कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आकाशेपानी संकलन गर्न सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — पानीको मुहान सुक्दै जाँदा उपत्यकालगायत सबै क्षेत्रमा हाल खानेपानीको अभाव देखिएको छ । जलवायु परिवर्तनका कारणले वर्षाको प्रवृत्तिमा हुन गएको परिवर्तन र पानीको मुहान संरक्षणमा भएको बेवास्ताका कारण प्रकृतिका खोला र नदीको पानीमा आधारित खानेपानी प्रणालीबाट हिउँदमा नियमित पानी आपूर्ति हुन सकेको छैन ।

यस्तो अवस्थामा विज्ञहरू भने वर्षाको पानी व्यवस्थापनमा ध्यान दिए पानीको संकट नहुने बताउँछन् । ‘नेपालमा चार महिना वर्षाको पानी अधिक हुने, चार महिना सामान्य हुने र चार महिना अभावै हुने भएकाले वर्षाको पानी व्यवस्थापनमा ध्यान दिए पानीको संकट हुँदैन,’ इन्जिनियर रामदीप साहले भने ।


हिउँदको सुक्खा मौसममा नदीको मुहान क्षेत्रतिरबाटै ८० प्रतिशतभन्दा बढी पानी नदीमा बहन नपाई घरायसी प्रयोजनाका लागि प्रयोग हुन्छ । स्रोतका अनुसार हाल काठमाडौंमा खानेपानीको आपूर्ति जमिनमुनिको पानीबाट भइरहेको छ । जसले गर्दा उपत्यकाको जमिनमुनि रहेको पानीको सतह घटदै गइरहेको विज्ञहरूको अनुमान छ । वाग्मतीको यस जलाधार क्षेत्रमा पनि जमिनको सतहबाट जति मात्रामा जमिनमुनि प्राकृतिक ढंगले पानी पुनर्भरण भएर जान्छ ।


त्यसको चारदेखि पाँच गुणा बढी पानी बोरिङ, ट्युबवेल आदिका माध्यमबाट निकाल्ने गरेको छ । यसरी निकालेर प्रयोग भइसकेपछिको पानी र आकाशबाट परेको पानीको ठूलो हिस्सा ढलमा हाल्ने गरिएकोले जमिनभित्र सोसिएर जान पाउँदैन । अर्थात् पानी पुनर्भरण हुन सकेको छैन ।


यस प्रक्रियाबाट वाग्मती जलाधार क्षेत्रमा दुई दशकभित्रै जमिनमुनिको पानीको सतह ३५ मिटभन्दा तल झरिसकेको विभिन्न स्रोतहरूले उल्लेख गरेका छन् । वर्षातको पानी संकलन नगर्दा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको सामना गर्नुपरेको विदितै छ । यदि उपत्यकालगायत सबै क्षेत्रमा आकाशेपानी संकलन गर्ने हो भने पानीको अभावसँगै प्राकृतिक प्रकोप पनि नहुने विज्ञको भनाइ छ ।


पानीको अभाव भइरहेको बेला सिँचाइ, खानेपानीको लागी वर्षातको पानी संकलन गर्नु आजको आवश्यकता हो । दैनिक उपभोगका लागि आकाशे पानी संकलन गर्ने र जमिनमुनिबाट पानी तान्ने क्रमलाई कम गरे यस्ता समस्याको अन्त्य हुन्छ । हाल जमिनमुनिको पानी तान्ने काम तीव्र गतिमा रहेकाले वाग्मती नदी तथा यसको जलाधार क्षेत्रमा जमिनमुनि पानी निर्भरण गर्ने जिम्मेवारी पनि हाम्रै हो । नेपालमा परम्परादेखि नै आकाशेपानी संकलन गरेर प्रयोग भइरहेका छन् । त्यसैले परम्परागत पानी संकलन गर्ने कार्यलाई नै प्रविधिको माध्यमबाट अगाडि बढाउनुपर्ने छ ।


आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण

आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण गर्न घरको छानामा परेको पानीलाई छानाको तल्लो भागमा राखिएको जस्ताको वा अन्य कुनै ढंगले बनाइएको खोल्सीजस्तो भागमार्फत पाइपमा हालिन्छ र सो पाइप लाइनबाट पहिलो पानी छान्ने फ्लस अर्थात् ‘फर्स्ट फ्लस’ प्रक्रियामा लगिन्छ ।


‘फर्स्ट फ्लस’ प्रक्रियाले छानाको पानीसँग बहेर आउने फोहोर हटाउँछ । त्यसपछिको पानीचाहिँ अर्को पाइपबाट बालुवा(गिटीजस्ता माध्यमबाट बनाइएको पानी छान्ने ‘फिल्ट्रेसन सिस्टम’ हुँदै पानी भण्डारण गरिने ट्यांकीमा लगिन्छ । उक्त ट्यांकीमा जम्मा भएको पानी घरायसी प्रयोजनका लागि प्रयोग गरिन्छ भने ट्यांकी भरिएर बढी भएको पानी पुनर्निर्भरण खाल्टो अर्थात् ‘रिचार्ज पिट’ मा जाने व्यवस्था मिलाइएको हुन्छ ।


यो रिचार्ज पिट कंक्रिटको रिङ हालेर वा वरिपरि इँटाको गाह्रो लगाएर बनाइएको हुन्छ । यसको छानोलाई ढाकिएको हुन्छ तर फेदको भागचाहिँ पानी छानिएर जमिनमा रसाउँदै जाने गरी बनाइएको हुन्छ । संकलित आकाशे पानीलाई सिधै पिउन भने मिल्दैन । पिउनका लागि पीयूष हालेर तथा विविध सेरामिक फिल्टरबाट प्रशोधन गरेर पिउनुपर्ने पानीविज्ञ प्रकाश अमात्यले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?