थियो । प्रा.सुवर्ण शाक्य भन्छन्, ‘भ्यागुतालाई भात खुवाउने पर्वलाई नेपाल भाषामा ‘ब्या जा नकेगु’ भनिन्छ । भ्यागुताले किसानले लगाएको बालीनाली बिर्गार्ने कीरा खान सहयोग गर्छ ।


खेती गर्दा कुटोकोदाली चलाउने क्रममा भ्यागुता मर्न पनि सक्छ । त्यस्तो महत्त्वपूर्ण जीवलाई बचाउन उद्देश्यले भात खुवाउने गरेको हो ।’ उनका अनुसार प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरे । मानिसको संहार गर्न खोजे । एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले पनि जनैपूर्णिमाका दिन तिनले गरेको गुन सम्झेर भात खुवाई कृतज्ञता ज्ञापन गरेको हुन् ।


नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने चलन छ । राजधानी तथा अन्य ठाउँमा बौद्ध धर्मावलम्बीहरू गुँला बाजा (एक प्रकारको बाजा) बजाउँदै विभिन्न बाहा र बहीमा राखिएका दीपंकर तथागत, बुद्ध बोद्धिसत्वलोकेश्वर, तारा आदिका मूर्तिहरू, पौवा, हस्तलिखित ग्रन्थहरू हेर्न जाने गर्दछन् । तराईतिर दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधी चाड मनाए । यस दिन सप्तऋषि (कश्यप, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ, अत्रि र विश्वामित्र) लाई तर्पण दिने भएकाले ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।


भक्तपुरमा पनि

थालीमा लप्टे अर्थात् पात । लप्टेमा क्वाँटी, रोटी, भात, चिउरालगायतका परिकार । गोलाकार पारेर काटिएका मूलाको चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । टीका, रक्षाबन्धनको धागो र सिन्दूर पनि पातको छेउमा सजाइएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा/रक्षाबन्धनको दिन बिहीबार बिहानै सूर्यविनायक ६ नयाँबस्तीकी गंगा

दुवाल क्वाँटी बोकेर खेत पुगिन् ।


यी परिकारहरू मानिसका लागि नभई व्यांचा अर्थात् भ्यागुतोको छुट्ट्याइएको गंगाले बताइन् । ‘नेवार समुदायले जनैपूर्णिमाको दिन क्वाँटी पकाएर खेतमा भ्यागुतोलाई खुवाउने चलन छ । भ्यागुताले खान्छ नै भन्ने छैन, तैपनि एक भाग छाडिदिनु परम्परा हो,’ उनले भनिन्, ‘भ्यागुतालाई नखुवाई घरका कसैले पनि क्वाँटी खाँदैनन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताको प्रतीकका रूपमा भ्यागुतोलाई लिने गरिन्छ । त्यसैले यो दिन भ्यागुतोलाई सबैभन्दा पहिले खुवाउने चलन छ ।’


जनैपूर्णिमा अवसरमा मठमन्दिरमा जनै फेर्ने र रक्षाबन्धन बाँध्नेहरूको भीड भए पनि भक्तपुरका किसान खेतको आलीमा बसेर भ्यागुतालाई क्वाँटी खुवाउनमा व्यस्त देखिन्थे । भक्तपुरमा जनैपूर्णिमाका दिन किसानले लप्टेमा खानेकुराको साथै रक्षाबन्धनको धागो, सिन्दूर र ऐना (भातमा गाडिएका मुलाका चाना) राखेर पनि लाने चलन छ ।


आफू हिँडेपछि भ्यागुताले खान्छन् भन्ने विश्वासमा दुवालले क्वाँटीसहितको परिकार धानको बोटमै राखिदिइन् । भक्तपुर ९ ब्रम्हायणीकी विकास सुवालका अनुसार भ्यागुतालाई क्वाँटी खुवाउने चलनलाई नेपाल भाषामा ‘ब्यां चा जा नका वानेगू’ भन्छन् । यसको अर्थ ‘भ्यागुतालाई भात अथवा भोज खुवाउन जाने’ भन्ने हुन्छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?