कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मापदण्डविपरीत कलेज

उच्च अदालतले दिएको आदेशसमेत लत्याउँदै विद्यार्थी भर्ना
कान्तिपुर संवाददाता

भक्तपुर — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स मध्यपुर थिमिको सम्बन्धन खारेज गरेको करिब दुई वर्ष भयो ।

सीटीईभीटीबाट सम्बन्धन/स्वीकृति लिई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेको चक्रवर्ती कलेजले पटकपटक सीटीईभीटीको नीति निर्देशनविपरीतका गतिविधि एवं विद्यार्थी भर्ना गरेकाले तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा २०७४ असोज २२ मा बसेको बैठकले सम्बन्धन खारेजीको निर्णय गरेको थियो । सीटीईभीटीले खारेज गरे पनि अदालतको आडमा चक्रवर्ती कलेजले विद्यार्थीको भर्ना गरिरहृयो ।


हाल आएर चक्रवर्ती कलेजमा अध्ययनरत कलेजका विद्यार्थीको भविष्य अन्योलमा परेको छ । चक्रवर्ती कलेजले सीटीईभीटीबाट शैक्षिक सत्र २०६१/०६२ देखि ३ वर्षे पीसीएल (नर्सिङ (प्रमाणपत्र तह) को सम्बन्धन/स्वीकृति लिई कार्यक्रम सञ्चालन गरिरहेको थियो ।


कलेजले शैक्षिक सत्र ०७४/०७५ का लागि प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सीटीईभीटीसँग सम्बन्धन स्वीकृति नवीकरण नगरी विद्यार्थी भर्ना गरी ठगी गरेको र अवैधानिक रूपमा एकै दिनमा ३७ विद्यार्थी भर्ना गरेको भन्दै सीटीईभीटीले सम्बन्धन खारेज गरिसकेको छ । आफ्नो अस्पताल नभएको र सरकारी अस्पतालसँग सम्झौता गरेको नक्कली कागज देखाएर विद्यार्थी भर्ना गरेको सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले बताए ।


सीटीईभीटीसँग कुनै पनि सम्बन्धन तथा स्वीकृत नवीकरण नै नगरी कलेजले २०७४ भदौ २५ गते पत्रिकामा सूचना प्रकाशित गरी एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोली एकै दिनमा ३७ विद्यार्थी भर्ना गरी एक सय विद्यार्थीको नाम वैकल्पिक सूचीमा निकालेको थियो ।


सीटीईभीटीले चक्रवर्ती कलेजलाई नवीकरण नगरीकन किन विद्यार्थी भर्ना गर्‍यो, विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि अस्पताल कहाँ छ भन्ने प्रश्नको स्पष्टीकरणको जवाफ झूटो पेस गरेकाले सम्बन्धन खारेज गर्न बाध्य भएको र चक्रवर्ती कलेजसँग सीटीईभीटीको कुनै सम्बन्ध नरहेको समेत सदस्यसचिव वाग्लेले बताए ।


कलेजले अघिल्ला वर्षहरूमा पनि अदालतको आडमा सीटीईभीटीसँग सम्बन्धन/स्वीकृति नवीकरण नै नगरी नर्सिङ कार्यक्रम सञ्चालन गरेको थियो । विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको अन्तरिम आदेशलाई मानेर सीटीईभीटीले रजिस्ट्रेसन गरिएको र सम्बन्धन खारेजपछि कुनै सम्बन्ध नभएको जनाएको छ । यता कलेजले भने सीटीईभीटीले उच्च अदालतको फैसला नमान्दा विद्यार्थी समस्यामा परेको भन्दै पत्रकार सम्मेलन गरेको छ ।


एक वर्षदेखि अध्ययनरत विद्यार्थीको रजिस्टेसन पनि नगरी परीक्षामा समेत सामेल गराउन नसकिएको कलेजले गुनासो गरेको छ । निरन्तर उच्च अदालतले दिएको आदेशलाई समेत लत्याउँदै सीटीईभीटीले ३० जना विद्यार्थीको भविष्य अन्योलमा पारेको कलेजले जनाएको छ । विद्यार्थी भर्नाको सिलसिलामा २०७५ सालको विद्यार्थी भर्नाका लागि कलेजले सीटीईभीटीईमा निरन्तर सम्पर्क गरेको तर त्यस बेलादेखि नै बेवास्ता गर्दै आएको कलेजका कार्यकारी अध्यक्ष नीलकृष्ण ताम्राकार पत्रकार सम्मेलनमा जानकारी दिए ।


कलेजले २०७५ सालमा विद्यार्थी भर्ना गर्न सीटीईभीटीईसँग अनुमति माग्दा सय बेडको अस्पतालको व्यवस्था गरेर मात्र विद्यार्थी भर्नाको अनुमति दिन सकिने जानकारी दिइएको अध्यक्ष ताम्राकारले जानकारी दिए । त्यसपछि कलेजले सय बेड भएको गणेशमान अस्पताल एन्ड रिसर्च सेन्टरसाग सम्झौता गरेर सीटीईभीटीमा पेस गरेको अध्यक्ष ताम्राकारले बताए ।


कलेजले सीटीईभीटीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको र अदाललते परिषद्को सम्बन्धन रद्द गर्ने निर्णय बदर गरी कलेजलाई निरन्तर सञ्चालन हुन दिन भनी फैसला गरेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?