कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पालो पाउन ८ बजे नै मालपोत

कान्तिपुर संवाददाता

भक्तपुर — दोलखा भीमेश्वर नगरपालिका–४ चरिकोटकी जुना बस्नेतले जग्गा रोक्का राख्न च्याम्हासिंहस्थित भूमि सुधार तथा मालपोत कार्यालय धाएको तीन दिन भयो । तेस्रो दिन (बुधबार) दिनभर बस्दासमेत उनको काम भएन ।

‘सोमबार पालो आउँला भन्दाभन्दै दिन गयो, मंगलबार ४ बजेसम्म बस्यो सर्भर बिग्रियो, नेट चलेन भन्दै काम भएन,’ उनले भनिन्, ‘कम्प्युटर चलेको छैन भन्छन्, कार्यालयमा खुट्टा टेक्ने ठाउँ छैन ।’


भोजपुरकी कुन्तीकुमारी राई जग्गा रोक्काकै लागि मालपोत कार्यालय धाएको चार दिन भयो । कम्प्युटर/इन्टरनेटमा समस्या भएको बाहनामा कर्मचारीले काम नै नगर्ने उनको गुनासो छ । ‘दिनहुँ मालपोत आयो, पालो कुर्‍यो, काम बन्ने होइन,’ उनले भनिन्, ‘इन्टरनेट र सर्भरको नाममा सेवाग्राहीलाई सास्तीको चाङ ।’


भूमिसुधार तथा मालपोत कार्यालयमा दिनहुँ सेवाग्राहीको भीड लाग्छ । बिहान १० बजे खुल्ने कार्यालयमा पालो कुर्न ८ बजेदेखि नै सेवाग्राही उपस्थित भइसकेका हुन्छन् । इन्टरनेट सेवा सुचारु गरे पनि सेवा प्रवाहमा भने झनै ढिलासुस्ती भइदिँदा सेवाग्राही मर्कामा परेका छन् ।


जग्गा नामसारी गर्ने काममा आएका सूर्यविनायक नगरपालिका ६ नयाँबस्तीका राज श्रेष्ठले भने, ‘लेखापढी नभई सेवाग्राहीले मालपोतको काम गर्नै सकिन्न, इन्टरनेटको समस्या देखाउँदै कर्मचारीले कामै गर्न छोडेको छ ।’ चार दिनदेखि मालपोत धाउँदासमेत काम पूरा नभएको उनको गुनासो छ ।


समयमा काम नहुँदा दिनहुँ कार्यालय धाउने सेवाग्राही झनै मर्कामा परेका छन् । सेवाग्राहीहरू लामो समयसम्म पनि काम नभएपछि कार्यालयभित्रै सुस्ताइरहेका हुन्छन् । कम्प्युटर शाखामा सेवाग्राहीको भीड लागेको छ । ‘इन्टरनेटको समस्या भन्दै कोठा/कोठा चहार्नुपरेको देख्दा, पहिले हातैले लेख्ने काम सजिलो भएजस्तो छ,’ उनले भने ।


इन्टरनेट सेवाअन्तर्गत व्यक्तिगत विवरण इन्ट्री गर्ने, रजिस्टेसन गर्ने, जग्गापास, लालपुर्जा बनाउने, मोठ भिडाउने, जग्गा रोक्का राख्ने, नामसारी गर्नेलगायतको काम सबै कम्प्युटरबाटै गर्नुपर्छ । तर, इन्टरनेट कनेक्सन बेला/बेलामा टुटिरहँदा काम प्रभावित हुने गरेको कर्मचारी बताउँछन् ।


मालपोतमा जडान गरेको सुविसुको प्राइमरी लाइनमा समस्या आएपछि सेकेन्डरी लाइन राख्दासमेत प्रभावकारी रूपमा काम नभएको भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर प्रमुख दीपक कोइरालाले बताए । नियमित इन्टरनेट सेवामा समस्या नआइदिने हो भने मात्रै पनि काममा निकै छरितोपन आउने उनी बताउँछन् । ‘जुनसुकै काम गर्दा पनि जग्गा रोक्का भए/नभएको, कागजात मिले/नमिलेको काम सबै कम्प्युटरबाटै हेर्नुपर्छ, एकैछिन् मात्रै इन्टरनेट बन्द भइदियो भने पनि काम रोकिहाल्छ,’ उनले भने ।


भूमिसुधार तथा मालपोत कार्यालयले इन्टरनेट प्रणालीबाट काम/कारबाही थालेको करिब २ वर्ष भयो । आइतबारदेखि इन्टरनेटमा समस्या देखिएको र इन्टरनेटको समस्याका कारण सेवाग्राहीको काममा ढिलासुस्ती भएको कार्यालयले स्वीकार गरेको छ । ‘इन्टरनेट नभएपछि केही काम हुँदैन,’ उनले भने, ‘लिखत अनलाइन रजिस्टेसनको सम्पूर्ण काम इन्टरनेट प्रणालीबाट हुने हो ।’


विभागले मूलुकभर अनलाइन सेवा विस्तार गर्दै लगेको र डाढाहरू अपडेट गर्दै जाँदा भक्तपुर मालपोतमा मात्र नभई मुलुकभरको कार्यालयमा जीआईडीसीमा समस्या आएको उनले बताए । मालपोत कार्यालयमा दिनहुँ एक हजारभन्दा बढी सेवाग्राही आउने गर्दछन् ।


सर्भर तथा इन्टरनेट समस्यासँगै जनशक्तिसमेत अपुग रहेको मालपोत भक्तपुरले जनाएको छ । ‘दरबन्दीकै कर्मचारीसमेत अपुग छ,’ प्रमुख मालपोत अधिकृत कोइरालाले भने, ‘४ कम्प्युटर अधिकृतको दरबन्दी छ, जसमध्ये २ समायोजनमा गएको र १ ले राजीनामा गरेकाले १ जना कम्प्युटर अधिकृत मात्र हुनुहुन्छ । कार्यालयले करारमा कर्मचारी राखेर कार्य गराएको छ ।’


६ मालपोत अधिकृतको दरबन्दीमा ४ पूर्ति, १८ सुब्बाको दरबन्दीमध्ये १६ पूर्ति, ८ खरिदारको दरबन्दीमध्ये २ रिक्त, १३ कार्यालय सहयोगीको दरबन्दी मध्ये १ अख्तियारले छानबिनका लागि लगेको र १ राजीनामा गरी २ रिक्त रहेको प्रमुख मालपोत अधिकृत कोइरालाले बताए ।


मालपोत र भूमिसुधार कार्यालय समायोजन भएपछि भक्तपुरमा दुईतिर कार्यालय भएकाले समेत कर्मचारी दुईतिरको काममा व्यस्त हुँदा जिम्मेवारी थपिएको उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?