अध्यक्ष–वडाध्यक्ष झगडा : धम्क्याउनेलाई गोली हानेर पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — गाउँपालिका अध्यक्षलाई धम्क्याउँदै २ करोड मागेको आरोपमा प्रहरीले बाबुराम तामाङलाई पक्राउ गरेको छ । त्यस क्रममा प्रहरीले उनको घुँडामुनि दुई राउन्ड गोली प्रहार गरेको छ । 

लोप्सन र मिलन पनि भनिने तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार स्वयम्भू, विजेश्वरीबाट पक्रिएको हो । उनीमाथि रामेछापको लिखु–तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याएको आरोप छ । लोप्सनसँगै अमृत तामाङलाई पनि पक्राउ गरिएको छ । धम्क्याइएको भनिएको घटनाको अन्तर्यमा भने गाउँपालिका अध्यक्ष र सोही गाउँपालिका–७ का वडाध्यक्षबीचको विवाद रहेको प्रहरीको बुझाइ छ ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाले लोप्साङले अध्यक्षलाई फोन गरी रकम नदिए परिवार सदस्यको हत्या गर्ने धम्की दिएकाले पक्राउ गरिएको बताए । नियन्त्रणमा लिन खोज्दा भागेपछि दुवै घुँडामुनि गोली हानिएको उनले दाबी गरे । लोप्साङले धम्क्याएको र दुई करोड मागेको अडियो रेकर्ड प्रहरीकहाँ पुगेपछि खोजी थालिएको थियो । थापाले लोप्साङको पृष्ठभूमि आपराधिक रहेको र उनले यसअघि रामेछापको लिखु हाइड्रोपावरबाट पनि २० लाख रुपैयाँ असुलेको बताए ।

गाउँपालिका अध्यक्ष खड्काले ७ नम्बर वडाध्यक्ष सुभास बोहोराले आफूलाई धम्क्याउन लोप्साङलाई प्रयोग गरेको कान्तिपुरलाई बताए । वैशाख १३ गते गाउँपालिकाले गरेको नीति तथा कार्यक्रमसम्बन्धी सभामा विवाद भएपछि बोहोराले केही मान्छे बोलाएर बिथोलेको उनको दाबी छ । खड्काका अनुसार गाउँपालिकाको बजेटका विषयमा विवाद भएको थियो ।

लगत्तै लोप्साङले दुई करोड दिए विवाद मिलाइदिने भन्दै फोनमार्फत् धम्क्याएका थिए । ‘गाउँपालिका सभालगत्तै १८ गतेदेखि मलाई निरन्तर फोनमा धम्की आयो । दुई करोड नदिए परिवारका सदस्य मारिदिनेसम्मको धम्की आयो,’ खड्काले भने । अपरिचित नम्बरहरूबाट अश्लील गालीसहितको धम्की नरोकिएपछि प्रहरीमा गएको उनको भनाइ छ । यसमा वडाध्यक्षसँगै गाउँपालिका उपाध्यक्षको मिलेमतो रहेको उनले बताए ।

वडाध्यक्ष बोहोराले भने खड्काको आरोपको खण्डन गरे । उनका अनुसार वडा नम्बर १ दुरागाउँमा बिजुलीकरणको काम भएको र त्यसनिम्ति अघिल्लो वर्ष नै ५ करोड १० लाख बजेट छुट्ट्याइएको थियो । बिजुली वितरण भएपछि गाउँपालिका बैठकमा अध्यक्ष खड्काले पुरानो बजेट सकिएको र थप ६ करोड ९५ लाख रुपैयाँबराबरको सामान उधारोमा ल्याएर काम गरिएकाले उक्त पैसा तिर्न बजेट छुट्ट्याउनुपर्ने माग राखे । यही विषयमा वडाध्यक्ष र अध्यक्षबीच विवाद बढेको हो ।

बोहोराले बिजुली वितरणमा भएको खर्च परीक्षण गर्न समिति बनाउनुपर्ने र त्यसले प्रतिवेदन दिएपछि मात्रै थप बजेट छुट्ट्याउन सकिने माग राखेपछि गाउँपालिका सभामा आफूहरूमाथि आक्रमण भएको दाबी गरे ।

साउन १७ गते नै अध्यक्षको विरुद्धमा रहेका केही वडाध्यक्षले यो विवादबारे सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन नै गरेका थिए । दुरागाउँ बिजुलीकरणको खर्च विवादबारे केही वडाध्यक्ष र अध्यक्षबीच मत बाझिएपछि सुरु भएको विवाद नेकपाको जिल्ला कार्यालय र जिल्ला समन्वय समितिमा पनि पुगिसकेको छ । वडाध्यक्ष बोहोराले आरोप पुष्टि गर्न अध्यक्षलाई चुनौती दिँदै भने, ‘उहाँले कि पुष्टि गर्नुपर्छ, होइन भने मानहानिको आरोपमा सजाय हुनुपर्छ ।’

प्रकाशित : श्रावण २५, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

कश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी

प्रशान्त माली

काठमाडौँ — राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।

सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।

काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरू छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरूको खबर नपाउँदा यहाँ रहेकाहरूबीच चिन्ता छ । नयाँबजारमा छालाको व्यापार गर्दै आएका कश्मीरका ६० वर्षीय अब्दुलअमिद खान सोमबार श्रीमती अमिना बानु र छोरा कैउमसहित इद मनाउन घर गएका थिए ।

