कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मार्ट सिटीको डीपीआर तयार

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले उपत्यकामा निर्माण गरिने ‘स्मार्ट सिटी’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । उपत्यकाका चार स्थानमा निर्माण गरिने स्मार्ट सिटीको डीपीआर तयार भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

स्मार्ट सिटीको डीपीआर तयार

‘गुण्डुको डीपीआर आइसकेको छ, अन्य तीन सहरको पनि तयार भइसकेको छ, हामीलाई केही दिनमै परामर्शदाताले बुझाउँछन् ।’ गुण्डुमा सबै नापजाँच गरेर दसैंलगत्तै जमिनको प्रारम्भिक काम पनि अघि बढाइने जानकारी उनले दिए । करिब तीन वर्षअघि सहरी विकास मन्त्रालयले भक्तपुरको गुन्डु उपत्यका, काठमाडौंको टोखा, ललितपुरको खोकना, काठमाडौं–भक्तपुरको चाँगुनारायणदेखि साँखु क्षेत्रमा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो ।


काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार चारवटा सिटी बनाउँदा १ लाख ३० हजार रोपनी जग्गा समेटिनेछ । चारवटै सहरमा १० लाखभन्दा बढी जनसंख्याका अटाउन सक्ने उनले बताए । साँखु मनोहरामा १ लाख तथा टोखा, गुन्डु र खोकना १०/१० हजार रोपनीमा कित्ताकाटदेखि सम्पूर्ण किनबेचमा समेत प्राधिकरणले रोक लगाएको छ । यसरी १ लाख ६० हजार वटा घडेरी बिक्री गर्ने प्राधिकरणको योजना छ । सीमांकनबारे सरकारले सामान्य खाका सार्वजनिक गरे पनि विस्तृत रूपमा नआएको भन्दै स्थानीयले सरकारको आलोचना गर्न थालेका छन ।


मुलपानीका सरोज खनालले तीन वर्षदेखि जग्गा रोक्दा अंशबन्डालगायत काम निकै कठिनाइ भएको बताए । ‘काम छिटो गरिदिएहुन्थ्यो, ढिलाइ हुंँदा समस्या भएको छ,’ उनले भने, ‘दाजुभाइमा अंशबन्डा भएको छैन साथै ८ आनाभन्दा कम कित्ताकाट नहुँदा झनै समस्या भएको छ ।’ आयुक्त तिवारीले व्यवस्थित सहर निर्माणका लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।


‘आलोचना हुनु स्वाभाविकै हो तर व्यवस्थित र आधुनिक सहर निर्माण हुन्छ,’ तिवारीले भने, ‘डीपीआर बनाउन ढिलाइ भएको हो, अब काम तीव्र रूपमा अघि बढ्छ ।’ चीन सरकारले सहर निर्माणबारे चासो दिएको भन्दै उनले छलफल गरेर अघि बढ्ने बताए । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले स्मार्ट सिटीको डीपीआर आउनेबित्तिकै सबै काम अघि बढाइने बताए ।


‘डीपीआर तयार भइसकेको छ, अलि बस्ती भएको स्थानमा समस्या छ, त्यो पनि समाधान हुन्छ, जनतालाई दुःख दिने काम हुँदैन,’ उनले भने, ‘कहीँकतै समस्या भए व्यावहारिक रूपमा समाधान गरिन्छ ।’ उपत्यका विकास प्राधिकरणका अनुसार पहिलो स्मार्ट सिटी एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूल सडक तथा शालीनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म हुनेछ ।

खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिनेछ । दोस्रो स्मार्ट सिटी सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिनेछ । तेस्रो स्मार्ट सिटीमा खोकना, बुङमती, सैंबु, वाग्मती झोलुंगे पुल, चोभारसम्मको क्षेत्रलाई समेटिएको छ ।


चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूल बाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको क्षेत्र समेटिएको छ । प्रत्येक स्मार्ट सिटीमा बैंक तथा वित्तीय संस्था, खुला चौर, खेलमैदान, ढलपानीको व्यवस्था, ठूला बसको व्यवस्था गरिने प्राधिकरणले जनाएको छ । ‘अत्याधुनिक सहर निर्माण गर्ने हाम्रो अभियान हो, जुन नमुना होस्, र उपत्यकाबाहिरका सहरले पनि त्यसको नक्कल गरून् भन्ने हो,’ उनले भने ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?