लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

रासस

काठमाडौँ — ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । 'हतारोका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौँ,' उनले भने ।


महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।


कारवाही परेकामध्ये ४० हजार ६१९ पुरुष र दुई हजार २०३ महिला रहेका छन् । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पाँचसय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।


उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विस २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो । महाशाखाले हालसम्म तीन लाख आठ हजार ५४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताए ।


यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

दोलखामा पहिरोले १० घर पुरिए, दुई जना सम्पर्कविहीन 

राजेन्द्र मानन्धर

दोलखा — गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राति पहिरो खस्दा १० घर पुरिएका छन् । घटनामा दुई जना सम्पर्कविहीन भएका छन् ।

राति पहिरो जान थालेपछि अन्य स्थानीयले भने भागेर ज्यान जोगाएका छन् ।

५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । पहिरोबाट बच्न घरबाट भाग्दै गरेका खत्री र पहिरोले पुरिन लागेको बस निकाल्न गएका खड्का सम्पर्कविहीन भएका हुन । पहिरोले पुरिन लागेको थाहा पाएपछि खड्का बस निकाल्न गएका थिए ।

पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । १० घर पुरिएको र ११ घर अति जोखिममा भएकाले स्थानीयले घर छाडेका छन् ।

अहिले पहिरोग्रस्त क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीय प्रशासन र गाउँपालिकाको टोली खटिएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×