कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनप्रतिनिधि विवादले ठिमीको बजेट अझै आएन

भक्तपुर — जनप्रतिनिधिको आन्तरिक विवादका कारण मध्यपुर थिमि नगरपालिकाले अझै बजेट पेस गर्न सकेको छैन । असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भए तापनि जनप्रतिनिधि एकअर्काको आरोप–प्रत्यारोपमा व्यस्त छन् ।

मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीबीचको विवाद टुंगिन नसक्दा नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत बजेट पेस भएको छैन ।


अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेस गरिसक्नुपर्छ । यसरी बजेट पेस भएपछि मात्रै त्यसअनुसार आगामी आर्थिक वर्षमा खर्च गर्न र कर उठाउने अधिकार प्राप्त हुन्छ । मध्यपुर थिमिले चालु आर्थिक वर्ष ०७६/०७७ को बजेट पेस गर्न नसक्दा दैनिक खर्च, विकास निर्माण, कर्मचारीलाई तलब दिने प्रक्रियामा कार्य गर्न सकेको छैन । दैनिक हाजिर गर्ने, प्रशासनको कार्य गर्नेबाहेक कुनै कार्य हुन नसकेको नगरपालिकाका एक कर्मचारीले बताए ।


विवादका बीच गतअसार १८ गते नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अनुपस्थितिमा उपप्रमुख अञ्जनादेवी मधिकर्मीको अध्यक्षतामा विशेष नगरसभा गर्‍यो । कांग्रेसका तर्फबाट निर्वाचित उपप्रमुख अञ्जनादेवी मधिकर्मी, ६ जना वडाध्यक्षलगायत ३५ नगरकार्यपालिका सदस्यहरूले विशेष नगरसभाबाट पारित गरेको निर्णयलाई रातो किताबमा प्रकाशित गर्नुपर्ने अडान राख्दै आएका छन् भने, नगरप्रमुख श्रेष्ठले उक्त नगरसभा अवैधानिक भएको बताउँदै आएका छन् ।


सोही दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले विशेष नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको सूचना प्रकाशन गरे । बरालले हस्ताक्षर गरेको सूचनामा ‘नगरप्रमुख श्रेष्ठले प्रदेश नम्बर ३, प्रदेशसभाद्वारा जारी नगरसभा सञ्चालन (कार्यविधि) सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिमको परिस्थिति उत्पन्न भई नियमित रूपमा सञ्चालन गर्न बाधा पर्ने भनी नगरप्रमुखले सोही दफाले दिएको अधिकार प्रयोग गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको व्यहोरा नगरसभासद्हरूमा जानकारी गराइन्छ’ उल्लेख गरिएको छ ।


नगरप्रमुख श्रेष्ठले बैठकको एजेन्डामा सहमति नभएकोले बैठक स्थगित गर्नुपरेको बताउँछन् । ‘विवादित विशेष नगरसभाका निर्णय पारित गर्न सकिँदैन तर नगरसभामा उल्लेख भएका एजेन्डाहरूलाई नगरसभा गरेर सम्बोधन गर्न सकिन्छ,’ उनले भने ।

दुई पक्षको विवादका कारण नयाँ चालु आर्थिक वर्ष ०७६/७७ को राजस्व दर टुंगो लागेको छैन र कर उठाउन समस्या भएको छ । सेवाग्राहीको सेवा प्रवाहमा असर नपरोस् भनेर अर्को व्यवस्था नहुन्जेल अघिल्लो वर्षकै राजस्व दरलाई निरन्तरता दिएको नगरप्रमुख श्रेष्ठले बताए ।


जनप्रतिनिधिको आपसी विवाद टुंग्याउन संस्थागत (पार्टीगत) प्रयास भइरहेको कांग्रेसबाट निर्वाचित मध्यपुर थिमि वडा नम्बर २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापा मगरले बताए । सहमति र सहकार्य भएपछि मात्र नगरसभा बस्ने र बजेट पास गर्ने नगरप्रमुख श्रेष्ठले बताए । हालसम्म चालू आर्थिक वर्षको बजेटका लागि बजेट सिलिङसमेत आइसकेको छैन । योजनाहरूको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।


९ वटा वडा रहेको मध्यपुर थिमि नगरपालिकामा उपप्रमुख मधिकर्मीसहित कांग्रेसका तर्फबाट ६ वटा वडामा वडाध्यक्ष र नेकपाका तर्फबाट मेयरसहित एक वडाध्यक्ष र नेमकिपाको एकसँगै एक स्वतन्त्र वडाअध्यक्ष विजयी भएका थिए ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?