ललितपुरले पनि ल्यायो दुई ब्रुमर

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाले सोमबार २ ब्रुमर खरिद गरेको छ । महानगरले टेन्डर प्रक्रियाद्वारा युरो ४ एमिसन स्ट्यानर्डका ब्रुमर खरिद गरेको हो । महानगरले बोलपत्र आहृवान गर्दा जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोट भएको थियो ।

जसले इटालीमा बनेको २ ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० (भ्याटसहित) रुपैयाँमा खरिद गरी महानगरलाई दिएको छ ।

डिजेलबाट चल्ने ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ ।


ब्रुमरको अगाडि एउटा, दायाँबायाँ २ र बीचमा १ गरी ४ ओटा ब्रस र पछाडि एउटा भ्याकुम क्लिनर रहेको छ । ब्रुमरको १२५ किलोवाट इन्जिन क्षमता छ ।


ललितपुरलाई स्मार्ट सिटी बनाउने अभियानका काममध्ये ब्रुमर खरिद पनि एक भएको महानगरले जनाएको छ । महानगरको सहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई ब्रुमर पर्याप्त हुने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले बताए । ‘ब्रुमरले स्मार्ट सिटी निर्माणका लागि आधार तयार भएको छ,’ उनले भने, ‘अब ललितपुर पनि धुवाँधुलोमुक्त महानगर बन्छ ।’


महानगरमा रहेको सानो ब्रुमर पुरानो प्रविधिको भएकाले हाल धेरै धुलो फ्याँक्ने र वातावरण प्रदूषण गर्ने भएकाले सञ्चालनमा आउन नसकेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । त्यसैले महानगरलाई धुलोमुक्त सहर बनाउन हाल महानगरले नयाँ प्रविधिका ब्रुमर खरिद गरेको उनले बताए ।


ब्रुमर आए पनि सञ्चालन हुन २० दिन लाग्ने महानगरले जनाएको छ । इटालीबाट आएको टेक्निसियनले महानगरका ड्राइभरलाई ब्रुमर चलाउन र सिकाउन समय लाग्ने भएकाले ब्रुमर चल्न ढिला हुने उनको भनाइ छ । महानगरले रूट तय गरेपछि ब्रुमर सञ्चालनमा आउने छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?