१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

ट्रमाका बिरामी हेर्न वीरका डाक्टरद्वारा अटेरी

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालका चिकित्सकले ट्रमा सेन्टरका बिरामी हेर्न अटेर गरेका छन् । राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) को नियमअनुसार वीरका चिकित्सकले आवश्यक पर्दा ट्रमाका बिरामी हेर्नुपर्ने भए पनि यो व्यवहारमा लागु छैन ।

ट्रमाका बिरामी हेर्न वीरका डाक्टरद्वारा अटेरी

न्याम्सकै छात्रवृत्तिमा अध्ययन गर्ने न्याम्सअन्तर्गतकै ट्रमा सेन्टरमा बस्नेखाने र बिरामी हेर्नकै लागि न्याम्सबाट तलबबाहेक ५० प्रतिशत थप भत्ता खाने आवासीय चिकत्सक (रेजिडेन्स) र विशेषज्ञले यही संस्थाका बिरामी हेर्न भने मान्दैनन् । विशेषगरी मेडिसिन विभागका चिकित्सक ट्रमा सेन्टर जाँदै जाँदैनन् । न्याम्सले दुई अस्पतालको समन्वय मिलाउन नसक्दा यसको प्रत्यक्ष असर गरिब

बिरामीमाथि परिरहेको छ ।


वीरका चिकित्सकलाई बारम्बार लिखित रूपमा बोलाए पनि उनीहरू नआउने गरेको बताउँदै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेड डा.प्रमोद यादवले भने, ‘लिखित रूपमा बोलाउँदा पनि नआएपछि हामीले व्यक्तिगत सम्बन्धका डाक्टरलाई अनुरोध गरी बोलाएर बिरामी हेर्न लगाएका छौं, तर व्यक्तिगत सम्बन्धको आधारमा मात्रै सधैं यत्रो संस्था चलाउन सकिँदैन ।’


ट्रमा सेन्टरमा आकस्मिक उपचार र शल्यक्रिय चिकित्सकको मात्रै दरबन्दी छ । रोग विशेषज्ञ (जनरल मेडिसन) को छैनन् । दुर्घटनामा परी गम्भीर घाइते भएका, आगोले जलेका, र हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई अन्य रोग पनि देखिन सक्छ । मधुमेह, मुटु, मृगौला, छातीसम्बन्धी समस्या देखिने यस्ता बिरामीका मेडिसिनका चिकित्सकले नहेरी शल्यक्रिया गर्न नसकिने चिकित्सक बताउँछन् ।


मेडिसनका डाक्टर नभएकै कारण बिरामीको उपचार ढिलो हुने गरेको छ । समयमा शल्यक्रिया गर्न सकिएको छैन,’ ट्रमाका एक चिकित्सकले भने । बिरामीलाई शल्यचिकित्सकको जति आवश्यकता पर्छ जनरल मेडिसिनको निगरानी पनि उत्तिकै चाहिने उनले बताए ।


चिकित्सकले वीर अस्पतालमै बिरामीको चाप धेरै हुँदा ट्रमाको बिरामी हेर्न नभ्याएको बताए पनि सेवासुविधामा कुरा नमिल्दा उनीहरूले समन्वय नगरेको अस्पताल स्रोत बताउँछ । ट्रमा सेन्टरका चिकित्सकले कार्यालय समयपछि गरिने पेइङ क्लिनक (ईएचएस) मा बिरामी हेरेबापत पाउने भत्ता वीरका डाक्टरसँग नबाँडेको नहुँमा उनीहरूले ट्रमा जानै छोडिदिएको स्रोतको दाबी छ । ‘ट्रमामा वीरका डाक्टरलाई सौतेती व्यवहार गरिन्छ ।


एउटै संस्था भने पनि हामीलाई उता पार्किङ गर्ने ठाउँसमेत दिँदैनन्,’ स्रोतले भन्यो । चिकित्सक नआएपछि ‘जनरल मेडिसिन कन्सल्टेसन’ का लागि ट्रमाले वीरमै बिरामी पठाउने गरेको छ । गम्भीर घाइते भएर हिँडडुल गर्नै नसक्ने बिरामीलाई ट्रलीमा डोर्‍याएर वीरसम्म पुर्‍याउन, ल्याउन सास्ती हुने गरेको बिरामी पक्ष बताउँछन् ।


वीरका चिकित्सक नआउने र शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने भएपछि कतिपय बिरामी आफैं अन्य अस्पतालमा जाने गरेका छन् । उनीहरू निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन् । रिफर भएर अन्य अस्पताल गइहालेपनि सरकारी अस्पतालमा बिरामीले सजिलै बेड पाउन सक्दैनन् । उनीहरू थप भौंतारिन्छन् ।


ट्रमा सेन्टरमै मेडिसिनका चिकित्सकको दरबन्दी हुनुपर्ने बताउँदै डा.यादवले भने, ‘ट्रमा स्थापना गर्दा नै मेडिसिनका डाक्टरको पनि दरबन्दी राख्नुपर्ने कुरामा त्रुटि भएछ । सर्भे गरेर लोक सेवामार्फत यस्ता डाक्टरको दरबन्दी खुलाउने छलफल भएको छ ।’

प्रकाशित : श्रावण ९, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?