हडपिएका जग्गा फिर्ता ल्याउँदै

दामोदर न्यौपाने

काठमाडौँ — बुद्धवीर अवालले पुस्तौंदेखि कमाएको गुठीको जग्गा भूमाफियाले हडपिसकेका थिए । टेकुको बमवीर विकटेश्वर गुठीको ललितपुर–६ मा रहेको जग्गासम्बन्धी सूचना गोरखापत्र दैनिकमा छापियो । कित्ता नम्बर १०९ को ३ रोपनी १४ आना जग्गा आफ्नो ससुराको पैतृक सम्पत्ति हो भन्दै ललितपुर–७ की राज्य लक्ष्मी राणाले दाबी गरेकी थिइन् ।

टेकुको बमवीर विकटेश्वर गुठीका प्रमुख राजविक्रम राणा गुठीका हडपिएका जग्गा फिर्ता ल्याउने क्रममा भएका फैसला, प्रमाणलगायत मिलाउँदै । तस्बिर : दामोदर/कान्तिपुर

गोरखापत्रमा सूचना छापिएछ बमवीर विकटेश्वर गुठीका प्रमुख राजविक्रम राणा गुठीको जग्गा भएको दाबी गर्न पुनरावेदन अदालत गए । ‘ससुराको सम्पत्ति हो भनेर किर्ते गरेकी रहिछन्,’ राणा भन्छन्, ‘त्यो कित्ताको जग्गा गुठीको भएको प्रमाण लिएर म पुनरावेदन गएँ ।’

गुठीका जग्गाको तिरो बुद्धवीरले तिरिराखेका थिए । त्यही बेला जग्गा तिरो तिर्दातिर्दै जग्गा भने राणाले हडपिसेकी रहिछन् । राणाले सार्वजनिक सूचना जारी गरेपछि पहिला जिल्ला अदालतमा मुद्दा चलेको थियो । जिल्ला अदालते गुठीको पक्षमा फैसला गरिदियो । जिल्ला अदालतको फैसलाविरुद्ध राणा पुनरावेदन गइन् । पुनरावेदनले पनि गुठीकै पक्षमा सदर गरिदियो ।

‘दुई वर्ष लाग्यो जग्गा फिर्ता ल्याउन’ उनले भने । काठमाडौं धापासीमै रहेका जग्गा पनि राणाकै पहलमा फिर्ता भयो । धापासीको कित्ता नम्बर ५ र ६ को जग्गा ३ जनाले आफ्नो नाममा दर्ता गरेका थिए । कित्ता नम्बर ५ को १ रोपनी ५ आना २ पैसा र कित्ता नम्बर ६ को ३ रोपनी १४ आना २ पैसा जग्गा मालपोत कार्यालय चाबहिलबाट सुनसरी महेन्द्र नगरका पृथ्युविक्रम राणा, काठमाडौं गणबहालका भवानीविक्रम राणा र पवित्रविक्रम राणाले आफ्नो नाममा पारेका थिए ।

आफ्नो नाममा पारेर उनीहरूले पनि ३५ दिनभित्र हकदाबी गर्न गोरखापत्रमा सूचना जारी गरेका थिए । यही सूचनाका आधारमा हकदाबी गर्न राजविक्रम प्रमाणसहित गुठी संस्थान गएका थिए । जग्गा आफ्नो भनेर दर्ता गर्ने तीन जनाको दाबी बदर गर्न माग गर्दै राणाले संस्थानमा माग गरेका थिए । संस्थानका तत्कालीन प्रशासक सेमन्तराज चापगाईंले मालपोतको निर्णय बदर गर्न माग गर्दै पत्र लेखे । मालपोत कार्यालयले निर्णय रद्द गरिदियो ।

जग्गा बमवीर विकटेश्वर गुठीकै नाममा कायम भयो । गुठीका मोहीले लालपुर्जा पाए । ललितपुर धापाखेलमा हडपिएको करिब ३५ रोपनी जग्गा पनि राणाले नै फिर्ता ल्याए । कित्ता नम्बर ६० र ११८ को बमवीर विकेटेश्वर गुठीकै नाममा रहेको जग्ग ललितपुर सानेपा बस्ने नरेन्द्रविक्रम राणाले आफ्नो नाममा दर्ता गर्न तयारी गरिरहेकै अवस्थामा राजविक्रमले फिर्ता ल्याउन सफल भए ।