संयोगवश त्यही दिन ७० वर्ष अघिदेखि विशेषाधिकार प्राप्त राज्य कश्मीरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले खारेज गरिदिएको थियो । अहिले उनीहरूको अत्तोपत्तो छैन । खान परिवार कश्मीरमा असुरक्षित महसुस भएर ३० वर्षदेखि नेपालमा बस्दै आएका थिए ।

खानका साथी ३५ वर्षीय परवेज अहेमद भन्छन्, ‘परिवारसँग सम्पर्कविहीन भएको ५ दिन बित्यो । वर्ष दिनको चाडको रमाइलो गर्ने बेलामा परिवारको चिन्ताले नराम्रोसँग सताएको छ ।’ उनका अनुसार कश्मीरमा अहिले बिहान बेलुका चिसो र दिउँसो चर्को गर्मी छ । यो मौसम वृद्धावृद्ध र बालबालिका बढी बिरामी पर्ने समय हो । ‘यस्तो समयमा खानेपानीसमेत वञ्चित गरिएको खबर छ,’ उनले भने, ‘अहिले दुःख परेका बेला बोल्ने कोही छैन ।’

उनका अनुसार दुई वर्षअघि क्यान्सरको अप्रेसन गराएका आफन्त कश्मीरका ५६ वर्षीय मिश्र बानुको बेलाबेलामा उपचार गराइराख्नुपर्छ । ‘प्रायः स्वास्थ्य खराब भइरहने उनी अहिले कुन अवस्थामा होला । नियमित उपचार गराउनुपर्ने गाउँका दम, मृगौला, प्रेसर, मुटुका बिरामीको अवस्था सम्झेर चिन्ताले सताएको छ,’ उनी भन्छन्, ‘अस्पताल खुल्ला भएर के गर्ने, पुग्नै सकिँदैन । ८० लाख जनसंख्या भएको ठाउँमा १० लाख सैनिक खटाएका छन् । एउटा परिवारलाई एकजना आर्मी तैथान छन् । बाहिर निस्कनु त कता हो कता झ्यालबाट समेत हेरेको देखेमा सिधै गोली हान्छ ।’

हस्तकला व्यापार अहमदको यो पुर्ख्यौली पेसा हो । कश्मीरमा नियमित द्वन्द्वका कारणले उनीहरूको व्यापार व्यवसायमा नराम्रोसँग ह्रास आयो । परिवार पाल्न धौधौ भयो । अधिकांश आमाबाबुले छोराछोरीलाई विदेश जान सल्लाह दिँदैनन् । तर, उनलाई भने नेपाल जान बाध्य बनाए । उनले ठमेलमा बसेर व्यवसाय गरेको २० वर्ष बितिसकेको बताए ।

आमाबुवा, श्रीमती, छोराछोरी घरमै छन् । ठमेलका हस्तकला व्यापारी ४५ वर्षीय रफिक अहमद पनि इद मनाउन घर फर्केका थिए । उनका श्रीमती र छोराछोरी कश्मीरमै छन् । अहिले उनी पनि यहाँका आफन्तसँग सम्पर्कविहीन छन् । परिवारलाई भेट्न गएका ५० वर्षीय केशर अहमद र उनकी श्रीमती पनि कहाँ कुन अवस्थामा छन् कसैलाई थाहा छैन । रफिक र केशर १५ वर्षदेखि नेपालमा थिए ।

३९ वर्षीय नासिर अहमदको पनि पुर्ख्यौली पेसा हस्तकलाको व्यापार हो । निरन्तर व्यापार खस्केपछि उनी पनि परिवार पाल्न नेपाल आएका हुन् । उनी अहिले घरमा फोन लाग्छ कि भनेर दैनिक ४/५ पटक प्रयास गर्छन् । आमाबुबा र दाजुभाउजू उतै छन् । ‘कश्मीरमा अमनचयन छैन । २०१४ मा आएको बाढी बस्तीमा पस्दा त्यति चिन्ताले सताएको थिएन । अहिले त्यति सताएको छ,’ उनले भने, ‘मनमा गुनासो धेरै छन् । तर, यहाँ पोख्न मिल्दैन ।’

नेपालमा विभिन्न पेसाव्यवसाय गर्दै बस्दै आएका कश्मिरी करिब सय परिवार छन् । धेरैजना राजनीतिक मुद्दा भन्दै बोल्न चाहँदैनन् । घरपरिवार र थातथलोको चिन्ता अनुहारमा प्रस्ट छ । विदेश नीति विश्लेषक टीका ढकाल भन्छन्, ‘कश्मीरमा सधैं अस्थिर रह्यो । त्यसैले कश्मिरीको नेपाल आउने क्रम पुरानै हो ।’

सात दशक कचल्टिएको कश्मीर मुद्दा वारपार हुने दिशातर्फ बल्ल अघि बढेको उनले बताए । ‘कश्मीरलाई भूगोलको चुनौतीसँगै र उसले भोगेको हिंसाको कालखण्डका आधारमा संसारको सबैभन्दा खतरनाक ठाउँ भनिएको छ,’ उनले भने, ‘कश्मिरी जनताको सुरक्षाका लागि सम्भावित हिंसा रोक्न पनि सुरक्षाको पूर्वसावधानी आवश्यक हुन्छ । स्थिति सामान्य हुँदै गएपछि कश्मिरी जनताले के भन्छन् भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो ।’

प्रकाशित : श्रावण २५, २०७६ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्