बागदरबार अवहेलनामा विपक्षी झिकाउन आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले बागदरबारसम्बन्धी अवहेलना मुद्दामा विपक्षी बोलाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बागदरबारलाई थप क्षति हुन नदिने पाल हाल्ने काममा अवरोध पुर्‍याउनेविरुद्ध परेको रिटको सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । 

जीर्ण अवस्थामा काठमाडौंको बागदरबार । तस्बिर : दामोदर न्यौपाने/कान्तिपुर

विपक्षीबाट सम्मानित सर्वोच्च अदालतले आदेश गरेबमोजिमको कानुनी दायित्वको परिपालना गर्ने गराउने कार्य नगरी उक्त आदेशको अवज्ञा गर्ने कार्यले न्याय सम्पदामा अवरोध उत्पन्न भएको भन्दै निवेदन दर्ता गराउनुपरेको उल्लेख गरेका छन् ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, काठमाडौं झोँछेका गणपतिलाल श्रेष्ठ, ललितपुर महालक्ष्मी नगरपालिकाका सञ्जय अधिकारीलगायतले काठमाडौं महानगरपालिका, महानगरका कर्मचारी ज्ञानेन्द्र कार्की र कृष्णराज विष्टलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

यसअघि दायर सार्वजनिक सरोकारको रिटमा अदालतले वर्षा लाग्नुअघि यसलाई पानीबाट जोगाउने व्यवस्था गर्न आदेश दिएको थियो । फैसला भएको १५ दिनभित्रै दरबारलाई थप हानि हुन नदिने उपाय अवलम्बन गरिहाल्न अदालतले आदेश दिएको थियो । अदालतको आदेशअनुसार पुरातत्त्व विभागले दरबारको छानामा प्लास्टिकले छोप्ने काम सुरु गरेको थियो । तर महानगरले काम गर्न दिएन । रोकिदियो ।

दरबारमा प्लास्टिक राखेर जोगाउने कामको जिम्मा राज कन्स्ट्रक्सनले पाएको थियो । कन्स्ट्रसनले छानामा त्रिपाल हाल्ने क्रममा महानगरले अवरोध गरेको थियो । कन्स्ट्रक्सनले भित्तामा उम्रिएको घाँस, बिरुवालगायत उखेल्ने काम गरेको थियो । काम गर्न नदिएपछि ठकेदारले काम गर्ने व्यवस्था मिलाइदिन पुरातत्त्व विभागमा पत्राचारसमेत गरेको थियो ।

महानगरका प्रशासन प्रमख हरि कुँवर, सहरी व्यवस्था विभाग प्रमुख राज पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, नाता प्रमाणित तथा पञ्जीकरण प्रमुख गणेशप्रसाद थपलिया, कृष्णराज विष्ट लगायतले त्रिपाल ओडाउने कार्यमा अवरोध गराएको भन्दै कन्स्ट्रसनले विभागलाई पत्र लेखेको छ ।

विभागले ४ लाख रुपैयाँमा त्रिपाल ओडाउने लगायतका कामको जिम्मा दिएको थियो । ‘नियतबश पानी छिराएर दरबार ढाल्ने योजनामा महानगर लागेको छ । जसरी पनि भत्काएरै छाड्ने इगो लिएर बसेका छन् मेयर,’ वरिष्ठ अधिवक्ता शर्मा भन्छन्, ‘दरबार जोगाउन अवरोध गरेर महानगरले अदालतको अवहेलना गरेको छ ।’

बागदरबार संरक्षण गर्ने र थप क्षति हुन नदिने दायित्व सार्वजनिक न्यासको सिद्धान्तअनुसार दरबार संरक्षण गर्ने र थप क्षति हुन नदिने दायित्व सरकारकै भएको अदालतले फैसला गरेको थियो । पुरातत्त्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत बागदरबार संरक्षण गर्न पत्राचार गरेका थिए । तर त्यसलाई महानगरले टेरेन ।

यस्तो कामलाई अदालतले समेत प्राकृतिक रूपमै दरबार भत्कियोस् भन्ने महानगरको नियत शंकास्पद रहेको फैसलामा उल्लेख गरेको थियो । ‘प्राधिकरण र पुरातत्त्व विभागको पत्र पाएपश्चात् पनि हानि हुन नदिने कार्य र उपाय अवलम्बन कोही कसैबाट भए गरेको नपाइएकाले उक्त संरचनालाई प्राकृतिक रूपमा ह्रास हुन दिनेतर्फ नै उन्मुख भएको शंका उत्पन्न हुनु स्वाभाविक देखियो,’ आदेशमा छ, ‘सार्वजनिक न्यासको सिद्धान्त, संरक्षणको सिद्धान्त एवं स्वामित्वसमेतको आधारामा त्यस्तो कर्तव्य र दायित्वसमेत
नेपाल सरकारको रहेको छ ।’