ताछीविक्रम राणाले व्यक्तिगत जग्गा गुठीको नाममा राखिदिएका थिए । नरेन्द्रले पनि हक दाबी गर्न गोरखापत्रमा ३५ दिने सूचना जारी गरेपछि राजविक्रमले थाहा पाएका थिए । ‘सूचना प्रकाशित गरेपछि मैंले थाहा पाएँ,’ राणा भन्छन्, ‘प्रमाण खोजेर यो जग्गा पनि फिर्ता ल्याउन सफल भइयो ।’

गणबहाल बस्ने डेबिडविक्रम राणाले नै भक्तपुर दधिकोटको जग्गा आफ्नो नाममा दर्ता गराउन गुठी संस्थान भक्तपुर कार्यालयमा निवेदन दिएका थिए । कित्ता नम्बर ११२५ को १ रोपनी ६ आना १ पैसा जग्गा आमा ठकुरानी राणाको नाममा दर्ता रहेको भनेर डेबिडले निवदेन दिएका थिए । राजविक्रमले यो जग्गाा पनि हडप्न दिएनन् । ‘गुठीमा हामीले प्रतिउत्तर दियौं । प्रमाण पेस गर्‍यौं,’ राणा भन्छन्, ‘यो जग्गामा पनि पूर्वमोही कायम गराइयो । जग्गा साविकगुठी नै कायम गराइयो ।’

पैतृक सम्पत्ति छुट गर्न बाँकी भनेर बमवीर विकटेश्वर गुठीकै तीन थानामा रहेको जग्गा पनि गुठीमै फर्काउन सफल भएका छन् राजविक्रम । काठमाडौंवासी आनन्दविक्रम राणाले आफ्नो पैतृक सम्पत्तिमा दर्ता गर्न छुट भएको भन्दै २५ रोपनीमध्ये ७ रोपनी जग्गा हडप्न खोजेका थिए ।

आनन्दविक्रमले आफ्नो जग्गा भएकाले दर्ता गर्न माग गर्दै मालपोत कार्यालय कलंकीमा निवदेन दिएका थिए । गुठीको जग्गा माग गर्दै उनीहरू अदालत गए । अदालतले गुठीकै जग्गा भएको फैसला गरिदियो । फेरि अर्जुनविक्रम राणाले आफ्नो पैतृक सम्पत्ति भनेर मालपोतमा माग दाबी गरे । त्यहाँ पनि बमवीर गुठीले प्रमाण पेस गर्‍यो । ‘समितिको पहलमा जग्गा फिर्ता ल्याउन सफल भयौं,’ राजविक्रम भन्छन् ।

बुबाको नाम मिल्यो भन्दै दाबी
बमवीर विकटेश्वर गुठीका तत्कालीन तालुकतार पुण्यविक्रम राणाको नाममा नापी भएको रहेछ भक्तपुर झौखेलको जग्गा । १० रोपनी जग्गामा बाबुको नाम मिल्यो भन्दै चरित्रविक्रम राणाले जग्गा दाबी गरेछन् । ‘उनको बुबाको नाम पनि पुण्यविक्रम रहेछ,’ राज भन्छन्, ‘उनको बुबा र गुठीका पूर्वतालुकदार पुण्यविक्रम फरक हुन् ।

भूमाफियाले तेरो बुबाको नाममा रहेछ, दाबी गर भनिदिएछन् । त्यही आधारमा चरित्रविक्रमले दाबी गरे ।’ राणाले हडपेको १० रोपनी जग्गा पनि गुठीकै नाममा फिर्ता भएको छ । कित्ता नम्बर १११, ९७, ११४, ११५, १०० चरित्र विक्रमले दाजुभाइको नाममा दर्ता गर्न खोजेका थिए । ‘यो प्रयास पनि सफल हुन दिइएन,’ राजविक्रम भन्छन्, ‘जग्गाामा पूर्व मोहीकै नाममा मोहियानी हक कायम गराइयो । मोहीले गुठीलाई तिरो बुझाउँछन् ।’

