१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लगनखेल बसपार्कमा फोहोरको थुप्रो

कान्तिपुर संवाददाता

ललितपुर — फोहोर नउठाउँदा लगनखेलका व्यापारी तथा स्थानीय दुर्गन्ध खेप्न बाध्य छन् । फोहोर नउठाउँदा हिँडडुल गर्न पनि समस्या भएको स्थानीयको गुनासो छ । एकैचोटि नउठाउँदा सधैं फोहोर रहिरहने भएकाले दुर्गन्धमा दैनिकी काट्न बाध्य छन्, स्थानीयवासी तथा व्यापारी ।

फोहोरले स्थानीय बासिन्दालाई मात्र नभएर गाडी आवतजावत यात्रुलाई पनि समस्या निम्तिएको छ । व्यापारिक क्षेत्र लगनखेल फोहोरको थुप्रोले भरिँदा आउनै मन नलागेको धापासी जान बस पर्खिरहेका ५५ वर्षीया सावित्री श्रेष्ठले बताइन् । बसपार्क नै फोहोरले घेरिएकाले पर्खनै गाह्रो भएको उनले सुनाइन् । फोहोरका रास र दुर्गन्धले बजारलाई कुरूप बनाएको उनको अनुभव छ ।


कहिलेकाहीं सामान लिन आउने गरे पनि आजभोलि बाध्यताले आउने गरेको उनले बताइन् । ‘फोहोरले दुर्गन्ध मात्र फैलाउँदैन,’ उनले भने ‘फोहोरका छेउमा दैनिकी चलाउने मानिसको स्वास्थ्यमा पनि समस्या ल्याउँछ ।’ फोहोरले कतिपय मानिसलाई रुघाखोकी, झाडाबान्ता पनि हुन सक्ने उनले बताए । अन्य ठाउँमा त फोहोरका थुप्रा देखिएको थिएन तर यहाँका अवस्था हेर्दा महिनौँदेखि फोहोर नउठाएको देखिन्छ ।


ट्रक आएर फोहोर लगे पनि सबै फोहोर नलैजाने हुँदा फोहोरको रास सधैं उत्तिकै देखिने मजदुर गिरीशले बताए । लगनखेल बसपार्कमा रहेको गाडीमा ग्रिज लगाउने काम गर्छन् उनी । ‘बसपार्कको कुना अर्थात् बस स्ट्यान्डमुनिको खाली ठाउँ फोहोर थुपार्ने थलो बनेको छ,’ उनले भने, ‘दैनिकी चलाउन काम गर्नुपर्छ, त्यसैले दुर्गन्ध भन्न पनि पाइँदैन ।’


धेरै मिडियाले सोधेर गए, समाचार छापे होलान् तर फोहोर कहिल्यै नउठेको उनको भनाइ छ । आजभोलि बाटोमा हिँड्दा अनिवार्य मास्क लगाएर हिँड्नुपर्छ । मास्क नलगाई हिँडडुल गर्ने अवस्थै छैन ।


फोहोरको दुर्गन्धले गर्दा ग्राहक पनि नआउने नाङ्लोमा स्याउ बेचिरहेकी संगीता सापकोटाले बताइन् । करिब एक वर्षदेखि व्यापार गर्दै आएकी सापकोटा भन्छिन्, ‘फुटपाथमा व्यापार गर्‍यो भनेर नगरपालिकाले लखेट्छ तर यही थुप्रिएको फोहोर उठाउन सक्दैनन् ।’ आज फोहोर उठाए पनि भोलि आउँदा उत्तिकै हुने गरेको उनले बताइन् । सानासाना गाडी आउँछन्, जसले एकैचोटि फोहोर उठाउन सक्दैन र जत्ति उठ्छ त्यति मात्र लैजान्छ । त्यसैले फोहोर उठाए पनि बसपार्कमा फोहोरको थुप्रो नै देखिन्छ ।


पानी पर्नासाथ फोहर संकलन गरेर व्यवस्थापन गर्ने ठाउँमा समस्या हुने भएकाले फोहोर नउठेको ललितुपर महानगरपालिका वडा नं. १२ का प्रमुख नारायणलाल अवालेले बताए । भोलिदेखि पुनः फोहोर उठ्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?