कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना बनेन

कान्तिपुर संवाददाता

भक्तपुर — वन तथा वन्यजन्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि बन्न लागेको राष्ट्रिय प्राणी उद्यान परियोजना तीन वर्षदेखि अलपत्र छ । राष्ट्रिय प्राणी उद्यान कार्यालयले २०७५ साउनमा गुरुयोजना तयार गरी वन तथा वातावरण मन्त्रालय पठायो तर उद्यानको गुरुयोजना मन्त्रालयमै अड्किएको छ । 

गुरुयोजना नै स्वीकृत नभएपछि उद्यान निर्माण अन्योलमा परेको राष्ट्रिय प्राणी उद्यान भक्तपुरका निर्देशक नारायण रूपाखेतीले बताए । गुरुयोजना स्वीकृत नभई सरकारले डीपीआर बनाउने बजेट छुट्याएको छ । चालु आर्थिक वर्ष ०७६/७७ मा गुरुयोजनाबमोजिमको डीपीआर बनाउन ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।


प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकाल २०७२ असार ९ मा शिलान्यास गरेको प्राणी उद्यान सूर्यविनायक नगरपालिका ६, ७ र ८ वडाका (सेतीदेवी, सूर्यविनायक, सञ्जीवनी, लिखानारायण, मन्थली, बालकुमारी र गौरादेवी) गरी सातवटा सामुदायिक वनको २ सय ५९ हेक्टर क्षेत्रफलमा निर्माण हुने भएको छ ।


गुरुयोजनामा उल्लेख भएअनुसार प्राणी उद्यानले २ सय ४५ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना र राष्ट्रिय प्रकृति संरक्षण कोषले १४ हेक्टर क्षेत्रफलमा पशु उपचार केन्द्र निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । प्राणी उद्यानको सिपाडोल, कटुञ्जे र गुण्डुतर्फ तीन वटा प्रवेशद्वार निर्माण गर्ने जनाएको छ ।


उद्यानभित्र ७ वटा जोन बन्ने गरी ३० प्रतिशत क्षेत्रफलमा भौतिक संरचना निर्माण गर्ने, प्राणी उद्यानको वरिपरि चक्रपथ निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । कटुञ्जेको भन्ज्याङबाट गुण्डु कार्की गाउँसम्म आकासे पुल निर्माण, सिपाडोल गुण्डु सुरुङमार्ग निर्माण गर्ने, अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न सभा हल, आवासगृह निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ ।


उद्यानमा पशु उपचार केन्द्र, मनोरञ्जन पार्क, बाल उद्यानलगायत संरचनासमेत निर्माण गरिने जनाएको छ । हालसम्म प्राणी उद्यान स्थापनाका लागि तारजाली लगाउने र डिप बोरिङको कार्य भने सम्पन्न भइसकेको राष्ट्रिय प्राणी उद्यान भक्तपुरले जनाएको छ ।


उद्यानका सहायक संरक्षण अधिकृत मिथिलेश महतोले घ्याम्पेडाँडा, सिपाडोल, सूर्यविनायक मन्दिर, तीनधारा, गणेशमान वाटिका, गुण्डु र खहरे क्षेत्रमा सिमांकन गरिएको बताए । उद्यान क्षेत्रको करिब १५ किलोमिटरमध्ये करिब १२ किलोमिटर घेराबारा गरिएको छ ।


उद्यानले सूर्यविनायक सामुदायिक वनको ४६.२५ हेक्टर, सेतीदेवीको ४.५ सय ४ हेक्टर, मन्थलीको ६४.८ सय ७४, गौरादेवीको ९.३ सय १६, बालकुमारीको १४.६ सय ७७, लिखानारायणको ४०.०१४ र सञ्जीवनीको १५.०२१ हेक्टर जमिन तथा १०.५ हेक्टर सरकारी वनसमेत गरी २ सय ४५.१ सय ६५ हेक्टर जमिन ओगट्ने जनाएको छ ।


सूर्यविनायक ६ स्थित प्राणी उद्यानको सचिवालयका रूपमा रहने कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब ४ करोड रुपैयाँ लागतमा भवन र १ करोड २० लाख रुपैयाँ कम्पाउन्ड वाल निर्माणमा खर्च गरिएको महतोले बताए । कार्यालयले उद्यान क्षेत्रमा खानेपानी वितरणका लागि मन्थली र खहरेमा दुइटा डिप बोरिङ गरेको छ । प्राणी उद्यान निर्माणका लागि करिब साढे ७ अर्ब रुपैयाँ लाग्ने प्रस्ताव गुरुयोजनामा उल्लेख छ ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?