गुमेका जग्गा गुठीमै फर्काएले संस्थानले राणाको मूल्यांकनसमेत गरेको छ । ‘उहाँ राम्रो काम गर्नुभएको छ,’ संस्थानका प्रवक्ता सरोज थपलिया भन्छन्, ‘त्यही भएर उहाँलाई हामीले सम्मानसमेत गरेका छौं ।’ ५२ राणाले २०६३ सालबाट गुठीका जग्गा फिर्ता ल्याउन कानुनी लडाइँ लडेका हुन् । भूमाफियाकै चंगुलमा परेको चोभार मच्छेगाउँको जग्गा पनि कब्जाबाट फिर्ता आएको छ । कित्ता नम्बर ७८ को ४ रोपनी ६ आना क्षेत्रफलको जग्गा काठमाडौं डिल्लीबजार बस्ने सुरेन्द्र सिंह केसीले हडपेका थिए । उक्त जग्गा आफ्नो नाममा ल्याउन बम विकटेश्वर गुठी पुनरावेदन अदालत गयो । पुनरावेदनले गुठीकै पक्षमा फैसला गरिदियो ।

निजी खर्चमा कानुनी लडाइँ
गुठीको सीमित आम्दानीले मुद्दा मामला गर्नु कल्पनाबाहिरको कुरा भएको राणा बताउँछन् । आफ्नो व्यक्तिगत खर्चमा जग्गा फिर्ता ल्याउने अभियानमा लागेको राणा बताउँछन् । रेखदेख संस्थानले गर्न थालेपछि गुठीको आम्दानी घटेको छ ।

जंगबहादुरका भाइ बमबहादुर राणाले टुकुमा भव्य बम विकटेश्वर शिवालय निर्माण गरेर त्यसको सञ्चालनका लागि देशका विभिन्न ठाउँमा भएको ६ सय ७० रोपनी जग्गा राखिदिएका थिए । विसं. १९०७ मा टेकु पचलीमा बमवीर विकटेश्वर शिवालय निर्माण गरेका थिए बमबहादुरले । पुरातत्त्वविद् प्रकाश दर्नालका अनुसार नेपाल बनेका मन्दिरमध्ये बम्बीकटेश्वर मौलिक वास्तुकला र शैली भएको अद्वितीय मन्दिर हो । यसबाहेक पचलीमै विभिन्न ८ वटा मन्दिर, शिवालय, पाटीपौवा बनाए ।

उनले बनाएका पाटीमा साधुसन्त आएर बस्थे । त्यही जग्गाको आयस्ताले विभिन्न ८ वटा मन्दिरमा नित्यपूजा र १५ भन्दा बढी जात्रा पर्व सञ्चालन हुँदै आएको थियो । ती जग्गा गुठी संस्थानले लिएर त्यसबापत् वर्षमा ८५ हजार दिन्छ । ‘गुठीको आम्दानी त्यति हो,’ राज भन्छन्, ‘केन्द्रबाट मुद्दा मामलालाई सहयोग छैन । बमबहादुरको सन्तान भएकाले इतिहास संरक्षणमा लागेको हुँ ।’ वकिल खर्च, प्रमाण जुटाउन, फोटोसमेत गरेर एउटा मुद्दामा २/३ लाख रुपैयाँ खर्च भएको राणा बताउँछन् ।

गुठीकै छेउको १२ रोपनी पोखरी र बगैँचाको मोही नलाग्ने जग्गा हडपेर आलिसान महल बनाइएको छ । ‘अब यो जग्गा पनि फिर्ता ल्याउने अभियानमा छौं,’ राणा भन्छन्, ‘यसका लागि बुबा पनि लड्नुभयो । हामी पनि लडिराखेका छौं । एक दिन यो जग्गा पनि फिर्ता ल्याएरै छाड्छौं ।’

