जन्मेको ३ दिनमै बट्टाको दूध

नवजात शिशुका लागि आमाको दूध खोपसरह मानिन्छ । आमाको दूधजस्तो पोसिलो केही चिज छैन भनिए पनि शिशु खानबाट वञ्चित भइरहेका छन् ।
फातिमा बानु

काठमाडौँ — राजधानीकी ३२ वर्षीया महिलाले गत साता थापाथलिस्थित प्रसूति गृहमा शल्यक्रिया गरी शिशु जन्माइन् । पहिलो बच्चा भएकाले आमाले बच्चालाई दूध खुवाउन जानिनन् । शिशु भोकाएर रोयो भन्दै बिहान जन्मेको शिशुलाई साँझ अस्पतालका डाक्टर र नर्सले बट्टाको दूध (फर्मुला मिल्क) खुवाउन सुझाए । शिशु अहिले आमाको भन्दा बट्टाको दूध नै रुचाउने गरेको ती महिला बताउँछिन् ।

जन्मेको ३ दिनमै बट्टाको दूध

बट्टाको दूधको फाइदा बेफाइदाबारे आफूलाई केही थाहा नभएको उनले बताइन् । प्रसूति गृहमा अधिकांश शिशुलाई जन्मेको केही घण्टामा स्वास्थ्यकर्मीकै सल्लाहमा आमाको दूधको साटो बट्टाको दूध खुवाइने गरिएको छ ।


नवजात शिशुका लागि आमाको दूध खोप सरह मानिन्छ । शिशुका लागि आमाको दूधजस्तो पोसिलो केही चिज छैन भनिरहँदा पछिल्लो समय नवजात शिशु आमाको दूध खानबाट वञ्चित भइरहेका छन् । विशेषगरी शल्यक्रियाबाट जन्मिने शिशु आमाको दूध पाउँदैनन् । ‘शल्यक्रिया गर्दा आमा पीडामा हुन्छिन् । दूध आउँदैन । बच्चाले दूध चुस्दा आमालाई दुख्छ,’ जस्ता बाहनामा स्तनपान घट्दै गइरहेको पोषणविद् डा. अतुल उपाध्याय बताउँछन् । हेलेन केलरले सन् २०१४ मा उपत्यकाका अस्पतालमा गरेको एक अध्ययनअनुसार ५७ प्रतिशत शिशुलाई जन्मेको तीन दिनभित्रै बट्टाको दूध खुवाइने गरिएको छ ।


परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार बढ्दो आधुनिकता, महिलाको शरीर सौन्दर्यताको चिन्ता र स्तनपानका फाइदाबारे जनचेतना नपुग्दा शिशुले आमाको दूध खान पाइरहेका छैनन् । उनी भन्छन्, ‘बच्चालाई जन्मेको आधा घण्टाभित्र आमाको दूध चुसाउनुपर्छ । शल्यक्रिया गरिएका महिलाले यति समयभित्र बच्चालाई दूध खुवाउन सकिरहेका छैनन् ।’ नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणअनुसार २५ वर्षअघि नेपालमा स्तनपान दर ७५ प्रतिशत थियो ।


जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पूर्ण स्तनपान घटेर ६६ प्रतिशतमा झरेको छ । काठमाडौं उपत्यकामा स्तनपानको दर अझै कमजोर छ । यहाँ ४१ प्रतिशत शिशुले मात्रै जन्मेको एक घण्टाभित्र आमाको दूध खान पाउँछन् । गर्भावस्थामा चारपटक स्वास्थ्य संस्थामा पुग्दा स्वास्थ्यकर्मीले स्तनपानका फाइदाबारे परामर्श नदिनु, शल्यक्रिया गरी बच्चा जन्माउँदा पनि सजिलै दूध खुवाउन सकिने भए पनि यसमा स्वास्थ्यकर्मीले आमालाई नसघाउनु र कामकाजी महिलाले बच्चालाई समय दिन नभ्याउनु स्तनापनदर घट्नुको मुख्य कारण मानिन्छन् ।


