२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भाइदेगः मन्दिरको पुनर्निर्माण सुरु

सीमा तामाङ

ललितपुर — पाटन परिसरमा रहेका अधिकांश मन्दिरहरूको पुनर्निर्माण हुँदै छन् । त्यसमध्ये एक हो भाइदेगः मन्दिर । हाल पुनर्निर्माण हुँदै गरेका अधिकांश मन्दिरहरू ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका हुन् ।

तर भाइदेगः मन्दिर भने १९९० सालको भूकम्पबाटै ध्वस्त भएको थियो । १९९० सालको भूकम्पबाट भत्किएका अधिकांश मन्दिरहरू राणाले नै निर्माण गरे पनि केही मन्दिरले आफ्नो ऐतिहासिक स्वरूप गुमाउन पुगे । भूकम्पपश्चात आफ्नो मौलिक शैली गुमाएको एक मन्दिर हो, पाटन दरबार क्षेत्रमा रहेको काशी विश्वनाथको प्रतीक मानिने उमा–महेश्वरको मूर्ति रहेको ऐतिहासिक भाइदेगः ।


करिब ७८ वर्ष यसै छाडिएको मन्दिर ६ वर्षअघि २०६८ सालमा पुनः पहिलेकै शैलीमा निर्माण गर्ने निर्णय भएको थियो । यसका लागि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, पत्रकार कनकमणि दीक्षित, बैंकर पृथ्वीबहादुर पाँडे, वास्तुविद् एवं काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपीभीटी) का अध्यक्ष रोहित रञ्जितकार लगायतको ७ सदस्यीय सांस्कृतिक सम्पदा संरक्षण समूह बनाइयो ।


मन्दिर पुनर्निर्माण गर्न ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । पुनर्निर्माणको निर्णय भए पनि काम सुरु गर्न चुनौतीपूर्ण थियो । भत्किएको भाइदेगःको कुनै पनि तस्बिर थिएनन् । मन्दिरको फोटो र प्रयोग भएका सामान फेला पार्नै समय लागेको संरक्षण समूहले जनाएको छ ।


जंगबहादुर राणाका पालामा बेलायती मिसनमा आएका सर्जन हेनरी आमब्रोस ओल्डफिल्डले बनाएको मन्दिरको चित्रकला फेला परेपछि मौलिक स्वरूपमै पुनर्निर्माण गर्न सजिलो भएको छ । हेनरीको चित्रकलाले मन्दिरको भुइँतलाको थाम, निदाल र टुँडालको बुट्टा कस्तो थियो भन्ने प्रस्ट पारेको संरक्षण समितिकी प्रशासन अधिकृत सनीता महर्जनले बताइन् ।


१९१० मा हेनरी ओल्डफिल्डले कोरेको चित्र बेलायती म्युजियमबाट प्राप्त चित्र तस्बिर खिचेझैं कोरेका छन् । उनका अनुसार सन् १९२० मा पाटन दरबार क्षेत्रमा खिचिएको एउटा तस्बिरका आधारमा बनोट र आकार मापन गरिएको छ । पुरानो मन्दिरको २० टुँडाल पाटन संग्रहालयमा फेला परेपछि त्यसको आधारमा मन्दिरको आकृति र स्वरूप बनाउन सजिलो भएको उनले बताइन् । २०६९ सालदेखि निमार्णका लागि जनशक्ति जुटाउने काम सुरु भएको थियो भने, अर्कातिर प्राविधिकले मन्दिरको डिजाइन गर्ने काम गर्दै थिए । लामो समयपछि २०७१ सालको फागुनबाट काम सुरु गरे पनि दुई महिना नपुग्दै २०७२ सालमा भूकम्प आयो, त्यसपछि काम रोकियो ।


त्यसपश्चात् मन्दिरको काठमा कलात्मक बुट्टा कुँद्ने कालिगढकै कमी भएको उनले बताइन् । भूकम्पपछि दक्ष जनशक्ति नपाउने, पाएका कामदारको पारिश्रमिक पनि निकै महँगो र मन्दिर निर्माण गर्न चाहिने सामग्रीको पनि मूल्य बढदै गयो । त्यसपछि पुनः लागत अनुमान गर्दा मन्दिर पुनर्निर्माणमा करिब ६ करोड रुपैयाँ पुग्यो । मन्दिरमा प्रयोग हुने काठ तथा इँटा अत्यन्त महँगो भएकाले लागत बढी हुन पुगेको संरक्षण समूहले जनाएको छ ।


तर भूकम्पले मन्दिर पुनर्निर्माणमा थप सचेत बनाएको महर्जनले बताइन् । ‘२०६९ मा पुरानै जगमा मन्दिर पुनर्निर्माण गर्ने योजना भए पनि भूकम्पपछि भने जगको माटो परीक्षण गरेर पुनः जगैदेखि काम सुरु गरेका हो,’ उनले भनिन् । अहिले बुङमती र भक्तपुरका कालिगढहरूले काठमा बुट्टा कुँद्ने काम गरिरहेका छन् । नर्वेजियन दूतावास, नेपाल इन्भेस्टमेन्ट बैंक, ललितपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीयको सहयोगमा २०२० सम्म पुनर्निर्माण सक्ने समूहको लक्ष्य छ ।


मन्दिरको तल्लो तल्लाको काम सकिसकेको साइड इन्जिनियर प्रणाम होराले बताए । ‘हाल भक्तपुरका कालिगढले घरमै दोस्रो तलाका लागि काठमा बुट्टा कुँद्ने काम गरिरहेको छ,’ उनले भने ।


काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपीभीटी) ले मन्दिर पुनर्निर्माणमा प्राविधिक सहयोग गरेको छ । परम्परागत शैलीमा काठ, माटो, इँटा, चुना, सुर्तीलगायतका निर्माण सामग्रीको प्रयोग गरी भाइदेगः पुनर्निर्माण गरिरहेको छ । ललितपुर महानगपालिकाका अनुसार गत वर्ष भाइदेगः मन्दिरको ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको थियो भने यस वर्ष भीमसेन मन्दिरका लागि १ करोड बजेट छुट्ट्याएको छ ।


पाटनका राजा श्रीनिवास मल्लका पालामा चौतारा (प्रधानमन्त्री) भगिरथ भैयाले विसं.१६७८ मा मन्दिर निर्माण भएको यो मन्दिर ३ तले पगौडा शैलीमा बनेको थियो ।


सन् १६६९ मा मुगल शासक औरगांबाजले नेपालीको समेत पवित्र स्थल बनारसको विश्वनाथ मन्दिर भत्काइदिएका थिए । तर मुगलहरूले मन्दिर भत्काइदिएपछि नेपालीहरू काशी जान पाएनन् । त्यसैले भगिरथ भैयाले आक्रमण भएको ९ वर्षपछि पाटनमै बनारसको विश्वनाथ मन्दिर निर्माण गरे । त्यसपछि उक्त मन्दिरलाई भाइदेगः वा भाइ देवलको नामले चिनिन्छ ।


१७ औँ शताब्दीमा बनेको उक्त मन्दिर मल्लकालको उत्कृष्ठ काष्ठकला थियो । जुन २५५ वर्षपछि महाभूकम्पले भगिरथको चिनो ध्वस्त बनाइदियो । त्यसपछि राणाहरूले मन्दिर पुनर्निर्माण गर्दा एकतले गुम्बज (डोम) शैलीमा शिवलिंग छोप्ने काम गरेर मन्दिरको जगेर्ना काम गरियो ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?