१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मेडिकल बोर्डको सिफारिस छानबिन गर्दै अख्तियार

फातिमा बानु

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल बोर्डको सिफारिसमाथि छानबिन अघि बढाएको छ । वीर अस्पतालका कर्मचारीले रोजेको ठाउँमा समायोजन हुनका लागि झूटा मेडिकल रिर्पोट बनाएको विषयमा उजुरी परेपछि आयोगले छानबिन अघि बढाएको हो ।

मेडिकल बोर्डको सिफारिस छानबिन गर्दै अख्तियार

स्वास्थ्य मन्त्रालयसम्म पुगेका मेडिकल सिफारिस फाइल लिएर छानबिन थालेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनले भने, ‘वीर अस्पतालका कर्मचारीले रोजेका ठाउँमा बस्न पाउने लोभमा झूटा मेडिकल रिर्पोट बनाएको उजुरी बारम्बार आएपछि हामीले अनुसन्धान थालेका हौं । छिटै नै केही निष्कर्षमा पुगिन्छ ।’

अख्तियारलगायत कर्मचारीले सर्तकर्ता केन्द्र र स्वास्थ्य मन्त्रालयमा समेत उजुरी पेस गरेका छन् । झूटा मेडिकल रिर्पोटमाथि छानबिन गरियोस् भन्ने उनीहरूको माग छ । कर्मचारीले आर्थिक चलखेल, व्यक्तिगत चिनजान र राजनीतिक शक्तिका आधारमा झूटा मेडिकल रिर्पोट बनाइरहेको अस्पताल स्रोतको दाबी छ । स्रोत भन्छ, ‘स्टोर, खरिद एकाईजस्ता ठाउँमा बसेर कमिसन खानका लागि वीर अस्पतालका कर्मचारीले झूटो रिर्पोट बनाउँदै पेस गरिरहेका छन्, केहीको पुल दरबन्दीमा समायोजनसमेत भइसक्यो ।’

स्वास्थ्य मन्त्रालयले समायोजनको सूचना प्रकाशित गरेसँगै आफूनिकट चिकित्सकको रिपोर्टका आधारमा मेडिकल बोर्डको सिफारिस लिने कर्मचारीको संख्या बढिरहेको छ । ती कर्मचारीले केन्द्रीय अस्पतालमै बस्नका लागि बढाइचढाइ मेडिकल रिपोर्ट बनाएर पेस गर्न गरेका छन् । शारीरिक रूपमा अशक्त नरहे पनि केही कर्मचारीले आर्थिक चलखेल र व्यक्तिगत चिनजानका आधारमा अशक्त भएको देखिने झैं गरेर मेडिकल रिपोर्ट बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको भेटिएको छ ।

कर्मचारी र चिकित्सकको मिलोमतोमा तयार पारिएका रिपोर्टहरू मेडिकल बोर्डले पनि फटाफट सदर गर्दै पठाएको छ । यति मात्रै होइन आफूनिकट कर्मचारीलाई केन्द्रमा समायोजन गर्न स्वास्थ्य मन्त्रालयका कर्मचारीको पनि मिलोमतो रहेको वीर अस्पताल स्रोतको दाबी छ । वीर अस्पतालमा हेर्दा सामान्य देखिने, खेलकुदमा सक्रिय र दिनहुँ मोटरसाइकलमा टाढाको यात्रा गर्ने कर्मचारीले पनि आफ्नो राजनीतिक आस्था मिल्ने चिकित्सकसँगको मिलेमतोमा अशक्त देखिने मेडिकल रिपोर्ट बनाएका छन् ।

यसमा मेडिकल ओपीडीका कर्मचारी अहेब युवराज सुवेदी, युरो ओपीडीका डिल्लीराम खनाल, खरिद एकाईका अरुण महतो, अहेब डिल्लीराम आचार्य, टीका पनेरु र अन्य कर्मचारीहरू सविता जोशी, जीवनकुमार श्रेष्ठ, शंकरकुमार झालगायतले बनाएको मेडिकल बोर्डको सिफारिस हेर्दा उनीहरूलाई गम्भीर प्रकृतिको रोग भएको देखिँदैन । यी कर्मचारीको रिपोर्ट बनाउने अधिकांश चिकित्सक ट्रमा सेन्टरमा हाजजोर्नी विशेषज्ञ छन् ।

लामो समय केन्द्रीय स्वास्थ्य संस्थामा काम गरेका यी कर्मचारी समायोजन हुँदा स्थानीय र प्रदेश तहमा पुग्ने भएपछि उनीहरूले आफ्नो रोगका बारे बढाइचढाइ गरी रिपोर्ट बनाएर पेस गरी केन्द्रमा बस्ने दाउ गरेको स्रोत बताउँछ ।

नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेमा कर्मचारी समायोजन ऐन–२०७५ अनुसार कडा रोगका बिरामी तथा गम्भीर र अशक्त कर्मचारीले रोजेको ठाउँमा समायोजन हुन सक्छन् । यही व्यवस्थाको दुरुपयोग गर्दै वीर अस्पतालका केही कर्मचारीले झूटो मेडिकल रिपोर्ट बनाएका छन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?