विद्युतीय बसमा रेडियो कान्तिपुर
काठमाडौँ — नीजि क्षेत्रबाट पहिलोपटक राजधानीमा गुड्न लागेको विद्युतीय बससँग सहकार्यका लागि आइतबार रेडियो कान्तिपुरको
समझदारी भएको छ ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा र रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डीसीले हस्ताक्षर गरेको समझदारी पत्रअनुसार भदौ पहिलो सातादेखि काठमाडौं रिङ रोडभित्र सञ्चालन हुने विद्युतीय बसमा रेडियो कान्तिपुर मात्रै प्रसारण हुनेछ । यसबाहेक रेडियो कार्यक्रमसम्बन्धी सहकार्यसमेत हुन सक्ने अध्यक्ष थापाले बताए ।
उनका अनुसार भदौ पहिलो साताबाट ७ वटा सुविधा सम्पन्न विद्युतीय बस सञ्चालनमा आउनेछन् । यस वर्ष तीस वटा पुर्याउने लक्ष्य रहेको उनले बताए । ‘हरेक बसमा तीनवटा एसी र सात सीसीटीभी हुनेछन्,’ उनले भने, ‘पछिल्लो सिट माथि उठाइएको छ, जसकारण यात्रुले सहजता महसुस गर्नेछन् ।’
उनका अनुसार यात्रुले मोबाइल र कार्डबाट पनि टिकटको रकम तिर्न सक्ने सुविधा उपलब्ध हुनेछ । युरो–५ स्ट्यान्डरको बस चिनियाँ कम्पनी बीएकेको निर्माण सहकार्य रहेको पनि थापाले जनाए । रेडियो कान्तिपुरका स्टेसन म्यानेजर डीसीले समाजसित सञ्चारलाई जोड्न सुन्दर यातायातसितको सहकार्य प्रभावकारी हुने बताए ।
प्रकाशित : श्रावण २०, २०७६ ०७:४४