२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

काठमाडौंमा ११ पढ्न आउने घटे

काठमाडौँ — राजधानीका निजी उच्च माविमा भर्ना हुने विद्यार्थीको संख्या घटेको छ । विगतमा जत्तिकै कक्षा ११ मा विद्यार्थी आकर्षित गर्न नसकिएको उसको भनाइ छ । विद्यार्थी भर्ना गर्न नसक्दा कतिपय प्लस टु संकटमा परेका छन् ।

मुलुक संघीय संरचनामा गएसँगै प्रदेशमै कक्षा ११ र १२ पढाउने शिक्षालय स्थापना भएकाले काठमाडौं आउने विद्यार्थी घटेको अनुमान गरिएको छ ।

यस वर्षदेखि काठमाडौंमा कक्षा ११ पढ्न आउने विद्यार्थी विगतको तुलनामा २५ प्रतिशत घटेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का वरिष्ठ उपाध्यक्ष युवराज शर्माले बताए । ‘किनभने ख्याति कमाएका विद्यालयमा मात्र विद्यार्थी ओइरिएका छन् । पछिल्ला वर्षमा स्थापित प्लसटुले विद्यार्थी पाउन सकेका छैनन्,' वरिष्ठ उपाध्यक्ष शर्माले भने ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा कक्षा ११ र १२ पढाउने निजी शिक्षालय ५ सय ५० भन्दा बढी छन् । ५० हजार हाराहारी विद्यार्थीले यहाँबाट एसईई दिएका छन् । ती विद्यार्थी उपत्यकामै पढ्छन् । त्यसैगरी उपत्यकाबाहिरबाट ५० हजारभन्दा बढी विद्यार्थी आउँछन् । तर अहिले करिब २० हजार विद्यार्थी संख्या घटेको शर्माको भनाइ छ ।

सरकारले नयाँ खुल्ने विद्यालयलाई स्पष्ट मापदण्ड निर्धारण गर्नुपर्ने र कलेजलाई गाभ्ने नीति लिन जरुरी रहेको उनी बताउँछन् । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा देशभरबाट ४ हजार ३ सय ४० शिक्षालय संलग्न छन् । त्यसमा सामुदायिक ३ हजार २४, निजी १ हजार ३९, जिरो प्लसटु १ सय ५४ र क्याम्पस १ सय ४३ शिक्षालय छन् ।

संघीय शिक्षा ऐन जारी नभएकाले हालसम्म कक्षा ११ र १२ संकायकै आधारमा परीक्षा लिइएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । कक्षा १२ को परीक्षामा शिक्षाशास्त्रतर्फ १ लाख २२ हजार ५ सय ७७ जना, वाणिज्यतर्फ १ लाख ४४ हजार २ सय ८ जनाले परीक्षा दिएका छन् ।

विज्ञान संकायमा ४७ हजार ६ सय ७८ जना र मानविकीतर्फ १९ हजार ६ सय २० जना परीक्षार्थी सहभागी छन् । कक्षा ११ र १२ को संकाय हट्नुपर्ने सामुदायिक माध्यमिक विद्यालय शिक्षक युनियन (इस्टुन) का उपमहासचिव नारायण गौतमले बताए । ‘जबसम्म कक्षा ९–१२ को संरचना पाठ्यक्रम बन्दैन, तबसम्म संकाय हटदैन,’ उनले भने, ‘संकाय हटेसँगै साइन्स पढ्न काठमाडौं आउनु पर्दैन र अभिभावकले लाखौं खर्चिनु पनि पर्दैन ।’

शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम रहेको शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताए । ‘कक्षा ११ र १२ मा विज्ञान विषय पढाउने शिक्षालय काठमाडौं केन्द्रित छन्,’ सहसचिव अर्याल भन्छन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?