२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एटीएमबाटै बीउ

आवश्यक पर्ने वस्तुमा थिचिसकेपछि परिमाणका लागि ‘भेन्ड’ दबाउनुपर्छ, त्यसपछि क्यासमा थिचेर मूल्यअनुसारको रकम मिलाएर हालेपछि बीउबिजन झर्छ 
सीमा तामाङ

ललितपुर — ललितपुर महानगरपालिकाले ‘बीउ एटीएम’ सञ्चालनमा ल्याएको छ । यो एउटा भेन्डिङ मेसिन हो । आइतबार ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जीसी, महानगरका कृषि शाखाका प्रमुख केशव अधिकारीले उक्त मेसिनको उद्घाटन गरेका हुन् ।

एटीएमबाटै बीउ

अन्य सहरी खेती गरिने जापान, चीन, भारतलगायत मुलुकमा यसको प्रयोग धेरै अघिदेखि भएको हो तर नेपालमा भने पहिलो पटक परीक्षण गरिएको महानगरले जनाएको छ । त्यसैले अब नेपालका किसानले पनि यसको प्रयोग गर्न पाउनेछन् । महानगरले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सक्कल एग्रो एन्ड सिड ट्रेडर्स लगनखेलसँगको सहकार्यमा महानगर परिसरमा उक्त ‘बीउ एटीएम’ को स्थापना गरेको छ ।


छिमेकी मुलुक भारतमा प्रचलनमा रहेका ‘बेटा अटोमेसिन’ बाट निर्मित यस एटीएममार्फत ३६ किसिमका मौसमी तरकारी तथा फलफूलका बीउ पाउन सकिने महानगरले जनाएको छ । मेसिनमा मौसमअनुसारका सयपत्री, मखमली, सूर्यमुखी, सुपारी, जलबेडा, डेलिया, एस्टरजस्ता पुष्प बीउ हुनेछन् । तरकारीमा सिमी, बोडी, तितेकरेला, काँक्रो, रायो, चम्सुर, पालुंगो, फर्सी, लौका, घिरौंला, गोलभेंडा, काउली, कुरिलो, मुला, बन्दा, अकबरे, माच्छे, भेडे खोर्सानीका बीउ हुने महानगरप्रमुख महर्जनले बताए ।


सुरुमा महानगरमा दैनिक सेवा लिन आउने १ हजार ५ सय सेवाग्राहीलाई लक्षित गरी कार्यालयमा मेसिन स्थापना गरेको हो । बीउबिजन पाउनका लागि एटीएमको स्क्रिनमा रहेको ‘प्रेस हेयर’ लेखिएको बटममा थिचेपछि तरकारी तथा पुष्पको तस्बिरसहितको लिस्ट आउँछ । आफूलाई आवश्यक पर्ने वस्तुमा थिचिसकेपछि परिमाणका लागि ‘भेन्ड’ बटममा थिच्नुपर्छ । त्यसपछि क्यासमा थिचेर मूल्यअनुसारको रकम मिलाएर हालेपछि बीउबिजन झर्छ ।


मेसिनमा २०, ५० र १०० का नोट छिराइदिएमा रोजेको बीउ प्याकेटमा उपलब्ध हुनेछ । ‘बीउ एटीएम’ बाट संकलित रकमको २ प्रतिशत हिस्सा महानगरको राजस्वमा संकलन हुनेछ भने बाँकी ट्रेडर्सले प्रयोग गर्नेछ । किसानको परिचयपत्र (कार्ड) वितरण गर्ने महानगरको लक्ष्य छ । अनुदान सबै पत्रमै राखिएको हुन्छ ।


कार्डबाट मेसिन सञ्चालनमा ल्याउने योजना महानगरको छ । मेसिनको प्राविधिक तथा बीउबिजन व्यवस्थापन भने ट्रेडर्सले गर्ने महानगरको भनाइ छ । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जीसीले नेपाल कृषिप्रधान देश भएकाले यस्तो कामको सुरुवातीले गौरवान्वित भएको बताए । ‘हाम्रो देशमा बीउबिजन उपलब्ध गराउन एग्रोभेड छन्, जुन तालिम प्राप्त हुन्छन्,’ उनले भने, ‘यति हुँदाहुँदै पनि बीउ उम्रेन, दाना नलागेका जस्ता कृषकको गुनासो आइरहन्छ ।’


विकसित देशहरू पनि कृषिबाटै आधुनिकीकरणतर्फ बढेको उदाहरण दिँदै उनले पहिलो पटक परीक्षण गरिएको एटीएम मेसिनले किसानको गुनासो र समस्या दुवैलाई समेट्ने बताए । नेपालमा बीउबिजन भण्डारण तथा संकलन गर्ने ठाउँको कमी रहेको उनको अनुभव छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले एटीएम मेसिन उपलब्धिमूलक भएमा महानगरका २९ वटै वडामा विस्तार गर्न नीतिगत निर्णय भईसकेको बताए ।


मेसिनमा हाल पुराना नोट, रगं पोतिएका नोटहरू मेसिनले स्वीकार नगर्ने भएकाले आगामी दिनमा मेसिनलाई थप परिमार्जन गरेर सबै वडामा विस्तार गर्ने महानगरका कृषि शाखाका प्रमुख केशव अधिकारीले बताए ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?