कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झोंछेमा एक लाइन पार्किङ

आकस्मिक सवारीसाधन एम्बुलेन्स पनि चल्न नसक्ने भएकाले एक लाइन पार्किङ सुरुवात
सीमा तामाङ

काठमाडौँ — भित्री क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या बढेसँगै वसन्तपुरस्थित झोँछेमा एक लाइन पार्किङ सुरु भएको छ । न्युरोड क्षेत्रमा काठमाडौं महानगरले स्मार्ट पार्किङ सुरु गरेसँगै ससाना गल्लीमा सवारीसाधनको चाप बढेपछि स्थानीयकै पहलमा एक लाइन पार्किङ सुरु गरिएको हो । 

झोंछेमा एक लाइन पार्किङ

अव्यवस्थित पार्किङले गर्दा स्थानीय बटुवादेखि बाहृय पर्यटकलाई पनि हिँड्न सकस भइरहेको थियो । महानगरले पार्किङलाई व्यवस्थित बनाउन सके गल्लीहरूमा सवारीसाधनको चाप कम हुने र आन्तरिक तथा बाहृय पर्यटक दुवैको चाप बढ्ने स्थानीय व्यवसायीको भनाइ छ । वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले स्थानीयको समस्या र गुनासोलाई समेट्न एक लाइन पार्किङ सुरु गरेको हो । वडाका तर्फबाट यसलाई प्राविधिक सहयोग गरेको हो । ‘आकस्मिक सवारीसाधन पनि आउजाउ गर्न समस्या भएपछि स्थानीयकै पहलमा नि:शुल्क पार्किङ सुरु गरेको हो,’ उनले भने, ‘स्थानीयको सहयोग मिले २३ वडाका अन्य गल्लीमा व्यवस्थित पार्किङ सुरु गर्छौं ।’


आकस्मिक सवारीसाधन एम्बुलेन्स पनि चल्न नसक्ने भएकाले एक लाइन पार्किङको सुरुवात गरेको स्थानीय एवं सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले बताए । ‘अव्यवस्थित पार्किङले गर्दा अन्य सवारीसाधन चल्न पाएनन्,’ उनले भने, ‘त्यसैले स्थानीय तथा व्यवसायीको सहयोगमा एक लाइन पार्किङ सुरु गरेको हो ।’


सानो गल्ली भए पनि तीन/चार लाइन पार्किङ गर्ने भएकाले अपांग त के सबलांगलाई पनि हिँड्न सकस भएको स्थानीयको गुनासो आएपछि ती गुनासोलाई समेट्न सोमबारदेखि व्यवस्थित पार्किङ सुरु गरेको छ । पर्यटकीय क्षेत्र भए पनि खुला रूपमा हिँड्न नपाउँदा बाहृय पर्यटक आए पनि १० मिनेट पनि बस्न नसक्ने वातावरण भएको उनको अनुभव छ । व्यासायिक क्षेत्र भएकाले पूर्ण रूपमा पार्किङ निषेध गर्दा व्यवसायमा क्षति पुग्न सक्छ । पुरानो पर्यटक क्षेत्रलाई ब्युँताउने तरिकाले झोँछे क्षेत्रका स्थानीयले पार्किङलाई व्यवस्थित बनाएका हुन् । झोँछे सामुदायिक समाज, वडा नम्बर २३, नेपाल प्रहरी जनसेवा तथा महानगरीय ट्राफिक प्रहरी जनसेवाको सहकार्यमा व्यवस्थित तथा नि:शुल्क पार्किङ सुरु गरिएको छ । वडाले प्राविधक सामग्री उपलब्ध गराएको र ट्राफिक प्रहरीले व्यवस्थापन गर्नका लागि दैनिक मोटरसाइकलबाट छड्के चेक गर्ने र नगर प्रहरीसमेत रहने अभियन्ता श्रेष्ठले बताए ।


गल्लीमा हुने अव्यवस्थित पार्किङलाई नियन्त्रण गर्न अभियानकै रूपमा अगाडि बढाउने योजना रहेको छ । यो एक दिनको मात्र कार्यक्रम नभएर यसलाई अभियानकै रूपमा अन्य टोलमा पनि लागु गर्ने योजना छ । श्रेष्ठका अनुसार एक महिनासम्म निषेधित क्षेत्रमा पार्क गर्ने सवारी चालकलाई कुनै पनि कारबाही गरिँदैन । तर त्यसपछि पनि टेरेनन् भने सवारीसाधनलाई सिक्री लगाएर बाँधिदिनेलगायतका कारबाहीको व्यवस्थापन हुने छ । पार्किङ क्षेत्रमा सवारीसाधन निश्चित क्षेत्रभन्दा बाहिर पार्क नगरून् भनी ‘रबरप्रिन्ट’ समेत गर्ने योजना छ ।


एक लाइन पार्किङ गर्दा हिँड्न सजिलो भएको मजदुरहरूको भनाइ छ । पर्यटकीय क्षेत्र भएकाले सवारीसाधन निषेध गर्न पनि सकिँदैन । त्यसैले एक लाइन पार्किङ गरेको स्थानीय सहदेव थापाले बताए । उनका अनुसार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेसँगै गल्लीगल्लीमा सवारीसाधनको चाप बढेको हो । स्मार्ट पार्किङले सवारी चालकलाई सुविधा दिए पनि त्यहाँका व्यवसायीलाई भने गाह्रो भएको झोँछेका स्थानीयको भनाइ छ । त्यसैले हाल न्युरोड आसपासका गल्ली सवारीसाधनले भरिएको छ ।


प्रकाशित : श्रावण १९, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?