डा .उपाध्याय भन्छन्, ‘अप्रेसन गरेका आमाको दूध आउन गाह्रै हुन्छ । स्वास्थ्यर्मीले केही समय दिएर स्तन र ढनड मसाज गर्ने र परामर्श गर्ने गरेमा दूध आउँछ र यस्तो गरेमा बच्चा बिगौती दूध खानबाट वञ्चित हुँदैनथे ।’ बिगौती दूधको साटो शिशु जन्मनासाथ घिउ, मह, चिनी र कृत्रिम दूध चटाउने अभ्यास रहेको उनले बताए ।


हेलेन केलर र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१४ मा उपत्यकाका अस्पतालभित्र गरेको अध्ययनले ४८ प्रतिशत आमालाई स्वास्थ्य व्यवसायीले नै बट्टाको दूध सिफारिस गर्ने गरेका छन् ।


११ प्रतिशत महिलाले मात्रै गर्भावस्थामा स्तनपानबारे परामर्श पाउने गरेका छन् । कामकाजी महिलाले बच्चालाई दूध खुवाउन प्रेरित गर्नका लागि सरकारले प्रत्येक कार्यालयमा स्तनपान कक्ष बनाउनैपर्ने बाध्यकारी नियम निर्माण गर्नुपर्ने प्रमुख पराजुली बताउँछन् । उनी भन्छन्, ‘हामीले गत वर्षदेखि स्वास्थ्य सेवा विभागमै स्तनपान कक्ष निर्माण गरेर यो अभियान थालेका छौं । देशका सबै स्थानीय तहमा यस्तो कक्ष निर्माण गर्ने तयारी छ ।’ अहिले प्रधानमन्त्री कार्यालय, काठमाडौं र विरागनगरका एयरपोर्टमा पनि स्तनपान कक्ष बनिसकेको उनले बताए ।


रोकिएन फर्मुला मिल्कको खुला बिक्री

कानुनले खुला रूपमा फर्मुला मिल्कको बिक्रीवितरण गर्न रोक लगाए पनि यो रोकिएको छैन । अनुगमन पाटो फितलो हुँदा यसको खुला बिक्री नरोकिएको हो । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ अनुसार यस्ता वस्तुको खुला विज्ञापन र बिक्री गर्न पाइँदैन ।


तर राजधानीका सरकारी अस्पताल परिसरभित्रै फर्मुला मिल्कको बिक्री रोकिन सकेको छैन । पोषणविद् डा अरुण उप्रेतीका अनुसार बजारिया दूधले बच्चालाई हानि गर्छ । दूधको बट्टामा अंकित फलफूल र भिटामिन सबै झूट भएको उनले दाबी गरिन् ।


कानुनले फर्मुला मिल्क ऐन उल्लघंन गरेमा मुद्दासमेत चलाउने अधिकार दिए पनि यो व्यवहारमा लागू हुन सकेको छैन । सरकारले स्तनपान जनचेतना बढाउन र फर्मुला मिल्क नियन्त्रण गर्न गत वर्ष ७७ जिल्लामा निरीक्षकलाई तालिम दिए पनि ती जनशक्ति सक्रिय छैनन् ।


बजारिया दूधले बच्चाको रोगप्रतिरोधात्मक क्षमता घटाउने र यसको माग नरोकिएसम्म बालमृत्यु दर नघट्ने बालरोग विशेषज्ञ बताउँछन् । डा उपाध्याय भन्छन्, ‘कामकाजी आमाले बिहान दूध दुहेर सामान्य तापक्रममा राख्दा दिनभरि शिशुलाई त्यही दूध खुवाउन मिल्छ । सरकारले दूध खुवाउनकै लागि आमालाई कार्यालय समयबीच घर जाने वातावरण मिलाउन आवश्यक छ ।’


