१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आत्महत्या गर्ने बढे

कान्तिपुर संवाददाता

भक्तपुर — प्रहरीमा अनैतिक सम्बन्धको उजुरी परेपछि गत मंगलबार मध्यपुर थिमि बोडेस्थित प्रेमी र प्रेमिकाले झुन्डिएर आत्महत्या गरे । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार बोडेस्थित रुद्र सिलवालको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछाप बेथानकी १८ वर्षीया मंगली तामाङले एउटै कोठामा झुन्डिएर आत्माहत्या गरेका हुन् ।

विवाहित जीवनले पत्नी २६ वर्षीया रिनु तामाङ र २ वर्षीया छोरीको बेवास्ता गरी प्रेमिका बनाएको भन्दै उजुरी गरेकी थिइन् । प्रहरीले जीवन तामाङलाई ल्याएर छलफल गरी विवाह दर्ता, छोरीको जन्मदर्ता गरिदिने, खान लाउन दिने, हेरविचार गर्ने मिलापत्र गरेर डेरामा फर्किएको साँझ नै प्रेमिका मंगलीलाई कोठामा ल्याएर चुकुल लगाई झुन्डिएर आत्महत्या गरेको पाइएको थिमि प्रहरी प्रमुख डीएसपी शान्तिराज कोइराला बताउँछन् ।


मृतक जीवन र उनकी पत्नी रिनु तामाङ दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको प्रहरीको भनाइ छ । सवारी चालक जीवन बोडेस्थित डेरामा बस्दै आएका थिए भने उनकी पत्नी रिनु कहिले बाह्रबिसे र काठमाडौं गर्दै माइतीमै बस्दै आएकी थिइन् ।


सोही दिन सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित आफ्नै डेरामा बाह्रबिसेकै ३७ वर्षीय नरबहादुर तामाङले झुन्डिएर आत्महत्या गरेका छन् । घरायसी बेमेलकै कारण तामाङले गलबन्दीको पासो लगाई आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ । त्यस्तै, गत बुधबार सूर्यविनायक ७ गुण्डुका १२ वर्षीय सन्देश खतिवडाले टाईको पासो बनाई झुन्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख चक्रराज जोशीले बताए ।


शुक्रबार सूर्यविनायक ९ भातेढिकुरस्थित नयाँ बिहानी सुधार केन्द्रमा सुधारका लागि राखेका दोलखा तामाकोसी गाउँपालिका २ झुलेका ४२ वर्षीय माधव कार्कीले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार कार्कीले आफैं सुत्ने कोठाको दुईतले खाटमा ट्र्याकसुटको तुनाको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् । ५५ दिनअघि सुधार केन्द्रमा राखेको कार्कीले आफूलाई सुधार गर्न नसकेपछि अप्रिय बाटो रोजेको हुन सक्ने प्रहरीको भनाइ छ । यी घटनाहरू त प्रतिनिधि मात्र हुन् । पछिल्लो समय आत्महत्या विकराल बन्दै गएको भक्तपुर प्रहरी प्रमुख सविन प्रधान बताउँछन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन सातामा १० जनाले आत्महत्या गरेका छन् । जसमध्ये ९ जनाले झुन्डिएर र एकले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।


प्रहरीका तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७५/७६ मा ८५ र ०७४/७५ मा ६४ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । भक्तपुर प्रहरीमा परेका उजुरीमध्ये चोरीपछि आत्महत्या दोस्रो रहेको प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेल बताउँछन् । विभिन्न प्रविधि भित्रिएसँगै बढेको सामाजिक सञ्जालको दुरुपयोग, बेमेल, अनमेल विवाह, गरिबी, वैदेशिक रोजगारले सिर्जना गरेको पारिवारिक विखण्डनलगायत कारण आत्महत्या गर्नेको संख्या वृद्धि हुँदै गएको प्रहरीले जनाएको छ ।


‘सानो विषयलाई लिएर एक्कासि अप्रिय निर्णय लिने परम्पराको विकास हुँदै गएको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सविन प्रधानले भने, ‘महत्त्वाकांक्षी सोच तथा प्रतिस्पर्धात्मक समाजमा घुलमिलको कठिनाइका कारण आत्महत्याको निर्णयमा पुग्ने गर्छन् ।’


विगतको भन्दा सामाजिक विचलन, पारिवारिक सद्भाव र आत्मीयताको कमी तथा बढदो पाश्चात्य प्रभावले एक्लोपन महसुस, सही मार्गदर्शनको अभावले पनि आत्महत्या विकराल बन्दै गएको प्रधान बताउँछन् । बढ्दो महत्त्वाकांक्षीपन, न्यून सहनशीलता, प्रतिस्पर्धात्मक समाजका कारण पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको हो,’ मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा. वासुदेव कार्कीले भने, ‘विज्ञान प्रविधिले निम्त्याएको आधुनिक जीवनशैलीमा चल्न नसक्दासमेत कतिपय व्यक्ति डिप्रेसनको सिकार भएको र आत्महत्या गर्ने निर्णयमा पुगेको पाइन्छ ।’


आत्महत्या न्यूनीकरणका लागि सरकारले दिवसमा मात्र चर्चा नगरी एकीकृत योजना बनाएर कार्यक्रम गर्न जरुरी भएको एसपी प्रधान बताउँछन् । ‘प्रहरीको मात्र प्रयासले कुनै पनि योजना सफल हुन सक्दैन,’ उनले भने, ‘स्थानीय स्तरदेखि प्रयास र प्रयत्न हुन जरुरी छ ।’


पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले मान्छेलाई एक्ल्याउँदै लगेको र एक्लो अनुभूतिले डिप्रेसनको सिकार भई आत्महत्या विकल्प बन्दै गएको उनी बताउँछन् । कतिपय व्यक्तिहरूमा जटिल प्रकृतिका रोग लाग्नु र उपचारको विकल्पमा आत्महत्या गरेको उदाहरणसमेत रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?