१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाईजात्रा रूटमा सवारी निषेध

कान्तिपुर संवाददाता

(भक्तपुर) — भक्तपुर नगरपालिकाले गाईजात्राका दिन जात्रा रूटमा दुईपांग्रे, चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै छ ।

गाईजात्रा रूटमा सवारी निषेध

श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किने घिन्तात्वाङ घिसीसँगै गाईजात्रा सुरु हुने गर्दछ ।


बहत्वाबाट निस्किएको घेन्ताघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ ।


नगरको मुख्यमुख्य स्थानमा जात्रा रूट पर्ने भएकाले दुईपांग्रे, चारपांग्रे सवारीसाधन नभित्र्याउन अनुरोध गरेको भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले बताए । जात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले ठाउँठाउँमा पार्किङको व्यवस्था गरेको समेत उनले बताए ।


नगरपालिकाले मंगलबार जात्रा रूटमा सरसफाइ तथा जनचेतना र्‍यालीको समेत आयोजना गरेको छ । प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाईं, सृजना सैंजू, नगरप्रमुख सुनील प्रजापती, उपप्रमुख रजनी जोशी, महानगरीय प्रहरी भक्तपुर प्रमुख एसपी सविन प्रधान, १० वटै वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालय, कलेजका विद्यार्थी, स्थानीय बासिन्दा, प्रहरीको सक्रियतामा जात्रा रूटको व्यवस्थापन तथा सरसफाइ गरेको हो ।


प्रकाशित : श्रावण २९, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?