फुटपाथमा हिँड्नै मुस्किल

सीमा तामाङ

काठमाडौँ — मध्याह्नको समयमा कुपन्डोलदेखि पुल्चोकतिर जाने खोलापट्टिको सडकखण्डमा हिँड्दै थिइन्, ईश्वरी श्रेष्ठ । श्रेष्ठ दैनिक यही बाटोको प्रयोग गर्छिन् । पुल्चोकमा पसल भएकाले दैनिक घर र पसलको दूरी पैदलयात्राबाटै तय गर्ने गरेको उनले बताइन् ।

काठमाडौंको जडिबुटीमा ट्राफिक जाम भएको बेला ट्राफिक नियमको उल्लघंन गर्दै फुटपाथबाटै मोटरसाइकल दौडाउँदै मोटरसाइकल चालकहरु । फुटपाथबाट मोटरसाइकल कुदाउँदा हिंड्ने सर्वसाधारणलाई सास्ती हुनुको साथै दुर्घटनाको सम्भावना समेत बढाएको छ । तस्बिर अंगद ढकाल/कान्तिपुर

फुटपाथमा रोपिएका रूखका हाँगाहरू नकाटिँदा फुटपाथमा हिँड्नै मुस्किल भएको उनको गुनासो छ । ‘फुटपाथमा फिँजिएका रूखका हाँगाले हिँड्नै मुस्किल छ,’ उनले भने, ‘रूखसँगै फुटपाथमा जोडिएका ढल पनि नछोपिँदा डर मर्नु छ ।’ समूहमा हिँडेका बुटवाले त झन् बाटै नछोड्ने हुँदा फुटपाथमा हिँड्नै मुस्किल भएको उनको भनाइ छ ।

हरिहर भवनदेखि पुल्चोकतिर जाँदा अर्थात् नेपाल टेलिकमसँगै जोडिएको फुटपाथमा काटिएका रूखको फेद केहीमहिनादेखि अलपत्र छन्, जसले फुटपाथ नै ढाकेको छ । साघुँरो फुटपाथ त्यसमाथि रूखको फेद, विरूवाबाट बनेका रूखका हाँगा, खुला ढलका खाडलले गर्दा पैदलयात्रुलाई हिँड्नै सकस हुन्छ ।

पहिलो पटक कुपन्डोलदेखि पुल्चोकको यात्रा तय गर्दै थिइन्, उर्मिला सुनुवार । बच्चा बोकेर हिँड्दै गरेकी उनी कतै ठेस लागेर लडिने हो कि भन्दै थिइन् । फुटपाथमा हिँड्दा उनको पनि अनुभव त्यस्तै छ । फुटपाथसँगै जोडिएका कुलो तथा ढल खुला रहेकाले डराउँदै हिँडनुपरेको उनले बताइन् । फुटपाथमा हिँड्न मुस्किल छ ।

बच्चालाई लिएर फुटपाथमा हिँड्न सकस हुने उनको अनुभव छ । ‘फुटपाथको कसैलाई वास्ता नै छैन,’ उनले भनिन्,‘ गाडीमा हिँड्नेलाई फुटपाथको समस्या के थाहा हुन्थ्यो र ।’ फुटपाथमा हिँड्दा अन्यत्र हेरेर हिँड्यो भने दुर्घटना हुने सम्भावना बढी हुने गरेको उनले बताइन् ।

नेपालको सडक मापदण्ड, २०७० (संशोधित) ले नयाँ मापदण्डअनुसार व्यस्त ठाउँमा कम्तीमा १ दशमलव ५ मिटर फुटपाथ हुनुपर्नेछ । फुटपाथमा मान्छेको चापअनुसार चौडाइ बढाउनुपर्ने मापदण्डमा छ । ५०० मानिस आवतजावत गर्ने ठाउँमा १ दशमलव ५ मिटर, १५ सय जना मानिस हिड्ने सडकमा २ मिटरको फुटपाथ र ३५ सय मानिस हिँड्ने ठाउँमा ३ मिटर चौडाइ भएको फुटपाथ हुनुपर्ने व्यवस्था छ ।

सडकमा ह्लिचियर अट्ने गरी १ दशमलव ५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तर अपांग र नेत्रविहीन त के सबलांग पैदलयात्रु पनि सहजै हिँड्न सक्ने अवस्था छैन यो सडक खण्डका फुटपाथमा । फुटपाथमा रहेका रूखको फेद महिनौंदेखि नहटाइएको एक स्थानीयले बताए । फुटपाथमा हिँड्न मुस्किल छ ।

यो फुटपाथमा हिँडिरहेकालाई कुनै समस्या नभए पनि पहिलो पटक यात्रा गर्नेलाई धेरै समस्या हुने गरेको उनको अनुभव छ । ‘म आफैँ पनि ठेस लागेर लडेको छु,’ उनले भने, ‘त्यसैले यहाँका फुटपाथमा हिँड्दा याद गरेर हिँड्नुपर्छ ।’ उक्त सडक खण्डका फुटपाथ कतैसुकेको र कतै फुकेको छ ।

अपांगमैत्री पनि छैन । अपांग त के सबलांग पैदलयात्रु पनि सहजै हिँड्न सक्ने अवस्था छैन । फुटपाथमा रूख, काटिएको रूखको फेद, नछोपिएका ढलका खाल्डोले पैदलयात्रुलाई हिँड्न समस्या छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

