कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हनुमन्ते सफाइ अभियान ७५औं हप्तामा

कान्तिपुर संवाददाता

(भक्तपुर) — हनुमन्ते सफाइ अभियानले ७५ औं हप्तासम्म निरन्तरता पाएकोमा शनिबार सडक हरियाली अभियान थालेको छ । हनुमन्ते सरसफाइ अभियानको ७५ औं हप्ताको अवसरमा शनिबार सफाइसँगै अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक तीनकुने ६ लेन सडकको घलाँतेस्थित सडक किनारामा दुबो रोप्ने कार्यको थालनी गरिएको हो ।

हनुमन्ते सफाइ अभियान ७५औं हप्तामा

सूर्यविनायक नगरपालिका ५ घलाँतेमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, हनुमन्ते सफाइ अभियानका मुख्य अभियन्ता प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका व्यक्तित्वहरू, शिक्षक, विद्यार्थीलगायतको उपस्थितिमा सडक हरियाली अभियान थालेको हो ।


हनुमन्ते सरसफाइको नाममा समग्र भक्तपुर सरसफाइ अभियानलाई नेतृत्व गरेको भन्दै वन तथा वातावरण मन्त्री बस्नेतले अभियन्ताको प्रशंसा गरेका छन् । ‘हनुमन्ते सरसफाइको नाममा भक्तपुर समृद्धिको अभियानमा अघि बढेको छ,’ उनले भने, ‘यो अभियानले भक्तपुरको मात्र नभई मुलुकलाई सभ्यता सिकाएको छ ।’


सांसद बस्नेतले राजनीतिमा प्रतिस्पर्धा विकासमा ऐक्यबद्वता हुनुपर्ने औंल्याउँदै हनुमन्ते खोलालाई नुहाउन योग्य बनाउने बताएका छन् । सफाइ अभियानले सकरात्मक सन्देश दिँदै आएको भन्दै अरनिको राजमार्ग सडकखण्डअन्तर्गत कोटेश्वरदेखि साँगासम्मको सडकलाई हरियाली तथा नमुनायोग्य सडक बनाइने उनले बताए । हनुमन्ते सरसफाइ अभियान २०७४ फागुन २९ मा देखि प्रत्येक शनिबार सरसफाइ गरिँदै आएको छ ।


सफाइ अभियानका संयोजक सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले सफाइसँगै सुरक्षित भक्तपुरको परिकल्पनाअनुरूप कार्य गर्दै आएको बताए । हरियाली सडक निर्माणका लागि वातावरण विभाग बबरमहलले १ करोड ४५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख थापाले बताए । उक्त बजेट लागतमा मनोहरा पुल जगातीदेखि सूर्यविनायकसम्मको ६ लेन सडक किनारामा दुबो लगाउने, बिरुवा रोप्ने, पुराना बिरुवा कटिङ तथा व्यवस्थापन गर्ने योजना रहेको उनले बताए ।


हनुमन्तेसँगै मनोहरा खोलादेखि साँगासम्म अरनिको राजमार्ग सफाइ अभियानले निरन्तरता पाएको छ । मनोहरादेखि सूर्यविनायक सम्मको सडकमा सडक बत्ती जडान, डस्टबिन राख्ने योजना भएको नगरप्रमुख थापाले बताए । अभियानमा सडक, बस्ती, टोल, चोक सफाइ गर्ने, लागूऔषध दुर्व्यसनी, विभिन्न प्रकारका विकृति तथा विसंगतिका बारेमा अनुगमनलगायतको कार्य भइरहेको समेत उनले बताए । हनुमन्ते नदी सफाइ अभियान र अरनिको राजमार्ग सफाइ अभियानको तेस्रो चरणलाई श्रम शिविरको रूपमा विकास गर्दै आएको सफाइ मुख्य अभियन्ता बस्नेतले बताए ।


अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा स्थानीय बासिन्दा, संघसंस्था, विद्यालय, समूह, होटल व्यवसायी, जनप्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी लगायतलाई सहभागिता गराउँदै आएको नगरपालिकाले जनाएको छ ।


मध्यपुर थिमिमा सफाइ श्रमशिविरमध्यपुर थिमि नगरको विभिन्न संघसंस्थामा आवद्ध युवाहरूले मध्यपुर थिमि सफाइ श्रमशिविर अभियान थालेका छन् । शनिबारसम्म पाँच सातासम्म नियमित सफाइ श्रमशिविरमा उत्रिएका युवाहरूले ऐतिहासिक विष्णु कुण्डल, विष्णुवीर, बालकुमारीलगायत क्षेत्रमा फोहोर संकलन गरेको छ । श्रमशिविरमा उत्रिएका युवालाई मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र भैरव बहान गुल्म गठ्ठाघरको साथ रहेको स्थानीय विजयकृष्ण श्रेष्ठले बताए ।


प्रकाशित : श्रावण १९, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?