प्रमाण खोज्नै मुस्किल
गुठी जग्गाको संरक्षणको जिम्मा गुठी संस्थानको हो । संस्थान २०२१ सालमा स्थापना भएयता राजगुठीका जग्गा प्रशासनको कामसमेत गुठी संस्थानले गर्छ । संस्थानले गुठीको जग्गा स्याहर्नै नसकेको गुठियारको गुनासो छ । गुठी संस्थानको तथ्यांकअनुसार नेपालमा देवताका नाममा ७ लाख ५६ हजार बिगा जमिन राखिएका छन् । त्यसलाई रोपनीमा परिवर्तन गर्दा १४ लाख रोपनी हुन्छ ।

राजगुठी मात्रै २ हजार ३ सय वटा छन् । ती गुठीका जग्गाको अवस्था के कस्तो छ भनेर गुठी नै अनविज्ञ रहेको राणा बताउँछन् । संस्थानका प्रवक्ता थपलिया जग्गा प्रशासनको काम गर्ने दायित्व कानुनअनुसार पनि संस्थान नभएको बताउँछन् । ‘संस्थानको काम धर्म, संस्कृति संरक्षण गर्ने हो,’ थपलिया भन्छन्, ‘तर जग्गा प्रशासनको काम पनि हामीले गर्नुपरेको छ । कानुनले जग्गा प्रशानको काम हामीलाई दिएकै छैन ।’

संस्थान संरक्षणमा संवेदनशील नभएको राणाले गुनासो गरे । प्रमाण खोज्नै समस्या भएको उनले बताए । ‘गुठी संस्थानको अभिलेखालयमा प्रमाण खोज्नै मुस्किल भयो,’ राणा भन्छन्, ‘खोजतलास गरेर बल्ल निकालें प्रमाण । गुठीका जग्गा के कस्तो हालतमा छ, गुठी केन्द्रलाई पत्तै छैन । प्रमाण खोज्ने क्रममा संस्थानको लथालिंग अवस्था मैले थाहा पाएँ ।’ गुठीका जग्गा लगायत सम्पत्तिको स्रेस्ता राख्न संस्थानले छुट्टै अभिलेखालयको व्यवस्था गरेको छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

विद्युतीय बसमा रेडियो कान्तिपुर

कान्तिपुर संवाददाता

काठमाडौँ — नीजि क्षेत्रबाट पहिलोपटक राजधानीमा गुड्न लागेको विद्युतीय बससँग सहकार्यका लागि आइतबार रेडियो कान्तिपुरको समझदारी भएको छ । 

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा र रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डीसीले हस्ताक्षर गरेको समझदारी पत्रअनुसार भदौ पहिलो सातादेखि काठमाडौं रिङ रोडभित्र सञ्चालन हुने विद्युतीय बसमा रेडियो कान्तिपुर मात्रै प्रसारण हुनेछ । यसबाहेक रेडियो कार्यक्रमसम्बन्धी सहकार्यसमेत हुन सक्नेअध्यक्ष थापाले बताए ।

उनका अनुसार भदौ पहिलो साताबाट ७ वटा सुविधा सम्पन्न विद्युतीय बस सञ्चालनमा आउनेछन् । यस वर्ष तीस वटा पुर्‍याउने लक्ष्य रहेको उनले बताए । ‘हरेक बसमा तीनवटा एसी र सात सीसीटीभी हुनेछन्,’ उनले भने, ‘पछिल्लो सिट माथि उठाइएको छ, जसकारण यात्रुले सहजता महसुस गर्नेछन् ।’

उनका अनुसार यात्रुले मोबाइल र कार्डबाट पनि टिकटको रकम तिर्न सक्ने सुविधा उपलब्ध हुनेछ । युरो–५ स्ट्यान्डरको बस चिनियाँ कम्पनी बीएकेको निर्माण सहकार्य रहेको पनि थापाले जनाए । रेडियो कान्तिपुरका स्टेसन म्यानेजर डीसीले समाजसित सञ्चारलाई जोड्न सुन्दर यातायातसितको सहकार्यप्रभावकारी हुने बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्