फुटपाथमै वृक्षरोपण

कान्तिपुर संवाददाता

भक्तपुर — साँघुरो सडक । सडकबीचमै बिजुलीको पोल ठडिएको छ । त्यही साँघुरो सडकको दायाँबायाँ मुस्किलले हिँड्न मिल्ने फुटपाथ छ । शनिबार विभिन्न सहकारी, संघसंस्थाको समन्वयमा सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतले फुटपाथमै वृक्षरोपण गरेका छन् ।

सूर्यविनायक–२ बालकोटस्थित सडक किनाराको फुटपाथमा वृक्षरोपण गर्दै प्रदेशसभा सदस्य शशिजंग थापा । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

सयौं स्थानीय बासिन्दाको उपस्थितिमा फुटपाथमा वृक्षरोपण गरे पनि फुटपाथ मिचिएको भन्दै धेरैले आलोचना गरेका छन् । ‘सडक बीच मै ठड्याएको बिजुलीको पोलमा अलपत्र छोडिएका तारको व्यवस्थापन छैन,’ स्थानीय रामकाजी खडकाले भने, ‘कतिपय स्थानमा फुटपाथसमेत छैन ।’ फुटपाथको वृक्षरोपणले पैदलयात्रुको सुरक्षामा चुनौती थपिएको उनी बताउँछन् ।

अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको छ । हरियाली क्षेत्र प्रवर्द्वनका लागि सरकारले असार १४ लाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’ घोषणा गर्दै वृक्षरोपण अभियानसमेत सुरु गरेको छ । सरकारले सन् २०१८ को जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरुवारोपण अभियान’ थालेको थियो ।

उक्त अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरुवारोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने सरकारको निर्णय छ । आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना सरकारको छ ।

लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफूल तथा औषधिजन्य (हर्बल) बिरुवा रोपण गर्ने सरकारको तयारी छ । केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरूलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।

सोही निर्देशनबमोजिम केन्द्र, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि वृक्षरोपण गर्न हौसिएका छन् । वृक्षरोपणमा स्थानीयको उत्तिकै सहकार्य/समन्वय छ तर कार्यक्रम आयोजकले वृक्षरोपण गर्ने ठाउँको सही छनोट भने नगरेको सूर्यविनायक–२ बालकोटकी राजश्री पौडेलले बताइन् । ‘हरियाली अभियानले मान्छेमा प्रकृतिको संरक्षण गर्नुपर्ने जनचेतना दिएको छ,’ उनले भनिन्, ‘फुटपाथ फराकिलो पार्नुपर्ने समयमा मिचिनु दुर्भाग्य हो ।’

वृक्षरोपणको पहिलो चरणमा प्रदेशसभा सदस्य शशिजंग थापाको संयोजकत्वमा सूर्यविनायक–२ कौशलटारस्थित हनुमन्ते खोलादेखि बालकोट चोकसम्मको फुटपाथमा धुपीको बिरुवा रोपेको छ । सहकारी, विद्यालय, संघसंस्था, स्थानीय बासिन्दाको सहयोगमा दोस्रो चरणमा बालकोट चोकदेखि सिरुटार र तेस्रो चरणमा सिरुटारदेखि बिरुवासम्मको करिब ६ किलोमिटर सडकको फुटपाथमा वृक्षरोपण गर्ने तयारी भएको प्रदेशसभा सदस्य थापाले बताए । सडक किनारामा वृक्षारोपण गर्न करिब ९ लाख रुपैयाँ संकलन भईसकेको समेत उनले बताए ।

वृक्षरोपण कार्यक्रमको थालनी गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिस र प्रकृतिको सन्तुलन विकास, वातावरणको सन्तुलनले सुन्दरता मात्र होइन स्वस्थ, सुखी र समृद्धितिर लैजाने बताए । हनुमन्ते सफाइ अभियानको ७६ औं हप्ताको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा सफाइ अभियन्ता एवं प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री महेश बस्नेतले सडक ढलजस्ता प्रारम्भिक मागबाट समाज टोल एक तहमाथि उठेको प्रमाणित भएको उल्लेख गर्दै सफाइ, कोरिडर र पार्क निर्माणका काम तदारुकतासाथ भइरहेको जानकारी दिए ।

विभिन्न संघसंस्थालगायतको सहकार्यमा सडक किनारामा रोपिएको बिरुवा संरक्षणमा तदारुकताका साथ लाग्ने सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतले बताइन् । सूर्यविनायक–२ का वडाध्यक्ष कमलनाथ आचार्यले भने फुटपाथमा रोपेको बिरुवाले प्रकृतिको संरक्षणमा सकारात्मक जनचेतना फैलाउन सहयोग पुर्‍याउने बताएका छन् । ‘बिजुलीको पोल, यत्रतत्र छरिएका तारको व्यवस्थापनमा वडा र नगरपालिका लागि परेको छ,’ उनले भने, ‘चरणबद्व किसिमबाट नगरको विकास तथा व्यवस्थापन हुँदै गएको छ ।’

प्रकाशित : श्रावण २६, २०७६ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्