अस्पतालमा स्तनपान अनुगमन

विश्व स्तनपान सप्ताहलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयको टोलीले शुक्रबार राजधानीका तीन अस्पतालमा स्तनपान अनुगमन गरेको छ ।


टोलीमा स्वास्थ्य सचिव रामप्रसाद थपलिया, संसदको स्वास्थ्य तथा शिक्षा समिति सभापति जयपुरी घर्ती र स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक भीमसिंह टिंकरी र चिकित्सक थिए । टोलीले थापाथलीस्थित प्रसूति गृह, सिनामगंलको नेपाल मेडिकल कलेज र चाबहिलको ओम अस्पतालमा अनुगमन गरेको थियो ।


टोलीले अस्पताल हाताभित्र भेटिएका सुत्केरी र गर्भवती महिलासँग गरेको अन्तरक्रियामा स्तनपानका फाइदाबारे न्यूनलाई मात्रै थाहा भएको महाशाखाको पोषण शाखा प्रमुख केदार पराजुलीले बताए । उनले भने, ‘आमाको दूधको फाइदा र बजारिया दूधको बेफाइदाबारे अझै जनचेतना पुगेको छैन रहेछ । दूध बेच्ने फार्मेसी आफैं यससम्बन्धी कानुनबारे अनविज्ञ भएको पाइयो ।’ टोलीले कानुनविपरीत बजारिया दूधका केही बट्टासमेत जफत गरेको उनले जानकारी दिए ।


आमाबाबुको सक्षमता, स्तनपानको सफलता

विश्व स्तनपान सप्ताह दिवसको अवसरमा कान्ति बाल अस्पताललमा स्तनपानसम्बन्धी प्रदर्शनी गरिएको छ । वीर अस्पताल नर्सिङ क्याम्पसमा अध्ययनरत बीएन दोस्रो वर्षका विद्यार्थीले जनचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शन गरेका हुन् ।


‘आमाबाबुको सक्षमता ः स्तनपानको सफलता’ नाराका साथ जन्मेदेखिका बच्चालाई केन्द्रित गरी जनचेतना दिने काम भएको छ । स्तनपान बच्चाका लागि अमृतसमान भन्दै स्तनपानलाई अर्ली, एक्सक्लुसिव र एक्सटेन्डेड गरी तीन भागमा विभाजन गरिएको छ ।


अर्ली भन्नाले जन्मेको एक घण्टाभित्रै स्तनपान गराउनुपर्ने र एक्सक्लुसिव भन्नाले ६ महिनासम्म आमाको दूध मात्र खुवाउने र एक्सटेन्डेड भन्नाले २ वर्षसम्म आमाको दूध अनिवार्य र पूरक खाना पनि खुवाउने गर्नुपर्छ । क्याम्पसकी विद्यार्थी दिव्या श्रेष्ठका अनुसार ग्रामीण समाजका महिलाले स्तनपान गराए पनि सहरकाले नगराउने गरेको बताइन् ।


प्रदर्शनीमा स्तनपान गराएका बच्चा मोटो, बिरामी कम हुने गरेका फोटा राखिएका छन् । बच्चालाई कंगारू हेरचाह गर्दा आमा, बच्चा फाइदा पुग्छ । कंगारू हेरचाह गर्दा बच्चालाई श्वासप्रश्वासमा सहयोग हुने र रोगसँग लड्न सक्ने क्षमताको वृद्धि हुने गर्दछ । स्तनपान गराउँदा आमालाई सन्तुष्टि मिल्छ भने परिवारलाई पैसाको बचत हुन्छ ।


त्यस्तै आमाले रातमा ३ पटक र दिउँसो ८ पटक दूध खुवाउने हो भने परिवार नियोजनमा पनि सहयोग पुग्ने र ब्रेस्ट क्यान्सर हुनबाट बचाउन छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?