यात्रु ठग्ने १२ हजार ट्याक्सी चालक कारवाहीमा

रासस

काठमाडौँ — महाशाखाले आव २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारवाही गरिएको जानकारी दिए । 'यात्रु ठग्ने दैनिक ४०/५० चालकलाई कारवाही गर्दै आएका छौँ,' उनले भने  ।


बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ। त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको महाशाखाले जनाएको छ।
मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५०० देखि एक हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्ने गरिएको पन्तले बताए। महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारवाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ। यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन्।

प्रकाशित : श्रावण २२, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

वायुसेवा निगम सुधार्न पर्यटनमन्त्रीद्वारा समिति गठन

सुरज कुँवर

काठमाडौँ — नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार्न 'निगम सुधार समिति' गठन गरेका छन् । बुधबार मन्त्रालयमा मन्त्री भट्टराईले निगमको समग्र सुधारका उपायहरु पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

समितिमा चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, निगमका पूर्व क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। समितिले हालसम्मका प्रतिवेदनहरुको अध्ययन गर्ने, निगमको आर्थिक कानुनी लगायत समग्र स्थितिको अध्ययन गरी तत्कालीन र दिर्घकालीन योजना सहितको प्रतिवेदन दिने छ।

समितिलाई अध्ययन तथा प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोछ।

प्रकाशित : श्रावण २२, २०७६ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्