प्रकाशित : श्रावण ९, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

ट्रमाका बिरामी हेर्न वीरका डाक्टरद्वारा अटेरी

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालका चिकित्सकले ट्रमा सेन्टरका बिरामी हेर्न अटेर गरेका छन् । राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) को नियमअनुसार वीरका चिकित्सकले आवश्यक पर्दा ट्रमाका बिरामी हेर्नुपर्ने भए पनि यो व्यवहारमा लागु छैन ।

न्याम्सकै छात्रवृत्तिमा अध्ययन गर्ने न्याम्सअन्तर्गतकै ट्रमा सेन्टरमा बस्नेखाने र बिरामी हेर्नकै लागि न्याम्सबाट तलबबाहेक ५० प्रतिशत थप भत्ता खाने आवासीय चिकत्सक (रेजिडेन्स) र विशेषज्ञले यही संस्थाका बिरामी हेर्न भने मान्दैनन् । विशेषगरी मेडिसिन विभागका चिकित्सक ट्रमा सेन्टर जाँदै जाँदैनन् । न्याम्सले दुई अस्पतालको समन्वय मिलाउन नसक्दा यसको प्रत्यक्ष असर गरिब
बिरामीमाथि परिरहेको छ ।

वीरका चिकित्सकलाई बारम्बार लिखित रूपमा बोलाए पनि उनीहरू नआउने गरेको बताउँदै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेड डा.प्रमोद यादवले भने, ‘लिखित रूपमा बोलाउँदा पनि नआएपछि हामीले व्यक्तिगत सम्बन्धका डाक्टरलाई अनुरोध गरी बोलाएर बिरामी हेर्न लगाएका छौं, तर व्यक्तिगत सम्बन्धको आधारमा मात्रै सधैं यत्रो संस्था चलाउन सकिँदैन ।’

ट्रमा सेन्टरमा आकस्मिक उपचार र शल्यक्रिय चिकित्सकको मात्रै दरबन्दी छ । रोग विशेषज्ञ (जनरल मेडिसन) को छैनन् । दुर्घटनामा परी गम्भीर घाइते भएका, आगोले जलेका, र हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई अन्य रोग पनि देखिन सक्छ । मधुमेह, मुटु, मृगौला, छातीसम्बन्धी समस्या देखिने यस्ता बिरामीका मेडिसिनका चिकित्सकले नहेरी शल्यक्रिया गर्न नसकिने चिकित्सक बताउँछन् ।

मेडिसनका डाक्टर नभएकै कारण बिरामीको उपचार ढिलो हुने गरेको छ । समयमा शल्यक्रिया गर्न सकिएको छैन,’ ट्रमाका एक चिकित्सकले भने । बिरामीलाई शल्यचिकित्सकको जति आवश्यकता पर्छ जनरल मेडिसिनको निगरानी पनि उत्तिकै चाहिने उनले बताए ।

चिकित्सकले वीर अस्पतालमै बिरामीको चाप धेरै हुँदा ट्रमाको बिरामी हेर्न नभ्याएको बताए पनि सेवासुविधामा कुरा नमिल्दा उनीहरूले समन्वय नगरेको अस्पताल स्रोत बताउँछ । ट्रमा सेन्टरका चिकित्सकले कार्यालय समयपछि गरिने पेइङ क्लिनक (ईएचएस) मा बिरामी हेरेबापत पाउने भत्ता वीरका डाक्टरसँग नबाँडेको नहुँमा उनीहरूले ट्रमा जानै छोडिदिएको स्रोतको दाबी छ । ‘ट्रमामा वीरका डाक्टरलाई सौतेती व्यवहार गरिन्छ ।

एउटै संस्था भने पनि हामीलाई उता पार्किङ गर्ने ठाउँसमेत दिँदैनन्,’ स्रोतले भन्यो । चिकित्सक नआएपछि ‘जनरल मेडिसिन कन्सल्टेसन’ का लागि ट्रमाले वीरमै बिरामी पठाउने गरेको छ । गम्भीर घाइते भएर हिँडडुल गर्नै नसक्ने बिरामीलाई ट्रलीमा डोर्‍याएर वीरसम्म पुर्‍याउन, ल्याउन सास्ती हुने गरेको बिरामी पक्ष बताउँछन् ।

वीरका चिकित्सक नआउने र शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने भएपछि कतिपय बिरामी आफैं अन्य अस्पतालमा जाने गरेका छन् । उनीहरू निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन् । रिफर भएर अन्य अस्पताल गइहालेपनि सरकारी अस्पतालमा बिरामीले सजिलै बेड पाउन सक्दैनन् । उनीहरू थप भौंतारिन्छन् ।

ट्रमा सेन्टरमै मेडिसिनका चिकित्सकको दरबन्दी हुनुपर्ने बताउँदै डा.यादवले भने, ‘ट्रमा स्थापना गर्दा नै मेडिसिनका डाक्टरको पनि दरबन्दी राख्नुपर्ने कुरामा त्रुटि भएछ । सर्भे गरेर लोक सेवामार्फत यस्ता डाक्टरको दरबन्दी खुलाउने छलफल भएको छ ।’

प्रकाशित : श्रावण ९, २०७६ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्