२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

झोरमा बालमैत्री पार्क

सीमा तामाङ

काठमाडौँ — टोखा नगरपालिकाले झोरमा प्राकृतिक झरनालाई संरक्षण गर्दै बालमैत्री पार्क र शौचालय निर्माण कार्य सुरु गरेको छ । नगरपालिकाले बौडेश्वर महादेव मन्दिर परियोजनाअन्तर्गत पहिलो चरणमा बालमैत्री पार्क र शौचालय निर्माण कार्य थालनी गरेको हो ।

करिब ३ हजार वर्ग किलोमिटर क्षेत्रफलमा बन्ने बालमैत्री पार्कमा बालबालिकालाई लक्षित गरी पिङ, चिप्लेटीलगायत अन्य संरचना निर्माण गरिने जनाएको छ । ६० वर्ग किलोमिटर प्लिन्थ एरिया अर्थात् क्षेत्रफलमा एकतल्ले पुरुष तथा महिला शौचालय निर्माण हुने छ ।


बालमैत्री नगरपालिका घोषणा गर्ने अवधारण राखिएकाले नगरपालिकाको वडा नम्बर १ झोरमा पहिलो प्राथमिकता बालमैत्री पार्कलाई दिइएको नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । । ‘१० वर्षे योजना अन्तर्गत विभिन्न पार्क निर्माण गरिने छ,’ उनले भनिन्, ‘पहिलो चरणमा बालमैत्री पार्क र शौचालय निर्माण गरे पनि चरणबद्व रूपमा झोलुगें पुल, युवा/युवती मैत्री पार्क, झरना बग्ने ढुंगालाई महादेवको स्वरूप दिइने छ ।’


उनका अनुसार टोखा नगरपालिकाअन्तर्गत रहेका पर्यटकीय स्थल अध्ययन गर्दा पुरानो पर्यटकीय क्षेत्र र प्राकृतिक झरना भएकाले झोरलाई प्राथमिकता दिएको हो । वडा १ को झोरमा रहेको झरनालाई संरक्षण गर्दै अन्य वडालाई पनि निरन्तरता दिने उनले बताइन् ।


हाल निःशुल्क आवतजावत गर्न सकिए पनि पार्क निर्माणको काम सकिएपछि टिकटको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ । संघीय सरकारको विशेष अनुदान र काठमाडौं महानगरको नगर नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाले पार्क तथा शौचालय निर्माणका लागि ३ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । पहिलो चरणको निर्माणका लागि २ करोड ७७ लाख रुपैयाँ (करबाहेक) शृखंला निर्माण सेवा कम्पनीलाई ठेक्का दिइएको नगरपालिकाका इन्जिनियर रूद्र आचार्यले बताए ।


उक्त कम्पनीले बालमैत्री पार्क र शौचालय निर्माण गर्ने उनले बताए । ‘चालु आर्थिक वर्षमा पार्क र शौचालय निर्माण कार्य सक्ने गरी काम सुरु गरिसकेको छ,’ उनले भने । सम्पूर्ण परियोजनाअन्तर्गत झरनामा रहेको ढुंगालाई महादेवको मूर्ति बनाउने, युवायुवतीमैत्री पार्क, पिकनिक स्पोर्ट, चारैतिरका दृश्य हेर्नका लागि झोलुगें पुल, रक क्लाइम्बिङ निर्माण गरिने छ । जुन परियोजन सक्नका लागि ८ वर्ष लाग्ने छ ।


सम्पूर्ण परियोजनाका लागि करिब ३० करोड बजेट अनुमान गरिएको उनले बताए । हाल वर्षायाममा मात्र झरना आउने भएकाले बाह्रै महिना झरना झर्नका लागि थप अध्ययन गरिँदै छ ।


झोरमा बन्ने सम्पूर्ण संरचनाको डिजाइन भने पारागन इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडले बनाएको हो । झोरमा हाल अन्य संरचनाहरू नभए पनि प्राकृतिक झरनाले गर्दा वर्षायाममा पर्यटकको घुइँचो लाग्छ । साउन महिनामा व्रतालुहरूको, बाल चतुर्दशी र बैकुण्ठ चतुर्दशीमा बत्ती बाल्नेको भीडसँगै मेला लाग्ने गरेको बौडेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारीले बताए । हाल उक्त ठाउँमा सवारीसाधनको पहुँच कम भए पनि आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वर्षायाममा झरना झरे पनि झरनाको माथि खानेपानीको मुहान भएकाले हिउँदमा नझर्ने उनको भनाइ छ ।


झोरस्थित श्रीकृष्ण बरूणेश्वर महादेवको मन्दिर एउटा गुफा मात्र नभई अहिले पर्यटकीय स्थल नै बनेको छ । अप्रभंश भएपछि हाल स्थानीयले यस मन्दिरलाई बौडेश्वर एवं वन महादेव भनेर चिनिन्छ । मन्दिरसँगै महादेवको गुफा, झरना र ठुल्ठूला ढुंगाले झोरको महिमा बढाएको छ ।


बौडेश्वर क्षेत्रलाई आदिम कालदेखि नै धार्मिक स्थलको रूपमा लिइँदै आएको छ । स्वस्थानी व्रत कथाको १२औँ अध्यायमा उल्लेख भएअनुसार सतीदेवीको मृत शरीरलाई महादेवले बोकी हिँड्दै गर्दा उनको बायाँ स्तन पतन भई भुवनेश्वरी देवी भुवनमायोगिनी श्रीकृष्ण बरुणेश्वर महादेवको उत्पत्ति भएको जनश्रुति छ । उक्त स्थलमा आई नरनारीहरूले तपस्या गर्न थालेको र उनीहरूले मागेको कुरा पूरा हुँदै गएको जनविश्वास रहेको प्रधानाध्यापक अधिकारीले बताए ।


प्रकाशित : श्रावण २९, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?